प्रजातान्त्रिक गठबन्धनबाट म्याग्दी जिल्लाको क्षेत्र नम्बर १ राप्रपालाई परेपछि नेपाली कांग्रेस म्याग्दीका नेता–कार्यकर्ता रुष्ट भएका छन् ।राप्रपा विभाजित भएसंगै जिल्लामा कमजोर बनेको शक्तीलाई आफ्नो बलियो पकट भएको क्षेत्रमा पार्टीले राप्रपालाई छोडेको भन्दै विद्रोहको चेतावनी नेता–कार्यकर्ताले दिएका छन् ।

शुक्रबार उम्मेदवार टुंगो लगाउने क्रममा राप्रपाले ४ प्रतिनिधिसभा र ७ प्रदेशसभा सदस्यको माग गरेकोमा म्याग्दीमा प्रदेशसभा सदस्य मागेपछि टिकटको दौडमा रहेका नेताहरू संगै जिल्लाका कागं्रेस कार्यकर्ता आक्रोशित भएका हुन् ।‘हामीलाई साथ चाहिएको बेलामा विपक्षीलाई सघाउनेलाई जिल्लामा सहकार्य गर्न सकिदैन् ।कार्यकर्ताको भावना अनुसार नै अगाडी नबढे परिणाम गम्भीर हुन्छ’ नेविसंघका निर्वाचन परिचालन संयोजक निर्मल खत्रीले भने ।

उनले जिल्लाको इतिहासमा राप्रपाबाट सधै पार्टीलाई असहयोग भएको बताउँदै राप्रपालाई अन्य जिल्लामा तालमेल गर्न समेत पार्टीको जिल्ला नेतृत्वमार्फत दवाव दिएको बताए ।स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिका, रघुगंगा, अन्नपूर्ण गाउँपालिका जितेको क्षेत्र समावेश रहेको प्रदेशसभा सदस्य क्षेत्र नम्बर १मा राप्रपालाई छुट्टाएपछि कांग्रेसका नेता– कार्यकर्ता आक्रोशित भएका हुन् ।

‘राप्रपा विभाजन भएपछि जिल्लामा कमजोर भएको छ । शनिबारसम्म निर्णय सच्चाउन अनुरोध गरेका छौ’ एक नेताले बेनीअनलाइनलाई भने । उनले जिल्लामा पार्टीको उपस्थितिलाई कमजोर पार्ने निर्णय भएको भन्दै भविस्यमा पनि यो निर्णयले ठुलो असर गर्ने भएकाले पनि विगतमा तिक्ततापूर्ण सम्बन्ध र निरन्तर असहयोग गरिएको पार्टीका नेतालाई जिताउने अभियानमा पार्टीलाई परिचालन गर्न नसकिने बताए ।

स्थानीय तहको निर्वाचनको परिणाम अनुसार बेनी नगरपालिकामा मेयर, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा नेपाली कांग्रेसले प्रमुख र उपप्रमुख जितेको थियो । राप्रपाबाट विभाजित भएर पूर्वराज्यमन्त्री जगत गौचनले राप्रपा प्रजातान्त्रिकको स्थापना गरेसंगै जिल्लामा राप्रपा कमजोर भएको छ । कमजोर शक्तीसंग सहकार्य गरेको भन्दै पार्टीका कार्यकर्ताले नेतालाई निर्णय सच्चाउन दवाव दिएका छन् ।

किन सहकार्यलाई रुचाउँदैनन् कांग्रेसी ?

स्थानीय तहको निर्वाचनमा राप्रपाबाट उपमेयरमा विजय भएकी सञ्जु बरुवालले सहयोग गरेको भए जिल्ला समन्वय समितिमा कांग्रेसले उपप्रमुख राप्रपालाई दिएर प्रमुख आफ्नो पक्षमा पार्ने थियो । जिससमा मताधिकार भएका ६ स्थानीयतहका १२ जना मतदाता मध्ये ६ जनाकाँग्रेस, ५ जना एमाले र १ जना राप्रपाका थिए ।

कांग्रेसको जिल्ला नेतृत्वले पटकपटक प्रयास गर्दा समेत राप्रपाले एमालेलाई साथ दिएपछि अन्तिममा गोलाप्रथाबाट एमालेका जिल्ला उपाध्यक्ष समेत रहेका देबेन्द्र केसीलाई प्रमुख पदको चिठ्ठा परेसंगै कांग्रेसले उपप्रमुखमा चित्त बुझाउनुपरेको थियो । राप्रपाका पूर्व राज्यमन्त्री भिमप्रसाद गौचन, जिल्ला अध्यक्ष बिर बहादुर थापासंग कांग्रेसका नेताहरुले गरेको प्रयासलाई समेत एमालेसंगै सहकार्य गर्ने भन्दै प्रतिक्रिया दिएको जिल्ला नेतृत्वले समेत विर्सिएको छैन् ।

‘राप्रपाको विगतका निर्वाचनमा पनि आफुँ हारेपछि कांग्रेसलाई पनि हराउने रणनीति देखियो, अहिलेको तालमेल बालुवामा पानी हालेजस्तै हो’ एक नेताले टेलिफोनमा भने । उनले राप्रपा प्रजातान्त्रिकमा भएका नेताहरुले जिल्ला समन्वय समितिमा पहल गरेपनि संस्थापन पक्षबाट कुनै सहयोग नभएको आरोप समेत लगाएका छन् । अर्को कुरा राप्रपाका अधिकांस कार्यकर्ताहरु काग्रेसमा आइसहेको र केही आउने तयारीमा समेत रहेको दावी समेत पार्टीका नेताहरुको भनाई पनि छ ।

नेपाली कांग्रेसका पुराना नेता तथा कार्यकर्ताले तत्कालिन समयमा राप्रपाबाट भएको दमन र अत्याचारलाई अझै विर्सिएका छैनन् । ‘बरु माओवादीलाई स्थानीय तहमा भोट हालियो, राप्रपाका गतिविधिबाट आजित भएका हामीले सहयोग गर्न सकिदैन् एक पुराना कार्यकर्ताले भने । राप्रपाबाट भिमप्रसाद गौचनको सम्भावना देखिएको छ । पार्टी स्रोतका अनुसार दोस्रो संविधान सभाको निर्वाचनमा समेत गौचन विरामी भएपछि उनले हार्ने निश्चित भएपछि कांग्रेसलाई कमजोर बनाउन विपक्षीलाई मतदान गर्न लागेको आरोप समेत लगाउने गरिन्छ ।