आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि आईतबार म्याग्दीमा दुईजनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराए । बाम र लोकतान्त्रिक गठबन्धनबाट चुनावी मैदानमा उत्रिएका दलहरूले मनोनय दर्ता गरेर फर्किएको केही घण्टामा दुईजनाले स्वतन्त्रबाट प्रदेशसभाको क्षेत्र नं १ मा उम्मेदवारी दर्ता गरे । नेपाली कांग्रेसका पुराना नेता नेत्र बहादुर महत र अपाङ्ता भएको क्षेत्रबाट केपी अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

महतले गठबन्धनको नाममा पार्टीका सच्चा कार्यकर्तालाई अपमान गरेको, जनआधार भएको क्षेत्रमा समेत तालमेल गरेको भन्दै पञ्चायती शैली र अधिनायकबाद विरुद्ध आफ्नो उम्मेदवारी भएको बताएका छन् । ‘मैले पार्टीको निर्णय विरुद्ध नभई कार्यकर्ताको मनोबल बढाउन उम्मेदवारी दिएको छु । दुवैखाले अधिनायकबादको विपक्षमा रहेका मतदाताबाट सहयोग पाउनेछु’ उनले भने ।

नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय हुदाँ पञ्चायती ब्यवस्था र माओवादीको जनयूद्ध पीडित भएको बताउँदै पार्टीले तालमेलको नाममा मुल्याङ्कन नगरेको बताए । स्वतन्त्रमा नेपाली कांग्रेस म्याग्दीका जिल्ला कार्यसमिति सदस्य कर्णवहादुर भण्डारी (के.वी)ले उम्मेदवारी दर्ता गराएका छन् । उनले बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा पार्टी स्थानीय तहमा पहिलो भएपनि तालमेलको नाममा जित्ने प्रदेशमा समेत जनताको भावना विपरित तालमेल गरिएको बताउँदै त्यसले पार्टीलाई भविस्यमा क्षती पुग्ने बताए ।

त्यस्तै अर्को स्वतन्त्र उम्मेदवार अधिकारीले समेत अपाङ्ता भएकाको क्षेत्रलाई राजनीतिक दलले उपेक्षा गरेको बताए । ‘अपाङ्गता भएकालाई राजनीतिक दलले योग्य उम्मेदवार देखेनन्, मेरो उम्मेदवारी त्यसैमा केन्द्रित छ’ उनले भने । केहीदिनमा आफुँले निर्वाचनको प्रचारप्रसारका लागि जिल्लामा आउने बताए । २०५९ कात्तिक १ सिंगामा माओवादीका कार्यकर्ताबाट हत्या गरिएका मणिलाल अधिकारीका छोरा समेत रहेका उनले पिताको सपना पुरा गर्न समेत निर्वाचनमा होमिएको बताए ।

उनले जिल्लाको राजनीतिमा आफ्नो पिताबाट भएको योगदानको मतदाताले आफुँलाई भोट हालेर जिताउने विश्वास समेत गरे । उनले प्रदेशमा रहेका अपाङ्ता भएकाहरूबाट समेत सहयोगको आवश्यकता रहेको बताए । स्वतन्त्रमा उम्मेदवारी दिएकालाई पार्टीले सर्मथन गरेको छैन् । नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन बाहेकका उम्मेदवारलाई मनोनयन फिर्ता लिन अनुरोध समेत गरेको छ ।

विभिन्न राजनीतिक दलका १८ जना उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरेका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालयमा साँझ ५ बजेसम्म १८ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी खेमराज पाठकले बताए । म्याग्दीमा बाम र प्रजातान्त्रीक गठबन्धनको तर्फबाट राजनितिक दलहरुले तालमेल गरेर मनोनयन दर्तामा पार्टीभित्रको असन्तुष्टि दर्तामा देखियो । बेनीबजारमै रहेका पार्टीका जिम्मेबारी नेताहरु समेत दर्ता प्रक्रियामा देखिएनन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार आगामी निर्वाचनका लागि म्याग्दीमा ७५ हजार ५३८ जना मतदाता रहेका छन् । जिल्लाभर ७२ मतदान स्थल र १०२ मतदान केन्द्र छन् ।बेनी नगरपालीका, रघुगंगा र अन्नपूर्ण गाउँपालीका समावेश भएको प्रदेशसभाको क्षेत्र नम्बर १ मा ४२ हजार ९९३ र मंगला, मालीका र धौलागिरी गाउँपालीका समावेश भएको प्रदेशसभाको क्षेत्र नम्बर २ मा ३२ हजार ५४५ जना मतदाता रहेका छन् ।