बेनी नगरपालिका–९ की गोरी दर्जीले रूखबाट लडेर खुट्टा गुमाएपछि समाजमा उनलाई जीवन नै बर्बाद भयो भन्नेहरू धेरै थिए ।  चिप्लिएर जमीनमा खस्दा उनले आफ्नो भविस्य सकिएको महसुस गरिन् । एउटा खुट्टा गुमाएपछि केहीबर्ष उनको दैनिकी निकै कष्टकर बन्यो । तर उनले दरिलो आत्मबलका साथ समाजका सामाजिककार्यमा निरन्तर सक्रिय हुन थालिन् ।

दलित महिलाकी अगुवा समेचत रहेकी दर्जीले दलित तथा महिला सम्बन्धि कार्यक्रमहरुमा नियमित उपस्थिती हुन थालेपछि गाउँले समेत साहसबाट दंग पर्न थाले । कृतिक खुट्टाको प्रयोग गरेको समेत अहिले धेरै गाउँलेले पत्तो पाउँदैनन् । उनको दरिलो आत्मबल र सक्रियताले गाउँका अन्य सामाजिक कार्यमा लागेकाहरूले समेत सहयोग गर्न थालेपछि अहिले गोरी निकै उत्साहित छन् ।

गत बैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा बेनपा–९ मा नेकपा एमालेको तर्फबाट दलित महिला सदस्यमा निर्वाचित भएपछि दर्जीलाई पार्टीले नगरकार्यपालिकामा समेत अवसर दिएको छ ।जनप्रतिनिधिको भूमिकामा उनले गाउँमा हुने सबै कार्यक्रमहरुमा आफ्नो उपस्थिती देखाउँछिन् ।

‘कृतिम खुट्टा भएपनि यो लगाउँदा नक्कलीजस्तो लाग्दैन् ।मेरो सक्रियताले नयाँपुस्ताले मलाई अपाङ्ग भन्दैनन्’ दर्जीले भनिन् ।राजनीति संगै अपाङ्ग संघ म्याग्दीको कार्यसमिति सदस्य, स्थानी महिला समुह, दलित सञ्जालमा समेत रहेकी दर्जीले अपाङ्गता भएकाहरूलाई समाजमा हेर्ने दृष्टिकोण अझै परिवर्तन हुन नसकेको बताउँछिन् ।दर्जी जस्तै २०६० साल चैत्र ७ गते माओवादीले गरेको म्याग्दी आक्रमणको क्रममा बम लागेर एउटा खुट्टा गुमाएका बेनपा–८ का कृष्णप्रसाद श्रेष्ठले कृतिम खुट्टाको सहयोगमा सामाजिक संस्थाको कार्यक्रमका साथै घरमै पसल गरेका छन् ।

जिल्ला अदालत म्याग्दीमा कार्यरत रहेको अवस्थामा घाईते भएका श्रेष्ठले खुट्टा गुमाएपछि राहतका लागि डेढ दशकसम्म प्रयास गरेपनि अझै पाएका छैनन् । ‘खुट्टा गुमेपछि मैले धेरै पीडा खेप्नुप¥यो, आँसुको नदी नै बग्यो’ उनले भने ।राजनीतिक दलमा आवद्ध भएका अपाङ्गता भएकाले धमाधम राहत र सुविधा पाउँदा समेत आफुँले निकै संघर्ष गर्न परेको उनले बताए । अपाङ्गतको नाममा महालुट भइरहेको उनले आरोप समेत लगाए ।

‘अपाङ्गता भएकालाई अझैपनि समाजको दोस्रो दर्जाको नागरिक सम्झन्छन्, मैले हिक्मत हारेको छैन, मेरो श्रीमती जस्तै कृतिम खुट्टा साहरा बनेको छ’ श्रेष्ठले भने ।बेनपा–८ कै सुसन भण्डारीले पनि बाल्यकालमै खुट्टा गुमाईन् । सम्पन्न परिवारकी भएपनि उनले कृत्रिम खुट्टाको साहरामा बेनीकै माउण्ट एभरेष्ट आवासीय माविबाट एसएलसीमा राम्रो अङ्क सहित उत्र्तिणा गरी अहिले बिबिएको दोस्रो सेमेष्टरमा अध्ययरत छिन् ।

