सडक बनेपछि म्याग्दीका पदमार्गका होटलहरु धमाधम बन्द हुन थाले

0
217

एकदशक अगाडिसम्म दैनिक दुईसयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीय स्थल जाने अन्नपूर्ण पदर्माग हिजोआज सुनसान जस्तै बनेका छन् । पदमार्ग हुदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा पर्न थालेको छ भने पदमार्गका होटलहरु बन्द हुने अवस्थामा पुगेका छन् ।

जिल्लाको प्रमुख पर्यटकीय स्थल अन्नपूर्ण गाउँपालिकाको घोडेपानीमा जोड्ने विभिन्न पदमार्ग सडकले संकट परेपछि पदमार्ग आसपासका होटलहरु बन्द हुन लागेका छन् । घोरेपानीमा जाने तातोपानी हुदै मुस्ताङ जाने पर्यटकले प्रयोग गर्ने बेनी–जोमसोम सडक अन्र्तगत पोखरेबगर–घार– शिखगाउँ हुदै प्रसिद्ध पर्यटकीय स्थल घोडेपानीमा पुग्ने पदमार्गमा सडक विस्तार भएपछि पर्यटक समेत घट्दै जान थालेको हो ।

अव्यवस्थित पदमार्ग, स्थान परिचय झल्काउने बोर्ड, पदमार्ग चिन्ह लगायतका पूर्वाधार नहुदाँ पर्यटकले रुट परिवर्तन गरेको पर्यटन व्यवसायीको भनाई छ । जिल्लामै पर्यटनको क्षेत्रमा अब्बल तथा जिल्लामा प्रवेश गर्ने करिव ७० प्रतिशत पर्यटकको हिस्सा ओगटेको घोरेपानीमा सडकमार्गले पुराना पदमार्ग पुरिएपछि पदमार्गमा रहेका चिया पसल समेत बन्द हुने अवस्थामा पुगेको छन् भने ठूला होटल समेत विस्तार हुन सकेका छैनन् ।

सडक विस्तारपछि पदमार्गमा ब्यवसाय गरिरहेका अधिकाँसको होटल बन्द गरेर कृषि तथा अन्य ब्यवसायमा लागेका छन । यो क्षेत्र हुदै आवतजावत गर्ने विदेशी पर्यटकले कास्कीको नयाँपुल, घान्द्रुक हुँदै जाने गरेका छन् । पदमार्गमा रमाउन आउने पर्यटकलाई मोटरबाटोका कारण समस्या हुने गरेको पटकपटक गुनासो गर्ने गरेको भएपनि सम्बन्धित निकायले पदमार्ग ब्यवस्थित गर्न तर्फ चासो नदेखाइएको स्थानियको भनाई छ ।

मोटरबाटो पदमार्ग क्षेत्रबाटै सञ्चालन भएकाले लाखौ नोक्सानी भएको भन्दै स्थानीयले बैकल्पिक मोटरबाटो सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । विश्वमै उत्कृष्ट अन्नपुर्ण पदमार्ग अन्तरगत पर्ने भएपनि पर्यटनका क्षेत्रमा काम गर्ने संघसंस्थाले समेत पदमार्ग ब्यवस्थित बनाउन पहल गरेका छैनन् ।