किन पुगे राहत शिक्षकहरु शिक्षा कार्यालयमा ? (स्मरणपत्रको पूर्ण पाठसहित)

0
275

नेपाल राहत शिक्षक जिल्ला कार्यसमिति म्याग्दीले मङ्गलबार जिल्ला शिक्षा कार्यालयमार्फत शिक्षामन्त्रीलाई स्मरणपत्र बुझाएका छन् । राहत शिक्षकहरुको पेशा तथा हक अधिकारसम्बन्धी विभिन्न मागहरु राखेर शिक्षामन्त्रीको ध्यानाकर्षणस्वरुप उनीहरुले स्मरणपत्र बुझाएका हुन् ।

राहत शिक्षक जिल्ला कार्यसमिति अध्यक्ष देवराज शर्मा र सचिव सन्तोष सुवेदीको हस्ताक्षरसहितको स्मरणपत्र बोकेर शिक्षा कार्यालयमा पुगेका राहत शिक्षकहरुको एक टोलीले विद्यालय निरीक्षक विश्वप्रकाश रेग्मीलाई उक्त पत्र बुझाएका थिए ।

स्मरणपत्रमा राहत कोटामा कार्यरत सम्पूर्ण शिक्षकहरुलाई एकमुष्ट पदस्थापनासहित स्थायी गर्नुपर्ने र राज्यबाट शिक्षक शिक्षकहरुबीच गरिँदै आएको सबैखाले विभेदहरुको तत्काल अन्त्य गरियोस् भन्ने मागसहितको स्मरणपत्र बुझाइएको नेपाल राहत शिक्षक जिल्ला कार्यसमिति म्याग्दीले जनाएको छ ।

राहत शिक्षकहरुले आफ्ना विभिन्न मागहरु राखेर यसअघि पटकपटक शिक्षामन्त्री र विभागमा स्मरणपत्र, ज्ञापनपत्र र ध्यानाकर्षण पत्रहरु बुझाए पनि विभेदको अन्त्य हुन नसकेको जिल्ला कार्यसमिति अध्यक्ष देवराज शर्माले बताए । उनले राहत शिक्षक र स्थायी शिक्षकले दिने सेवामा कुनै फरक नभएको बताउँदै सेवासुविधामा पनि एकरुपता हुनुपर्ने बताए । राहत शिक्षकहरुले आफूहरुको मागको उचित सम्बोधन नभएमा तत्काल कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

यही कात्तिकको आउँदो २२ गते देशभरका ७५ ओटै जिल्ला शिक्षा कार्यालयहरुमा धर्ना दिइने स्मरणपत्रमा उल्लेख गरिएको छ । नेपालको शिक्षा विकासमा राहत शिक्षकहरुको सेवाले ठूलो योगदान पुगेको उनीहरुले बताएका छन् । स्मरणपत्र बुझ्दै विद्यालय निरीक्षक विश्वप्रकाश रेग्मीले शिक्षा क्षेत्रमा राहत शिक्षकको महत्वपूर्ण योगदान रहेको बताउँदै शिक्षकहरुको मागको सम्बोधन हुनुपर्ने बताए । उनले स्मरणपत्रलाई आजै सम्बन्धित मन्त्रालयमा पठाइदिने प्रतिबद्धता पनि जनाएका थिए ।