‘सबे साथीहरू संग घुलमिल छु, मलाई सबैले मायाँ पनि गर्छन्’ भण्डारीले भनिन् । उनले उच्च शिक्षा अध्ययन गरी निजामती कर्मचारी बन्ने लक्ष्य रहेको बताईन् । ‘मैले नक्कली खुट्टा हालेको छु तर हिक्मत हारेको छैन’,समाजमा धेरै राम्रो काम गर्ने लक्ष्य बोकेर हिडेको छु’ भण्डारीले भनिन् । अपाङ्गता भएकाले समेत आफ्नो परिचय लुकाएको देख्दा अचम्म लाग्ने उनको भनाई छ । उनले बालबालिकालाई शिक्षा, जनचेतनामुलक कार्यका साथै शैक्षिक र विभिन्न सामाजिक कार्यमा समेत आफ्नो प्रस्तुती दिने गरेकी छन् ।उनले अपाङ्गतामैत्री संरचनाका लागि दवाव दिनुपर्ने बताईन् ।

अपाङ्गता भएकाले अहिले पनि सरकारी तथा अन्य सुविधा लिन सकस भइरहेको बताउँदै त्यसप्रति सबै एकजुट हुनुपर्ने बताइन् । जिल्लामा अपांग भएकाहरूले एकदशक अगाडीसम्म परिवारको सहयोगमा आवतजावत गर्नुपर्ने अवस्था थियो । उनीहरुले कृत्रिम खुट्टा लगाएत अन्य साम्रागी पाउन कठिन थियो । तर, प्रविधिको विकास भएपछि सजिलै पाउन थालिएको कृतिम अंगले साङ्गको जस्तै दैनिक सहज बनाएको अपाङ्ग संघ म्याग्दीका सचिव सुरेन्द्र खत्रीले बताए । ‘विगतमा आँसुमै वित्ने दिनहरू अहिले सामाजिक क्षेत्रको अगुवाईमा वित्छन् ।हाम्रो पीडालाई समाजले विस्तारै सुन्दै जान थालेको छ’ खत्री भने ।

२०६३ सालमा बेवारिसे बम विष्फोटमा परेर दुवै हात गुमाएका खत्रीले अपाङ्ता भएकाहरुको क्षेत्रको नेतृत्वमा रहेर काम गरिरहेका छन् । खत्रीले दुवै हात गुमाएपनि एसएलसीमा प्रथम श्रेणीमा उत्र्तिणा समेत गरे । उनले अपाङ्गता भएकाहरूको राष्ट्रियस्तरको सञ्जालमा समेत काम गर्ने गरेका छन् । उनले अपाङ्गता भएका ब्यक्तिले प्रयोग गर्ने अर्थोटिक्स र प्रोथिटिक्स साम्रागीहरू सहज उपलब्ध गराउन विभिन्न संघसंस्थामा पहल समेत गर्ने गरेको बताए ।

हातखुट्टा गुमाएका, दृष्टिविहिन लगाएत विभिन्न किसिमका समस्या भएकालाई राज्यले आधारभुत सुविधा सहज रुपमा निशुल्क उपलब्ध गराउनुपर्नेमा समेत अपाङ्ता भएकाहरुले माग गरेका छन् । यसैविच धौलागिरि अञ्चलभित्रका कृत्रिम हातखुट्टाको प्रयोग गरिरहेकाहरुलाई लक्षित गरी बेलायती चिकित्सकको टोलीलाई बेलायतमा रहेका म्याग्देलीको साझा संस्था मोना यूके र बेनी अस्पतालको सहयोगमा शिविर समेत सञ्चालन गरिएको छ ।

कृत्रिम साम्रागीको प्रयोग गर्ने क्रममा समेत धेरै समस्याहरु देखिने गरेकाले अभ्यास र प्रयोग गर्ने क्रममा अपनाउनुपर्ने सावधानीलाई समेत केन्द्रित गरी शिविर सञ्चालन गरिएको मोना यूकेका अध्यक्ष कमल बहादुर पुर्जाले बताए । उनले शिविरमा आएका विरामीहरुको नाप बनाएर बेलायतमै निर्मित गरिने बताए । म्याग्दीका साथै धौलागिरि अञ्चलभित्र कृत्रिम हातखुट्टा प्रयोग गर्नेको आधिकारिक तथ्याङ्क समेत नहुदाँ समस्या भइरहेको छ । जनचेतना र पहुँचको अभावमा कृत्रिम साम्रागी प्रयोग गर्ने नसकेका दुर्गम क्षेत्रमा अझै भेटिने गरेको छ ।