आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा म्याग्दीका विभिन्न दल र स्वतन्त्र उम्मेदवारले शान्तिपूर्ण रुपमा मनोनयन दर्ता गराएका छन् । आइतबार विहान १० बजेदेखि नै जिल्लामा क्रियासिल राजनीतिक दलले हर्सोउल्लासमय वातावरणमा तोकिएको समय भित्रै मनोनयन दर्ता गराएका हुन् ।

प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका खम्बीर गर्बुजा, बाम गठबन्धनबाट नेकपा एमालेका भुपेन्द्र थापा, राष्ट्रिय प्रजातान्त्रिकका रुपनारायण श्रेष्ठ,मंगोलियन नेशनल अग्रनाइजेसनका रुन बहादुर फगामीले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै प्रदेशसभा अन्र्तरगत क्षेत्र नम्बर– १ मा लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका भिमप्रसाद गौचन, बाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका विनोद केसी, राप्रपा प्रजातान्त्रिकबाट बल बहादुर सुनार, राप्रपा एकिकृतबाट रामबहादुर शाही, स्वतन्त्रबाट नेत्र बहादुर महत र केपी अधिकारी रहेका छन् ।

यसैगरी क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको तर्फबाट क्याप्टेन अमलाल फगामी, नेकपा एमालेबाट नरदेवी पुन, राप्रपा प्रजातान्त्रिकबाट तिलाराम दमाईले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन कार्यालयका सुचना अधिकारी एवम् सरकारी वलिक खेमराज पाठकले बताए ।

उनका अनुसार उम्मेदवारी दर्ताका लागि तोकिएको समयमै राजनीतिक दलका उम्मेदवार, प्रस्तावक, समर्थकहरू कार्यालयमा उपस्थित भएका थिए । स्वतन्त्रबाट उम्मेदवारी दिएका नेत्र बहादुर महत नेपाली कांग्रेसका जिल्ला नेता र केपी अधिकारी राष्ट्रिय अपाङ्ग संघका अध्यक्ष हुन् ।अधिकारीले वारेसबाट उम्मेदवारी दर्ता गराएका छन् ।

पञ्चेबाजा सहित ग्रामिण क्षेत्रबाट समेत आएका राजनीतिक दलका कार्यकर्ताले बेनीबजार परिक्रममा गरी मनोनय दर्ता गराएका थिए । जिल्लामा एमाले– माओवादी, कांग्रेस– राप्रपा विचको चुनावी तालमेलले राजनीतिक चहलपहल बढेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारले चुनावी अभियानलाई शान्तिपूर्ण बनाउने प्रतिबद्धता जनाएका छन् । मनोनयन दर्ता गरेलगत्तै दलका नेताहरुले समेत जिल्लाका चुनावी अभियानलाई ब्यवस्थित बनाउने प्रतिबद्धता जनाए ।

जिल्लाका सुरक्षा निकायसंग समेत सहकार्य गरी निर्वाचनको अभियानमा जुटेका राजनीतिक दलले प्रचारप्रसारमा टिर्सट र टोपीको प्रयोग नगर्ने प्रतिबद्धता समेत जनाएका छन् । मनोनयन दर्ता गरेलगत्तै चुनावी रणनीति बनाउन बाम र लोकतान्त्रिक गठबन्धन जुटेका छन् । म्याग्दीमा कुल ७५ हजार ५ सय ३८ जना मतदाताहरुको नामावली कायम गरिएकोमा ३९ हजार ४ सय ३५ महिला, ३६ हजार १ सय २ जना पुरुष र एकजना तेस्रोलिङ्गी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ ।