कालेस्टेरोल रगतमा पाइने एक प्रकारको बोसो हो । रगतमा बोसोको मात्रा सामान्य भन्दा बढि भएमा सो बोसो रगतको नलिको भित्तामा बसेर नलिलाई साघुरो बनाउछ, जसले रक्तप्रवाहमा कमी हुनसक्छ । उच्च कालेस्टेरोलले मुटुको रक्तनली (कोरोनरी आर्टरी) साँघुरो भएर बन्द हुने अवस्थामा पुग्न सक्छ । यस्तो अवस्थालाई हर्टअट्याक भनिन्छ । युवाहरुमा देखिने हर्टअट्याकको प्रमुख कारण हाइ कालेस्टेरोल हो।

रगतमा कालेस्टेरोलको मात्रा बढी हुने प्रमुख २ कारणहरु हुन्छन् । पहिलो धेरै चिल्लो खाना र दोस्रो वंशाणुगत कारण हुन्छ । रगतमा कालेस्टेरोलको मात्रा बढी भएको कुनै लक्ष्यण देखिदैन । हाइ कालेस्टेरोलको लक्ष्यणको रुपमा एकैपटक हर्टअट्याक वा ब्रेन स्ट्रोक देखिन सक्छ । त्यसैले २० वर्ष भन्दा माथीका सबै मानिसले कम्तिमा पनि वर्षमा एकपटक रगत परीक्षण गरी कालेस्टेरोलको मात्रा थाहा पाउनुपर्छ । खानपान, मोटोपना र शारीरिक गतिविधिमा कमीका कारण कोलेस्टेरोलको मात्रा बढ्दै जान्छ ।

उच्च रक्तचाप, मधुमेह, मुटु रोग र मोटा मानिसलाई कोलेस्टेरोल हुने सम्भावना बढी हुन्छ । कोलेस्टेरोल बढी भएमा सुगर, रक्तचाप, थाइराइड र मुटुको जाँच गराउनु पर्छ ।

कालेस्टेरोल जाँच
रगतमा कालेस्टेरोलको मात्रा थाहा पाउन गरीने जाँचलाई लिपिड प्रोफाइल भनिन्छ । कालेस्टेरोलको मात्रा थाहापाउन कम्तिमा ९ देखि १२ घण्टाको खालिपेटमा रगतको लिपिड प्रोफाइल परीक्षण गराउनुपर्छ । लिपिड प्रोफाइलमा रगतमा ५ वटा कोलेस्टेरोलको जाँच गरिन्छ ।

१) टोटल कोलेस्टेरोल

यसले रगतमा राम्रो र नराम्रो दुबै कोलेस्टेरोलको पुरै मात्रा देखाउछ । यो परीक्षणबाट एलडिएल, एचडिएल वा ट्राइग्लीसराइड मध्ये कुन बढी छ भन्ने थाहा हुदैन। तसर्थ टोटल कोलेस्टेरोलको जाँचमात्र गरेर ढुक्क हुनुहुदैन ।

२) एलडिएल कोलेस्टेरोल

एलडिएल कोलेस्टेरोललाई नराम्रो कोलेस्टेरोल भनिन्छ । यो बढ्नु सबैभन्दा बढी खतरा मानिन्छ । एलडिएल कोलेस्टेरोलको मात्रा बढेमा यो रक्तनलीको भित्ता बसेर नलीलाई साघुरो बनाउछ । सामान्य मानिसमा एलडिएल कोलेस्टेरोल १३० भन्दा कम हुनुपर्छ र १६० भन्दा बढी भएमा औषधि सेवन गर्नुपर्ने हुन्छ। तर मधुमेहका बिरामी, हर्टअट्याक भइसकेका र मुटुको रक्तनलिमा समस्या भएका बिरामीमा एलडिएल कोलेस्टेरोलको मात्रा १०० भन्दा कम हुनुपर्छ । एलडिएल कोलेस्टेरोलको मात्रा जति कम भयो हर्टअट्याकको सम्भावना त्यति नै कम हुन्छ ।

३) एचडिएल कोलेस्टेरोल

एचडिएल कोलेस्टेरोललाई राम्रो कोलेस्टेरोल भनिन्छ । यसले रक्तनलीलाई साघुरो हुनबाट जोगाउछ । यो कोलेस्टेरोल मुटुका लागि राम्रो मानिन्छ । एचडिएल कोलेस्टेरोल को मात्रा जती बढी भयो त्यति नै राम्रो मानिन्छ । यसको मात्रा पुरुषमा ४० भन्दा बढी र महिलामा ४५ मिलिग्राम भन्दा बढी हुनुपर्छ ।

