बेनी नगरपालिका–३ भकिम्लीमा रहेको एक विद्यालयको भवन निर्माणका लागि स्थानीयले १ करोड भन्दा बढी आर्थिक सङ्कलन गरेका छन् । स्थापनाकाल देखीको जीर्ण भवनलाई विस्थापित गदैं गाउँलेले स्वदेश तथा विदेशमा रहेका भकिम्लीबासीको सक्रियतामा गतबर्ष सुरू गरेको ३० कोठे भवन निर्माण अभियानको पहिलो चरणमा एक करोड ५० हजार आर्थिक जुटाउन सफल भएको विद्यालयका प्रधानध्यापक रामबहादुर पुनले बताए ।

’समुदायले अन्नबाली बेचेर पनि सहयोग गर्नुभएको छ, भौतिक पूर्वाधारको अभावमा शैक्षिक गुणस्तरमा समेत समस्या भएको छ‘ पुनले भने ।भवन निर्माणका लागी हङकङबाट १७ लाख, अमेरिकाबाट १० लाख २५ हजार, अमेरिकाबाट १० लाख ३५ हजार, स्पेनबाट १० लाख, साविकको भकिम्ली गाविस १० लाख लगाएत ब्यक्तिगत रुपमा समेत ५ लाख देखी २ हजारसम्म सहयोग गरिएको आर्थिक सहयोग समितिले जनाएको छ ।

३ करोडको लागतमा अनुमान गरिएको भवनमा स्थानीयबासीले आफ्नो घरायसी र खेतपातीको काम समेत छोडेर निरन्तर जनश्रमदान समेत गरेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पदम पुनले बताए ।‘गाउँलेको मेहनतमा भवन बन्दैछ । भवनसंगै उच्च शिक्षाका लागि आवश्यक पर्ने पूर्वाधारहरू समेत विस्तार गरिने छ’ पुनले भने । उनले १० कोठे भवनको ढलान सकिएको छ । विद्यालयको भवनका लागि हालसम्म करिव १ करोड ५० लाख खर्च भएको बताउँदै करिव ५० लाख ऋण लिएर भवनको कामलाई तिब्रता दिइएको बताए ।

अभियानको पहिलो चरणमा संकलन भएको आर्थिक सहयोगको विवरण केही महिना भित्र सार्वजनिक गरिने वडा अध्यक्ष समेत रहेका पुनले बताए । उनले जिल्लाकै नमुना विद्यालय बनाउन आवश्यक शैक्षिक, भौतिक र जनशक्तीको ब्यवस्थापन गरिने बताए । भौतिक पूर्वाधारसंगै प्रयोगशाला, पुस्तकालय, शैक्षिक साम्रागीका साथै गुणस्तरीय शिक्षाका लागि आवश्यक पर्ने सबै साम्रागीहरुको ब्यवस्थापन गरिने बताए । निर्माणधिन अवस्थामा रहेको भवनलाई जिल्ला शिक्षा कार्यालयबाट १९ लाख ५० हजार सहयोग गरिएको छ ।त्यस्तै निर्वतमान सांसदको कोषबाट समेत सहयोगको प्रतिबद्धता भएको विद्यालयले जनाएको छ ।

विद्यालयले भवन निर्माणका लागि सहज बनाउन आफ्नै ट्याक्टर, इट्टा मेसिन सहितका आवश्यक उपकरण समेत खरिद गरेकाले अनावश्यक खर्च नियन्त्रण सहज भएको विद्यालयले जनाएको छ । विद्यालयमा प्रावि देखी माविसम्म २ सय विद्यार्थी अध्ययरत छन् । जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा प्रवासी म्याग्देलीले लाखौं सहयोग गरेका छन् । सुन्य दरबन्दी रहेका र समुदायको सहयोगबाट सञ्चालन भइरहेका विद्यालयमा राहुरे स्वागत, चन्दा, विभिन्न सांस्कृतिक कार्यक्रमहरु सञ्चालन गरी शिक्षकको तलब सुविधा जुटाउने गरिएको छ ।