कला संस्कृतिको जगेर्ना गर्न देउसीभैलो (फोटोफिचर)

0
295

शरद ऋतुको समय, कार्तिक कृष्णपक्ष अनि यमपञ्चकको सुनौलो अवसर । शहरदेखि गाउँसम्म वर्षदिनको चाड तिहारले छपक्कै छोपेको छ । दशैंमा अलि सुनसान जस्तो देखिने शहर बजार तिहारमा निकै झिलिमिली देखिएको छ । उसो त गाउँ पनि लिङ्गेपिङ र रोटेपिङले नसजिएको होइन । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको रौनक र पहिचान आफ्नै छ ।

तिहारको अवसर पारेर म्याग्दी सदरमुकाम बेनीबजारसहित ग्रामीण भेगमा देउसीभैलो खेल्ने कार्यक्रमले तिब्रता पाएको छ । पहिले पहिलेका तिहारमा साथीभाई जम्मा भएर दियालो र चप्पल बालेर रातभर गाउँघर घुमेर खेलिने देउसीभैलोको अहिले स्वरुप फरिएको छ । मौलिक गीत बनाएर गाउने र चाच्ने देउसीभैलो परम्परागतको थियो भने अहिले विभिन्न कलाकारको गीतमा मोबाइल, ल्यापटप र सिडी चक्काको साथमा गाउने र चाच्ने गरिएको छ । भैलो गीत समेत ट्र¥याकमा गाउन थालिसकिएको छ ।

शहरदेखि गाउँसम्म देउसीभैलोका आधुनिक र परम्परागत गीतहरु घन्किरहेका छन् । जति तिहारका दिनहरु नजिकिएका छन्, उति नै मात्रामा देउसीभैलोको रौनक बढ्दै गैरहेको छ । अहिले सदरमुकाम बेनीबजारमा मात्रै एक दर्जन बढी समूहहरु देउसीभैलो खेलिरहेका छन् । साहित्यिक संस्था, जातिय संघसंस्था, युवा क्लब, लोकदोहोरी प्रष्ठिानलगायत खेलेको देउसीभैलोको आ–आफ्नै लक्ष्य र उद्देश्यहरु रहेका छन् ।

म्याग्दी साहित्य सञ्चार बेनी म्याग्दीले पहिलोपटक साहित्यिक अक्षयकोष स्थापना गर्ने उद्देश्यसहित चर्चित जादुगर कमल बस्नेतको साथमा देउसी खेलिएको जनाएको छ । जिल्लामा साहित्यिक गतिविधिलाई तिब्रता दिने र संस्थाको अक्षयकोष स्थापना गर्ने उद्देश्यले देउसीभैलो आयोजना गरिएको म्याग्दी साहित्य सञ्चारका अध्यक्ष श्रीकृष्ण भूषाल (घालयश्री)ले जानकारी दिनुभयो ।

‘हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहन’ भन्ने मूल नारासहित देउसीभैलोको आयोजना गरिएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला कार्यसमिति म्याग्दीका अध्यक्ष कृष्ण जिसीले बताउनुभयो । उता क्षत्री समाज जिल्ला शाखा म्याग्दीले समाजमा जातिय सद्भाव कायम गर्न र दिपावलीको शुभकामना आदानप्रदानसहित भैलो खेलिएको जनाएको छ ।

यसैगरी ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय धौलागिरिले पर्वतको कुस्मामा जिर्ण भवन पूनर्निर्माण र शौचालय निर्माणका लागि आर्थिक सङ्कलन गर्ने उद्देश्यसहित भैलो खेलिएको भनाई छ । पछिल्लो समय समाजको हरेक क्षेत्रमा देउसीभैलो आर्थिक सङ्कलन गर्ने एउटा गतिलो माध्यम बन्दै गएको छ । तर, नेपालीहरुको परम्परागत देउसीभैलो खेल्ने कला संस्कृति भने आधुनिकताको नाममा लोप हुने अवस्थामा पुगेको जानकारहरुको चिन्ता छ । समयसापेक्ष देउसीभैलोको परिवर्तन गरेपनि कला र संस्कृतिको संरक्षण गर्नुपर्ने स्थानीयबासिन्दा बताउँछन् ।