आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्याग्दीमा शसस्त्र प्रहरी परिचालन गरिएको छ । कात्तिक १ गते प्रहरी नायब उपरिक्षक हरि गुरुङको नेतृत्वमा ३५ सदस्य रहेको पहिला टोली म्याग्दी आएर सुरक्षा योजना लगाएत निर्वाचन केन्द्रित जिम्मेबार्ी बहन गर्न सुरु गरेको हो । शसस्त्रको कमाण्ड सम्हालेका गुरूङ सरुवा भएपछि केहीदिनमै नयाँ प्रनाउ आउने शसस्त्र प्रहरीले जनाएको छ ।

पहिलो र दोस्रो संविधान सभाको निर्वाचनमा शसस्त्र प्रहरी परिचालन गरिएपनि स्थानीय तहको निर्वाचनमा भने प्रहरीले एक्कै सुरक्षा कमाण्ड गरेको थियो । जिल्लामा सशस्त्र प्रहरीको स्थायी युनिट नभएकाले आसन्न निर्वाचनको समयमा सुरक्षा व्यवस्था मजबुत बनाएर शान्तिपूर्ण र भयमुक्त वातावरणमा निर्वाचन गराउन ‘निर्वाचन सुरक्षा बेश’का रूपमा सशस्त्र प्रहरीको टोली परिचालन भएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

मंसिर १० गते हुने निर्वाचनमा लागि आइतबार उम्मेदवारी दर्तापछि चुनावी गतिविधि वृद्धि भएसँगै जिल्ला बन, पशुसेवा र भु संरक्षाण कार्यालय रहेको क्षेत्रमा बसेको शसस्त्रको अहिले एक प्लाटुन रहेको फौज केही दिनमा २ सय ५० जनाको हाराहारीमा आउने शसस्त्र प्रहरीले जनाएको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा शसस्त्र र तेस्रोमा नेपाली सेनाको परिचालन गर्ने गरिएको भएपनि नेपाली सेना ब्यारेकबाट बाहिर निस्किएको छैन् ।

जिल्लाभर रहेका मतदान केन्द्र लगाएत चुनावी प्रचारप्रसार लगाएतका विषयमा सुरक्षा समितिले समेत आफ्नो तयारी गरिरहेको छ । जिल्लाका सबै स्थानीय तहमा रहेका ७२ वटा मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न गर्ने गरी म्यादी प्रहरी सहितको सुरक्षा टोली परिचालन गरिने छ ।

विगतमा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न समेत शसस्त्र प्रहरीको भूमिका महत्वपूर्ण रहेको थियो । जिल्लामा विपद् ब्यवस्थापन गर्न पर्वतबाट समय समयमा शसस्त्र प्रहरी आउने गरेको छ । जिल्लामा शसस्त्र प्रहरीले स्थायी क्याम्प राख्ने प्रयास गरेपनि आवश्यक जग्गा उपलब्ध नहुदाँ प्रक्रिया रोकिएको थियो । निर्वाचनमा अति, मध्यम र निम्न जोखिम मानिएका केन्द्रहरुलाई मध्यनजर गरी सुरक्षाकर्मी परिचालन गर्ने गरिएको छ ।