एमाले-माओवादीको चुनावी अभियान बरंजाबाट सुरु हुदैं

0
236

मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बाम गठबन्धनको चुनावी अभियान शुक्रबार मंगला गाउँपालिका–३ बरंजाबाट सुरु हुदैछ । निर्वाचनको आन्तरिक प्रशिक्षण र तयारीसंगै गठबन्धनले बरंजाबाट चुनावी अभियान सुरु गर्ने नेकपा एमाले निर्वाचन आर्थिक परिचालन समितिका संयोजक राजकुमार थापाले बताए ।

चुनावी आमसभामा नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ र माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पौडेलले लगाएत जिल्लास्तरका नेता, प्रतिनिधिसभाका उम्मेदवार भुपेन्द्र थापा, प्रदेश सभाका उम्मेदवार नरदेवी पुन लगाएत पार्टीका विभिन्न पदमा रहेका उम्मेदवारहरुको उपस्थिती हुने बताए ।

आमसभाको तयारीका लागि यूवा संघका विदेश विभाग प्रमुख सन्तोष रावल सहितको टोली बिहिबार नै बरंजा पुगेको छ ।
बामपन्थीहरुबीचको चुनावी तालमेल र पार्टी एकता गर्ने अभियान संगै म्याग्दीमा पनि एमाले र माओवादीले संयुक्त अभियानको सुरुवात गरेका थिए । प्रदेश नम्बर १ का उम्मेदवार विनोद केसी सहितको टोली उत्तरी म्याग्दीको चुनावी अभियानमा छन् ।

यसैविच जिल्लामा चुनावी सरगर्मी बढेको छ । बाम र लोकतान्त्रिक गठबन्धनबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवारले प्रचारप्रसार सहितको घरदैलो अभियानलाई समेत तिब्रता दिएका छन् । म्याग्दीमा कुल ७५ हजार ५ सय ३८ जना मतदाताहरुको नामावली कायम गरिएको हो । कुल मतदातामध्ये ३९ हजार ४ सय ३५ महिला, ३६ हजार १ सय २ जना पुरुष र एकजना तेस्रोलिङ्गी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ ।