एमाले र माओवादी केन्द्रको नगरपालीका स्तरीय कार्यकर्ता भेला

0
216

नेकपा एमाले र माओवादी केन्द्रको बेनी नगरपालीका स्तरीय कार्यकर्ता भेला बिहीबार बेनीमा सम्पन्न भएको छ । एमालेको पार्टी कार्यालयमा भएको भेलामा मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको संयुक्त प्रचारप्रसारलाई व्यवस्थित बनाउने विषयमा छलफल तथा नेताहरुले प्रशिक्षण दिएका थिए ।

नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य तथा प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्र थापाले नेपालको आवश्यकता र जनताको चाहना अनुसार भएको बाल तालमेल तथा पार्टी एकताको सहमतीलाई कार्यान्वयनका लागि बस्ती स्तरमा दुवै पार्टीका कार्यकर्ताहरुले सहकार्य गरेर चुनाव प्रचारमा जुट्न आग्रह गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका पोलीट ब्युरो सदस्य तथा जिल्ला संयोजक गोविन्द पौडेल, एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, माओवादीका समानुपातीक उमेद्वार टेकबहादुर बिकले नेपालमा राजनितिक स्थिरता, विकास र सम्बृद्धीका लागि बाम उमेद्वारलाई जताउनुपर्ने बताउनुभयो । नेकपा एमालेका बेनी नगर कमिटि अध्यक्ष प्रमोद श्रेष्ठको अध्यक्षता, माओवादी केन्द्रका नगर कमिटि अध्यक्ष शेरबहादुर केसीको स्वागत र सचिव कुशल पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैगरी नेकपा माओवादी केन्द्रले कुशल पौडेलको संयोजकत्वमा १५१ सदस्यीय नगर स्तरीय चुनाव प्रचारप्रसार समिति गठन गर्दै वडा र वस्ती स्तरमा एमालेसंग समन्वय गरेर चुनाव प्रचार र मतदाता शिक्षालाई प्रभावकारी रुपमा अघि बढाउने निर्णय गरेको छ ।

धौलागिरी गाउँपालीका ७ ताकममा पनी बिहीबार नेकपा एमाले र माओवादी केन्द्रका गाउँपालीका स्तरका अगुवा कार्यकर्ताहरुको संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पुर्व सांसद नवराज शर्माको उपस्थितीमा भएको भेलामा सहभागी दुई वटै पार्टीका नेता कार्यकर्ताहरुले विगतका तित्ततालाई बिर्सीएर बाम गठबन्धनका उमेद्वारलाई जिताउन संयुक्त प्रचार अभियानमा जुट्ने निर्णय गरेका छन् ।

सबै वडालाई समेट्ने गरी ७ सदस्यीय संयुक्त प्रचारप्रसार मुल समिति गठन भएको माओवादी केन्द्रका गाउँपालीका अध्यक्ष यामन रोकाले बताउनुभयो । मालीका गाउँपालीकाको केन्द्र दरवाङमा प्रदेशसभा क्षेत्र नम्बर २ का उमेद्वार नरदेवी पुन र माओवादी केन्द्रका नेता देवराज सुवेदीको उपस्थितीमा संयुक्त भेला सम्पन्न भएको छ । प्रदेशसभा क्षेत्र नम्बर १ मा बाम गठबन्धनका साझा उमेद्वार बिनोद केसीको टोलीले बिहीबार अन्नपूर्ण गाउँपालीकाको दानामा कार्यकर्ता भेटघाट गरेको छ । सन्तोष गौतम