१९ बर्षको उमेरमा पाखापानीमा गाउँपञ्चायतको अध्यक्ष हुदाँ भीमप्रसाद गौचनलाई धेरैले विश्वास गरेका थिएनन् । कलिलो उमेरका यूवालाई गाउँपञ्चायको जिम्मेबारी सुम्पिदाँ केही दिन पाखापानीमा उत्सव समेत मनाइयो । गाउँपञ्चायको हैसियतबाट उनले छोटो समयमै लोकप्रियता कमाए। उनले आफ्नो प्रभावलाई जिल्लाभरी विस्तार गदैं २०२३ सालमा पहिलो जिल्ला सभापतिको जिम्मेबारी सम्हाल्ने अवसर पाए ।

हाक्की स्वभावका गौचनले ३० बर्षको उमेरमै निर्माण तथा यातायात राज्यमन्त्री बन्दै तत्कालिन समयमा सबैभन्दा कान्छो मन्त्री बने । ०२८ सालमा बन सहायक राज्यमन्त्री, ०४९ मा यातायात राज्यमन्त्री, सामान्य प्रशासन राज्यमन्त्री हुदै पञ्चायती ब्यवस्थामा उनले चारपटक मन्त्री बने ।पञ्चायतकालमा म्याग्दी जिल्लामा विकासको सुरुवात गरेका गौचनले २०२३ साल देखी ४४ सालसम्म करिव जिल्लाको सर्वमान्य लिडरको रुपमा आफ्नो प्रभाव जमाए ।

नेपाल रेडक्रस सोसाईटीको संस्थापक, बाल संगठन, जिल्लाका धेरै सामुदायिक विद्यालय, स्वास्थ्य, खानेपानीको उद्घाटनमा स्वर्गिय राजा विरेन्द्र शाहलाई तीनपटक म्याग्दीको भ्रमणमा ल्याएका गौचनले राजनीतिमा उमेरले बुढो नहुने बताउँछन् ।‘मैले म्याग्दी जिल्लामा गरेको काम सबै अहिले पनि छन् ।मैले पञ्चायतकाल देखी राजनीति छोडेको छैन’ गौचनले बेनीअनलाइनलाई भने ।

पञ्चायतकालमा पनि आफ्नो प्रमुख लक्ष्य जिल्लाका शिक्षा, स्वास्थ्यका साथै गोरेटो बाटो निर्माण गरी जनतालाई सहज आवतजावतको ब्यवस्था मिलाउन मै केन्द्रित भएको बताउँदै विकासका लागि अन्य जिल्लालाई परेका योजनाहरु समेत म्याग्दीमा ल्याएको बताए । ‘नयाँ पुस्ताले मलाई कम चिन्छन्, तर उनीहरूले प्रयोग गर्ने विद्यालय, स्वास्थ्यचौकी र खानेपानीका योजनाहरू मेरो पालमा धेरै बनेका छन’ गौचनले भने ।

उनले आगामी मंसिर १० मा हुने प्रदेश सभामा क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका गौचनले नयाँ पुस्तालाई आफुँले तत्कालिन समयमा गरेका काम र आगामी योजनाका बारेमा जानकारी गराउने बताए ।‘मेरो उम्मेदवारी जिल्लामा थप विकासको रहर ल्याउन हो । प्रदेशसभामा जिल्लाका लागि आवश्यक पर्ने सबै काम गर्नेछु‘ उनले भने । राजनीतिमा नयाँ पुस्ताको आर्कषण बढेको बेलामा तपाईको उपस्थिती किन ? भन्ने बेनीअनलाइनको प्रश्नमा उनले उमेरले पाको भएपनि राजनीतिमा कहिल्यै पनि बुढो नभएको प्रतिक्रिया दिए ।

उनले बेनी नगरपालिका, रघुगंगा, अन्नपूर्ण गाउँपालिका भित्रको चुनावी अभियान संगै पश्चिम म्याग्दीका समेत आफुँ पुग्ने उनले बताए । स्थानीय तहको निर्वाचन लगत्तै जिल्ला समन्वय समितिमा कांग्रेसले तालमेलको प्रस्तावमा अस्वीकार गरेको विषयमा सोधिएको प्रश्नमा उनले भने,‘मैले एमाले भन्दा कांग्रेससंगै तालमेलको प्रयास गरेको थिए, जिससमा प्राविधिक कमजोरी भएकै हो’ उनले भने ।

विगतका कमीकमजोरीलाई सच्चाउँदै आफुँले मात्रै नभई प्रतिनिधिसभामा समेत कांग्रेसका उम्मेदवार खम्बीर गर्बुजालाई विजय बनाउने बताए । आइतबार मनोनय दर्ता गरेपछि लोकतान्त्रिक गठबन्धनबाट चुनावी योजना बनाउने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य, कार्यसम्पादन समितिका सदस्य एवम् धौलागिरि अञ्चल प्रमुख समेत रहेका गौचनले प्रदेश नम्बर ४ बाट लोकतान्त्रिक गठबन्धनलाई बहुमत ल्याएर जिल्लाले मन्त्रीका लागि समेत लविङ गर्ने बताए ।

म्याग्दी जिल्लामा कुल ७५ हजार ५ सय ३८ जना मतदाताहरुको नामावली कायम गरिएकोमा प्रदेशसभा अन्र्तरगत क्षेत्र नम्बर १ मा बेनी नगरपालिकामा कुल मतदाता १९ हजार ६०५ मतदाता रहेका छन् । तीमध्ये १० हजार ४६८ महिला र नौहजार १३७ जना पुरुष, रघुगंगा गाउँपालिकामा १२ हजार ३७३ मतदातामध्ये छ हजार ५३१ महिला र पाँचहजार ८४२ पुरुष र ११ हजार १५ मतदाता रहेको अन्नपूर्ण गाउँपालिकामा पाँचहजार ६५७ महिला, ५ हजार ३५७ पुरुष र एकजना तेस्रोलिङ्गी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।