४) भिएलडिएल कोलेस्टेरोल

यो कोलेस्टेरोलको त्यति महत्व हुदैन तर यसको मात्रा पनि सामान्य हुनु राम्रो मानिन्छ ।

५) ट्राइग्लीसराइड कोलेस्टेरोल

ट्राइग्लीसराइड पनि मुटु रोगसंग सम्बन्धीत हुन्छ । तर यसलाई एचडिएल र एलडिएल भन्दा कम महत्व दिइन्छ । ट्राइग्लीसराइड बढी भएकामा पनि मुटु रोग बढी भएको पाइन्छ । ट्राइग्लीसराइड मदिरा र चिल्लो पदार्थका खानाका कारणले बढ्छ । ट्राइग्लीसराइड ५०० मिलिग्राम भन्दा बढी भएमा पैन्क्रियाजमा खराबी भएर पैन्क्रियाटाइटिस भन्ने रोग लाग्नसक्छ । मधुमेहि र मुटु रोगीमा ट्राइग्लीसराइड १५० देखी २०० मिलिग्राम भन्दा कम हुनुपर्छ ।

कोलेस्टेरोल बढेमा नसाबाट राम्रोसँग रक्तसञ्चार हुन पाउँदैन, जसले गर्दा हृदयाघात हुने जोखिम हुन्छ । कोलेस्टेरोलको मात्रा बढ्न नदिन अपनाउनुपर्ने केही उपाय यस्ता छन्ः

– कोलेस्टेरोलको समस्या भएकाहरूले तेल र तेलजन्य पदार्थको सेवन सन्तुलित मात्रामा गर्नुपर्छ । प्रतिदिन तीन चम्चाभन्दा बढी तेल भरिसक्के खानु हुँदैन ।

– भान्छामा प्रयोग गर्ने तेल बदलिरहनुपर्छ । एकपटक ल्याएको तोरीको तेल सकिएपछि सूर्यमुखी, जैतुन, तिल, नरिवल तेल आदि ल्याउनुपर्छ । नियमित एउटै तेल खानु हुँदैन । यसरी तेल बदलेर खाने गर्नाले शरीरलाई उपयोगी हुने खालका सबै खाले फ्याट प्राप्त हुन्छन्, जुन कोलेस्टेरोलको बिरामीका लागि उपयोगी हुन्छन् ।

– कोलेस्टेरोलको मात्रा सन्तुलनमा अमला खाने गर्नुपर्छ ।

– चुकन्दर खानाले पनि रगतमा कोलेस्टेरोलको मात्रा सन्तुलनमा रहन्छ ।

– हरियो सागसब्जी, कोसे तरकारी, केराउ, सूर्यमुखीको दाना, आलसजस्ता खानामा फोलिक एसिड प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरमा कोलेस्टेरोलको मात्रालाई नियन्त्रित र सन्तुलित अवस्थामा राख्छ ।

– मेथी, लसुन, प्याज, बेसार, हाडेबदाम, सोयाबिन आदि खाने गर्नाले पनि कोलेस्टेरोल नियन्त्रित अवस्थामा रहन्छ ।

– कोलेस्टेरोल बढेमा कलेजोमा समस्या उत्पन्न हुनसक्छ । त्यसैले कोलेस्टेरोल बढ्ने समस्या भएकाहरूले एलोभेरा, अमला र तरकारीको जुस मिसाएर खाने गर्नाले कोलेस्टेरोलका कारण कलेजोमा जम्मा भएको विकार शरीरबाहिर निकास हुन्छ ।

– कोलेस्टेरोलको समस्या भएकाहरूले काँचो नरिवलको पानी पिउने गर्नु रामो हुन्छ ।

– कोलेस्टेरोल हुनेले उसिनेको खाना खान जोड दिनुपर्छ । घिउ, बटर आदि खानु हुँदैन । बिस्कुट, कुकिजजस्ता खाद्य पनि कम खानुपर्छ । साथै, जंक फुठ पनि कम खानुपर्छ ।

– फलफुल र सागसब्जि बढी खाने

– नियमित शारीरिक व्यायाम गर्ने

– तौल घटाउने

– चुरोट र मदिरा छाड्ने