नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य भुपेन्द्र बहादुर थापा प्रतिनिधिसभा सदस्यका लागि एमाले–माओवादीको बाम गठबन्धनबाट उम्मेदवार बनेका छन् । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि नेकपा एमालेले प्रदेश नं. ४ का उम्मेदवार टुंगो लगाउने क्रममा थापालाई प्रतिनिधिसभाका लागि नाम टुंगो लगाएको नेकपा एमाले म्याग्दीले जनाएको छ ।

बेनी नगरपालिका–१ रत्नेचौर स्थायी घर भएका थापा २०३७ सालमा विद्यार्थी राजनीति सुरु गरेका थिए । उनले २०४७ सालमा पार्टीको सदस्यता, २०४८ सालमा गाउँकमिटी प्रमुख, २०४९ मा इलाका कमिटी प्रमुख, २०४८ सालमा प्रदेश नम्बर १ को प्रचारप्रसार सचिव, २०५० सालमा जिल्ला कमिटि सदस्य, २०५४ सालमा जिल्ला विकास समितिकको उपसभापति समेत भएका थिए ।

म्याग्दी जिल्लाका इमान्दार र सक्रिय नेताको रुपमा समेत चिनिने थापाले माओवादी जनयूद्धको क्रममा समेत पार्टीका गतिविधिलाई ग्रामिण क्षेत्रसम्म निरन्तर सञ्चालन गरेका थिए । उनले द्धन्द्धकालमा पनि पार्टीको गतिविधिमा देखाएको सक्रियताले पनि एमाले भित्र उनको लोकप्रियता रहेको छ ।

२०६४ साल असार देखी २०६६ को असोजसम्म पार्टीको जिल्ला सचिवको जिम्मेबारी समेत सम्हालेका थापा २०६४ सालमा अञ्चल सचिव समेत भएका थिए । राजनीतिमा यात्रामा विश्राम नहुने बताउँदै थापाले जिल्लातहको राजनीतिबाट २०७१ सालमा केन्द्रिय राजनीतिमा प्रवेश गरेका थिए ।पार्टीको बैकल्पिक केन्द्रिय सदस्य, धौलागिरि सहइन्र्चाज र प्रदेश नम्बर ४ को सचिवालय सदस्य समेत रहेका थापाले उम्मेदवारको रुपमा पार्टीले अगाडी सारेकोमा उत्साहित छन् ।

‘मैले राजनीतिमा लागेपछि सबै म्याग्देली जनताको सेवा गरेको छु । आगामी दिनमा पनि मेरो अभियान निरन्तर जारी रहन्छ’ उनले भने । प्रतिनिधिसभा सदस्यको उम्मेदवारी टुंगो लगाएपछि थापालाई बधाई र घरमै पुगेर बधाई दिएका छन् । राजनीतिमै आफ्नो जीवनलाई सर्मपित गरेका थापाले राजनीति बाहेक ब्यवसाय वा अन्य कुनै विकल्प रोजेनन् । म्याग्दी जिल्लामा कुल ७५ हजार ५ सय ३८ जना मतदाता रहेका छन् । नेकपा एमाले र माओवादीले संयुक्त चुनावी अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।