कृत्रिम हातखुट्टा शिविरमा ३५ जनाले सेवा लिए

0

बेनीमा दुईदिनसम्म सञ्चालित कृक्रिम हातखुट्टा सम्बन्धि शिविरमा ३५ जनाले सेवा लिएका छन् ।सडक दुर्घटना, विभिन्न रोगका कारण हातखुट्टा गुमाएकाको दैनिकी, आवश्यकता र प्रयोगमा देखिएको समस्यालाई केन्द्रित गरी सञ्चालन गरिएको शिविरमा म्याग्दी, बागलुङ, पर्वतका सेवाग्राही लाभान्वित भएका थिए ।

बेलायतमा बसोबास गर्ने म्याग्देलीहरुको साझा संस्था ‐मोना)यूके, एनआरएनए यूके र बेनी अस्पतालको आयोजनामा सोमबार र मंगलबार आयोजित शिविरमा कलिला बालबालिका देखी बृद्धबृद्धाले सेवा लिएको बेनी अस्पतालका क्लिनिकल प्रमुख डा. धिरेन मल्लले बताए ।

‘शिविरले अपाङ्गता भएका विरामीलाई धेरै राहत मिलेको छ ।विभिन्न शिविरले लुकेका विरामीहरुलाई समेत पहिचान गर्न सजिलो हुन्छ’ मल्लले भने । बेनी अस्पतालमा आयोजित शिविरमा दुईदशक देखी एउटै कृत्रिम खुट्टाको प्रयोग गरेका,आर्थिक अवस्था कमजोर भएर कृक्रिम खुट्टा समेत प्रयोग नगरेका विरामीहरु आएका थिए ।

अफ्रिकी मुलुक हाइटीमा कृक्रिम हातखुट्टा उत्पादन तथा जडान सम्बन्धि प्रोजेक्टमा कार्यरत एलेक्स, फिजियोथेरापिष्ट एवम् विशेषज्ञ अर्थोपेडिक स्टेफी लगाएत पाँचजनाको टोलीले हातखुट्टामा देखिएको समस्या, प्रयोग गर्ने तरिकाका साथै नापजाँच गरेका थिए । शिविरमा कृत्रिम खुट्टाको प्रयोगमा आवश्यक पर्ने अभ्यास समेत गरिएको थियो ।

माओवादीको शसस्त्र यूद्ध, सडक दुर्घटना, भीरबाट लडेर, विभिन्न रोगका कारण हातखुट्टा गुमाएकाले शिविरले आफ्नो दैनिकीमा सहज भएको बताएका थिए । त्यस्तै विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले अपाङ्ता भएकाहरूलाई राहत र उपकरण उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि कार्यान्वयन नगर्दा निकै समस्या हुने गरेको बताउँदै विदेशी टोलीबाट नियमित शिविर तथा सहयोगको आवश्यकता रहेको बताए ।

यसैविच बेनी अस्पतालले आगामी दिनमा समेत शिविरलाई निरन्तरता दिन अनुरोध गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले शिविरका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । शिविरको ब्यवस्थापनमा बेनी सामुदायिक विद्यालयका विद्यार्थीले स्वयमसेवकको भूमिका निर्वाह गरेका थिए ।