राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता भुवन पाठकले हिन्दु राष्ट्र र राजतन्त्र सहितको प्रजातन्त्र पुनस्थापनाको प्रमुख एजेण्डा सहित जनताको घरदैलोमा पुग्ने बताएका छन् ।हिन्दु राष्ट्रको एजेण्डामा नेपाली कांग्रेस समेत सकारात्मक रहेकाले पनि आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक गठबन्धनले बहुमत ल्याए देशमा हिन्दु राष्ट्रको स्थापना हुने दावी समेत गरे ।

राप्रपा म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको पार्टीका अगुवा कार्यकर्तालाई प्रशिक्षण तथा पत्रकार सम्मेलनमा हिन्दु राष्ट्रको स्थापनाले राजतन्त्रको पुर्नस्थापनालाई समेत जोड्ने बताए ।उनले नेकपा एमाले र माओवादी केन्द्र विचको गठबन्धन अप्रत्यासीत र आकस्मिक रुपमा भएको अधिनायकबादीको एकता भएको दावी गरे । उनले अदृष्य शक्तीको सहयोगमा भएको बाम गठबन्धनको छिट्टै पर्दाफास हुने बताए ।

‘बिस बर्ष सरकार चलाउने हल्ला गरिरहेका छन्, देशको स्वाधिनतालाई नै खतरामा पार्न सक्ने सम्भावना छ’ पाठकले भने । उनले नेपाली कांग्रेस संग धेरै एजेण्डामा असहमति भएपनि देशको रक्षा र अधिनायकवादको विरुद्ध सहकार्य भएको बताए । पत्रकार सम्मेलनमा राप्रपाका उपाध्यक्ष दिलविकास राजभण्डारीले राप्रपाले उठाएको एजेण्डालाई जनताले विश्वास गरी दोस्रो संविधान सभामा सम्मानजनक मत दिएको बताए ।

उनले प्रतिनिधि र प्रदेशसभामा समेत आफ्नो पक्षमा जनमत आउने विश्वास गरे । सोही अवसरमा राप्रपाका केन्द्रिय सदस्य तथा प्रदेशसभा म्याग्दी क्षेत्र नम्बर १ का उमेद्वार भिमप्रसाद गौचनले जिल्लाको विकासमा आफ्नो योगदानको मतदाताले मुल्याङ्कन गर्ने बताए । ७७ वर्षको उमेरमा समेत राजनीतिमा होमिनुपर्ने अवस्था यहाँका राजनीतिक दलका नेताहरुले गरेको बताउँदै बाँकी जीवनमा अधुरा काम पुरा गर्ने बताए ।

पञ्चायतकालमा म्याग्दीमा घोडेटो बाटो, पुल, खानेपानी र विद्यालय स्थापना गरि विकासमा महत्वपूर्ण योगदान गरेको बताउँदै आफूले चुनाव जितेमा पाँच बर्षमा जिल्लाका सबै गाउँबस्तीमा सडक, जिल्ला जोड्ने मालढुङ्गा–बेनी सडकलाई चार लेन बनाउने, सदरमुकामबाट वडा कार्यालयसम्मको सडक ग्राभेल गर्ने, दुर्गम क्षेत्रमा पनि निशुल्क इन्टरनेट सुविधा, घरघरमा खानेपानी, भोलुङ्गेपुल मर्मत लगाएतका योजनाहरू प्राथमिकतामा रहेको बताए ।

जिल्लामा विद्युत उत्पादनको नाममा खोलानाला झोलामा राखेकाहरूबाट खोसेर जलविद्युत आयोजना निर्माणलाई समेत तिब्रता दिने र प्राविधिक बाहेक सबै कामदार जिल्लाभित्रैबाट परिचालन गरी बैदेशिक रोजगारमा जानबाट रोक्ने बताए । उनले नेपाली कांग्रेसले चुनावी अभियानमा इमान्दारिता देखाइरहेको बताए । उनले आगामी दिनमा पनि कांग्रेससंग सहकार्य गरी अगाडी बढ्ने बताए । पत्रकार सम्मेलनमा राप्रपा म्याग्दीका अध्यक्ष बिरबहादुर थापा क्षेत्री, बेनी नगरपालिकाकी उपमेयर सञ्जु बरुवाल लगाएतको उपस्थिती रहेको थियो ।