नेपाल संवत्लाई राष्ट्रिय संवत् मान्यता दिएपनि राज्यका निकायबाटै नेवारी समुदायको संवत्का रूपमा हेर्ने गरिएको गुनासो गरिएको छ । नेपाल सम्वते अवसरमा नेपाल भाषा मंकाखल म्याग्दीले शुक्रबार सदरमुकाम बेनीमा आयोजित नेपाल संवद् तथा दिपावलीको शुभकामना आदाप्रदान कार्यक्रममा नेपालको मौलिक संवद्लाई कार्यान्वयनमा राज्यले प्रतिबद्धता जनाएपनि कार्यान्वयनमा उदासिनता देखाएको बताएका थिए ।

नेपाल एकिकरण हुनुपुर्व नै काठमाण्डौ लगाएतका क्षेत्रमा प्रयोग भएको नेपाल संवद्लाई संयुक्त राष्ट्रसंघमा समेत नेपालको भाषाका रुपमा दर्ता भएको बताउँदै विदेशी चाडपर्वहरूमा रमाउने नेपाली समाजमा आफ्नै मौलिक संवद्को प्रयोगमा नआउनु दुखको कुरा भएको बताएका थिए ।कार्यक्रमको उद्घाटन गदैं जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीले राष्ट्रिय विभूति शङ्खधर साख्वाले गरिब जनताको ऋण मोचन गरी गरी समातामुलक समाजको निर्माणको प्रयास गरेको बताए ।

गरिब जनताको ऋण मिनाह गरी बिस ८ सय ८० मा साख्वाले सुरू गरेको अभियानलाई निरन्तरता दिन समेत संवद्लाई जिल्लास्तरमा समेत कार्यान्वयनमा ल्याउनुपर्ने बताए ।राज्यले अपनत्व लिनुपर्छ,एकदिन मात्रै होईन हरेक दिन उहाँको योगदानको मुल्याङ्कन हुनुपर्छ’ केसीले भने ।सोही अवसरमा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले गरिब जनताको हितमा काम गरी सुरू भएको नेपाल संवत्लाई स्थानीयतहमा समेत कार्यान्वयनमा ल्याउन पहल गरिने बताए ।

जिल्लामा रहेका विभिन जातीय संघसंस्थाले समेत नेपाल संवद्लाई स्थानीयस्तरका क्यालेन्डरमा प्रयोग गर्नुपर्नेमा जोड दिए । अंग्रेजी बर्ष, विदेशी धर्महरूको सञ्जाल ग्रामिण क्षेत्रसम्म फैलिएपनि नेपालीकै मौलिक संवद्मा देखाइएको विभेदले भविस्यमा नेपाली कला र संस्कृति, भाषा, धर्ममै गम्भीर प्रहार हुनसक्ने भन्दै क्षेत्री समाज म्याग्दीकी अध्यक्ष अमृतदेवी बानियाँले मौलिक संवद्को जगर्नेमा सक्रियता देखाउने प्रतिबद्धता जनाईन् ।

बेनी नगरपालिका–८ का वडा अध्यक्ष रामकृष्ण बराईली, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवनकुमार विश्वकर्मा, नेपाल भाषा मंका खलका पूर्व अध्यक्ष सुर्दशन कुमार श्रेष्ठले जिल्लाका ६ वटै स्थानीयतहमा नेपाल संवद्को महत्व झल्कने गरी आगामी दिनमा विभिन्न कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिएका थिए ।सोही अवसरमा २०७३ सालको एसईईमा नेवार समुदायबाट निजी तथा सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक ल्याउने शिवकुमार श्रेष्ठ, अनुराधा श्रेष्ठ, साकार श्रेष्ठ र अनिशा श्रेष्ठलाई नगर, प्रमाणपत्रले सम्मान गरिएको थियो ।

त्यस्तै मिस काठमाण्डौमा मिस पपुलरको अवार्ड विजेता प्रशंसा श्रेष्ठ, मिस धौलागिरि सुरवी श्रेष्ठ र मिस नेवा पोखरामा मिस स्माईलको अवार्ड विजेता एली श्रेष्ठलाई कदरपत्रले सम्मान गरिएको थियो । सोही अवसरमा नेवारी तथा सालैजो नृत्य समेत प्रस्तुत गरिएको थियो ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले ईस बिस ८ सय ८० मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को प्रारम्भ गरिएको थियो। नेपाल संवत् ८ सय ८८ वर्षसम्म आधिकारिक संवत्का रुपमा चलेपनि विक्रम संम्बत १९६० मा राज्यस्तरबाट नै यसमाथि रोक लगाइएको थियो । नेपाल संवत् प्रारम्भ गरेको समाज तथा राष्ट्रलाई युगान्तकारी योगदान दिएको फलस्वरुप शङ्खधर साख्वालाई सरकारले वि.सं.२०५५ राष्ट्रिय विभूति घोषणा गरेको थियो ।