म्याग्दीमा ‘विरासत’ जोगाउने र ‘लालकिल्ला’ भत्काउने चुनौति

0
175

(धु्रबसागर शर्मा)
आगामी मंसिर १० गते हुनलागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न म्याग्दीका राजनीतिक दल र उम्मेदवारहरु आफ्ना एजेण्डा र कार्यक्रम सहित मतदाताको घर आगनमा पुग्न थालेका छन् ।

प्रतिनिधि सभाको लागि एक र प्रदेश सभाका लागि २ गरी जम्मा तीन निर्वाचन क्षेत्र रहेको म्याग्दीमा विभिन्न दलका गरी १२ जना उम्मेदवारहरु चुनावि मैदानमा उत्रिएका भएपनि प्रजातान्त्रिक र वाम गठवन्धनका दुई उम्मेदवारहरु बीचमा नै मुख्य प्रतिष्पर्धा हुने निश्चित भएको छ ।

प्रतिनिधिसभाका लागि कांग्रेस—राप्रपाको (प्रजातान्त्रिक) गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेस म्याग्दीका सभापति खमवहादुर (खम्बीर) गर्वुजा र नेकपा एमाले—माओवादी(केन्द्र)को गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य भुपेन्द्रवहादुर थापाको बीचमा हुने चुनावी प्रतिष्पर्धालाई म्याग्दीमा निकै महत्वका साथ हेरिएको छ ।

नेकपा एमाले—माओवादी गठबन्धनलाई २०६४ देखि स्थानीय तह निर्वाचनसम्मको आफ्नो ‘विरासत’ जोगाउँदै म्याग्दी जिल्लालाई आँफैले घोषणा गरेको ‘कम्युनिष्ट जिल्लाः लाल किल्ला’ सुरक्षित गर्नुपर्ने चुनौति रहेको छ । उता स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकाको प्रमुख सहित तीन गाउँ पालिकामा विजय प्राप्त गरेको म्याग्दी कांग्रेस नेतृत्वको प्रजातान्त्रिक गठबन्धनलाई कम्युनिष्ट गठबन्धनबाट राजनीतिक रुपमा निर्माण हुने ‘लाल किल्ला’भत्काउनै पर्ने चुनौति खडा भएको छ ।

यसरी हेर्दा राजनीतिक रुपमा वामगठबन्धन प्रतिरक्षात्मक अवस्थामा देखिएको र लोकतान्त्रिक गठबन्धन मत आकर्षणका लागि ‘शालिन आक्रामक’ बन्नुपर्ने अवस्थामा रहेको पाइएको छ । २०७० सालमा भएको संविधान सभाको निर्वाचनमा आएको मत परिणामलाई आधार मानेर हेर्दा पनि वाम गठवन्धन रक्षात्मक र लोकतान्त्रिक गठबन्धन शालिन आक्रामक अवस्थामा रहेको पुष्टि हुन आउँछ ।

करिब ५७ हजार मतदाता रहेको २०७० सालको संविधान सभाको निर्वाचनमा नेकपा एमालेका नवराज शर्माले १५ हजार ९५५ मत प्राप्त गर्नुभएको थियो भने नेपाली कांग्रेसका खमवीर गर्वुजाले १२ हजार ५०९,नेकपा माओवादीका लोकेन्द्र विष्टले ६हजार ४५० र राप्रपाका भीमप्रसाद गौचनले ३ हजार ३३४ मत प्राप्त गर्नुभएको थियो ।

२०७० सालको संविधान सभाको निर्वाचनको तुलनामा अहिले करिब १९ हजार मतदाता थपिएका छन् । तत्कालिन मतदाताको संख्या र प्राप्त मत परिणामलाई आधार मानेर विश्लेषण गर्दा अहिलेको वाम गठवन्धनले २०७० सालमा (नवराज शर्मा र लोकेन्द्र विष्टले प्राप्त गरेको मत जोड्दा) २२ हजार ४०५ मत प्राप्त गरेको हो ।

त्यसैगरी अहिलेको लोकतान्त्रिक गठबन्धनले २०७० सालको संविधान सभाको निर्वाचनमा (खमवीर र भीमप्रसादले प्राप्त गरेको मत जोड्दा) १५ हजार ८४३ मत प्राप्त गरेको थियो । तत्कालिन समयको मतदाता र प्राप्त मतपरिणामलाई आधार मानेर अहिलेको अवस्थामा मूल्याङ्क गर्दा पनि वाम गठवन्धन ६ हजार ५६२ मतले अगाडी देखिन आउँछ । सायद यही मतपरिणामलाई आधार मानेर वामगठवन्धनले आफ्नो जीत निश्चित भएको र म्याग्दीलाई लालकिल्ला बनाएरै छोड्ने उद्घोष गरेको हुनसक्ने म्याग्दीका राजनीतिक विश्लेषक एवम् बुद्धिजीविहरुले बताएका छन् ।

जिल्ला निर्वाचन कार्यालय म्याग्दीका अनुसार जिल्लाभर अहिले मतदाताको संख्या ७५ हजार ५ सय ३८ पुगेको छ । ६ महिना अघि वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ७१ हजार ४६३ मतदाता रहेका थिए । ७० सालको संविधान सभा निर्वाचनपछिको चार वर्षको अवधीमा थपिएका करिब १९ हजार मतदाताको मत नै निर्णायक मत हुनेहुँदा २०७० पछि जिल्लाका गाउँगाउँमा गठन भएका राजनीतिक संघसंगठन,सक्रियता र जनताको राजनीतिक पार्टी प्रतिको आकर्षण प्रतिनिधिसभा निर्वाचनको जीतको आधार बन्नसक्ने निश्चित छ ।

