प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि साढे ६ सय म्यादी प्रहरीको छनोट

0
224

आउँदो मंसिर १० गते हुन गैरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म्याग्दी जिल्लामा झण्डै साढे ६ सयजना म्यादी प्रहरीहरु छनोट भएका छन् । आसन्न निर्वाचनलाई लक्षित गरी सरकारले म्यादी प्रहरीको माग गरेपछि म्याग्दीमा ६ सय ३९ जनालाई छनोट गरिएको छ ।

म्यादी प्रहरी हुनलाई कुल १ हजार ३३ जनाले आवेदन दिएका थिए । तीमध्ये म्याग्दी जिल्लालाई आवश्यक ६ सय ३९, मुस्ताङका लागि ४९ र वैकल्पिकमा १०३ जनाको छनोट गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । म्याग्दीलाई ४ सय ९५ पुरुष, १ सय ४४ महिला र मुस्ताङलाई ३३ पुरुष तथा १६ महिला रहेको प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिनुभयो ।

छनोट भएका म्यादी प्रहरीहरुलाई प्रहरी केन्द्रको आदेशअनुसार नियुक्ति दिएर तालिम सञ्चालन गरिने म्याग्दीका प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले बताउनुभयो । म्यादी प्रहरीको स्वास्थ्य परीक्षण, शारिरीक अभ्यास, लिखित परीक्षा र अन्तर्वार्ता लिएर छनोट गरिएको बताइएको छ ।

म्यादीमा भर्ना हुन युवादेखि अधबैंसे उमेरसम्मका पुरुष तथा महिलाले आवेदन दिएका थिए । सरकारले प्रदेश र केन्द्रीय संघको निर्वाचनमा आवश्यक पर्ने म्यादी प्रहरीको भर्ना आवेदन माग गरेपछि प्रहरी कार्यालयमा भीड लागेको थियो । आवेदन दिएकामध्ये अधिकांश अवकाश प्राप्त भूतपूर्व सैनिक, पूर्व म्यादी प्रहरी, युवायुवती लगायत रहेको प्रहरीको भनाई छ । म्यादी प्रहरी भर्नामा प्लस टु उत्तीर्ण, विदेशबाट फर्किएका युवा र अन्य क्षेत्रमा संलग्नलगायत समेत रहेका छन् ।

२०२० साल ६ महिना २० गतेदेखि २०५६ साल ६ महिना ३० गतेसम्म १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेको व्यक्तिलाई म्यादी प्रहरी भर्नाका लागि उमेर हदबन्दी तोकिएको थियो । म्यादी प्रहरीमा युवाहरुको उत्साहजनक सहभागिता रहेको छ भने महिलाको समेत आकर्षण बढेको प्रनाउ खड्काको भनाई छ । उहाँका अनुसार म्यादी प्रहरीले नेपाल प्रहरीको जवानले पाएसरहको सेवासुविधा पाउने र ५५ दिनको सेवा अवधि रहेको छ ।

स्वदेशमा रोजगारको अवसर कम भएका कारणले गर्दा पनि तोकिएको सङ्ख्याभन्दा धेरै आवेदन परेको थियो । गएको बैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न गराउन सरकारले ७५ हजार म्यादी प्रहरी भर्ना गरेको थियो । म्याग्दीमा गत स्थानीय तहको निर्वाचनमा ४१८ जना म्यादी प्रहरीहरुलाई छनोट गरिएको थियो । यसपाली भने देशभर ९८ हजार म्यादी प्रहरीको दरखास्त माग गरिएको हुँदा म्याग्दीमा पनि त्यो सङ्ख्या बढेको हो ।