जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा सदरमुकाम बेनीमा हाईड्रोसिलका बिरामीलाई लक्षित गरी सञ्चालन गरिएको निःशुल्क शिविरमा ३० जनाको अप्रेशन गरिएको छ ।आर्थिक अभावले सेवा लिनबाट बञ्चितीमा परेका ग्रामीण भेगका बिरामीहरुलाई लक्षित गरी आयोजित शिविरमा अप्रेशनसहित परामर्श सेवा उपलब्ध गराइएको थियो ।

गत बुधबारदेखि सुरु भएको शिविरमा ८५ जनाले परिक्षण गरेको जनस्वास्थ्यका भिमप्रसाद आचार्यले बताए । उनले ग्रामिण क्षेत्रमा बृद्ध अवस्थामा समेत परिवारको बेवास्थाका कारण अप्रेसन सेवाबाट बन्चित भएको भेटिएको बताउँदै आगामी दिनमा थप प्रचारप्रसार गर्नुपर्ने बताए।अस्पतालमा नियमित अप्रेसन समेत गर्न सकिने उनले बताए । हाईड्रोसिल र हर्नियाको अप्रेशनलाई निजी अस्पतालमा करिव २० देखी ४० हजारसम्म खर्च हुन्छ ।

अण्डकोष सुन्निएको, सानोठूलो भएको,हर्नियालगायत हाईड्रोसिलसँग सम्बन्धित रोगको उपचार गरिएको थियो । शिविरमा किशोर उमेरदेखि ८२ वर्ष उम्मेरसम्मका बिरामीले प्रत्यक्ष रुपमा सेवा लिएको डा. धिरेन मल्लले बताए ।शिविरमा डाक्टरहरु रोशन न्यौपाने, धिरेन मल्ल, नवराज वस्ताकोटी लगायतको स्वास्थ्यकर्मीको टोलीले सेवा प्रवाह गरेका थिए । गतवर्ष ४० जना हाईड्रोसिलका बिरामीहरुको उपचार गरिएको थियो ।

जिल्लामै शिविर आयोजना गरिएपछि सर्वसाधारणलाई जिल्लाबाहिर जानुपर्ने बाध्यताको अन्त्य हुनुका साथै समय र पैसाको समेत बचत भएको छ । पुरुषहरुमा हाईड्रोसिलको समस्या बढी देखिने गरेको जनाइएको छ । अमेरिकी संस्था निक साइमनको आर्थिक तथा प्राविधिक सहयोगमा बेनी अस्पतलामा अनुभवी चिकित्सक, प्राविधिक र आधुनिक उपकरण सहयोग भएपछि विगत दुईबर्ष यता जटिल किसिमका अप्रेसन सेवाहरु समेत सञ्चालन भइरहेको छ ।