यो अवधीमा नेपाली कांग्रेस,नेकपा एमाले,माओवादी (केन्द्र) र राप्रपाले पनि गाउँगाउँमा आफ्नो संगठन निर्माण,कार्यकर्ता परिचालन,प्रशिक्षण र विभिन्न कार्यक्रमहरु गरेका छन् । गाउँमा कसको शक्ति बलियो छ र कुन पार्टीका मतदाता बढी छन् भन्नेकुरा ६ महिना अघि सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणामले पनि बुझाएको छ ।

स्थानीय तहको मत परिणामलाई आधार मान्दै वाम गठवन्धनले आँफू प्रजातान्त्रिक गठवन्धन भन्दा सात हजार मतले अगाडी रहेको दावि गरेको छ । २०७० सालमा एमाले—माओवादी,कांग्रेस—राप्रपा भन्दा ६ हजार ५६२ मतले अघि रहेको र स्थानीय तहको निर्वाचनमा वाम गठवन्धनका दुवै पार्टीको मत सात हजार हाराहारीले अगाडी हुनु स्वभाविक नै हुनसक्ने आँकलन गरिएको छ । यता प्रजातान्त्रिक गठबन्धनका दुई शक्ति कांग्रेस—राप्रपाले पनि यो अवधिमा संगठन निर्माण र कार्यकर्ता परिचालनलाई निकै महत्व दिएकाले कांग्रेस—राप्रपा गठबन्धनको मत पनि बलियो रहेको पाइएको छ ।

दुवै गठवन्धनका उम्मेदवारहरु प्रभावशाली र सामथ्र्यवान देखिनुले पनि म्याग्दीमा प्रतिनिधि सभा निर्वाचनको परिणाम पेचिलो र रोचक बन्दै गएको हो । प्रजातान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका गर्वुजा म्याग्दी कांग्रेसका सभापति हुनुका साथै बेलायती सेनाबाट अवकास प्राप्त, शालिन,भद्र र जनजाती वाहुल्यता रहेको जिल्लामा जनजाती समुदायको व्यक्ति भएकाले पनि प्रतिष्पर्धामा बलियो देखिनुभएको हो ।

त्यसैगरी वामगठवन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका थापा नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य हुनुका साथै कम्युनिष्ट आन्दोलनका योद्धा,वलियो राजनैतिक र सांगठनिक धरातल भएको पार्टीका उम्मेदवार, इमानदार र समर्पित नेता भएकाले गर्वुजालाई टक्कर दिँदै प्रतिष्पर्धामा उत्रिनुभएको हो ।यसैगरी दुईवटा निर्वाचन क्षेत्र रहेको प्रदेश सभा निर्वाचन पनि दुवै क्षेत्रमा प्रतिष्पर्धात्मक हुने भएको छ ।

प्रदेश सभा क्षेत्र नं १ मा प्रजातान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका भीमप्रसाद गौचन म्याग्दीको राजनीतिमा चतुर खेलाडी मानिनुहुन्छ । पञ्चायतकालमा दुई पटक राज्यमन्त्री र दुई पटक जिविस सभापति समेत भैसक्नु भएका गौचन पाका उम्मेदवार र राजनीतिमा हरेक रणनीति अपनाउन सक्ने व्यक्तिको रुपमा चिनिनु हुन्छ । त्यो भन्दा पनि बढी क्षेत्र नं १ मा कांग्रेसको राम्रो प्रभाव रहेको र कांग्रेसको समर्थन आफूमा भएकाले निर्वाचनमा आफू विजयी बन्ने उहाँको दलिल रहेको छ ।

त्यस्तै बाम गठवन्धनको तर्फबाट प्रदेश क्षेत्र १ का उम्मेदवार विनोद केसी माओवादी केन्द्रका युवा नेता हुनुहुन्छ । आफ्नो व्यक्तित्व, एमाले,माओवादीको बलियो सांगठनिक आधार र युवाहरुको समर्थन रहेको कारण केसी पनि गौचनलाई टक्कर दिन मैदानमा उत्रिनु भएको छ । वदलिदो परिवेशसंगै युवाहरुको प्रतिनिधित्व र विकास नै आफ्नो जितको आधार भएको उहाँको भनाइरहेको छ ।

त्यसैगरी प्रदेश सभाको क्षेत्र नं २ मा वाम गठवन्धनको तर्फबाट नेकपा एमालेकी नरदेवी पुन र प्रजातान्त्रिक गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका अमलाल फगामी चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ । आफ्नो जीवन नै राजनीतिमा समर्पण गर्दै लामो समयसम्म संघर्ष गरेकी म्याग्दीका विदुषी नेतृ नदरेवी पुन पूर्व राज्यमन्त्री समेत हुनुहुन्छ । आफू राज्यमन्त्री हुँदा तयार पारेका योजनाहरुको कार्यान्वयन गर्दै समृद्ध म्याग्दीको परिकल्पना पूरा गर्न आफ्नो जीत अनिवार्य रहेको उहाँको भनाइ छ । त्यस्तै इमानदार र सरल व्यक्ति मानिने फगामी पहिलो पटक राजनीतिक मैदानमा उत्रिनुभएको छ । आँफूले जितेमा क्षेत्र नं २ को विकास र जनताको काममा पूर्ण इमानदार रहने प्रतिवद्धता फगामीले व्यक्त गर्नुभएको छ ।