म्याग्दीका लोकप्रिय डा. मल्ललाई सम्मान (भिडियो)

0
297

आवश्यक स्रोतसाधनको अभावका बावजुत पनि जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सफल एक चिकित्कलाई बुधबार सम्मान गरिएको छ । बेनी अस्पतालमा कार्यरत डा. धिरेन मल्ललाई म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले कदरपत्र र दोसल्लाले सम्मान गरेको हो ।

निक साईमन इन्सिच्युट अमेरिकाको आर्थिक तथा प्राविधिक सहयोगमा अस्पतालमा सञ्चालित अप्रेसन सहितको प्रसुती सेवामार्फत दुर्गम क्षेत्रमा महिला, बालबालिकाको उपचारका साथै जटिल अवस्थाका विरामीको सेवामा दिनरात खटिएर लोकप्रियता कमाएका डा. मल्ललाई कोषले सम्मान तथा विदाई गरेको अध्यक्ष राजेश शाक्यले बताए ।

‘उहाँले धेरै विरामीलाई मृत्युको मुखबाट जोगाउनुभएको छ,बाहिर जानुपर्ने धेरै विरामीले जिल्लाभित्रै सेवा पाएका छन्’शाक्यले भने ।म्याग्दी जिल्लाको इतिहासमा धेरै डाक्टरहरू जिल्लामा सेवा दिएर फर्किएपनि डा.मल्लले अस्पतालका साथै दुर्गम क्षेत्रमा स्याटेलाइट शिविर मार्फत रोग लुकाएर बसेका धेरै विरामीको उपचार गरी आफ्नो जिम्मेबारी पुरा गरेको उनले बताए ।

०७१ साल फागुनमा जिल्लामा आएका डा. मल्लले पाठेघर बाहिर जन्मिएको बच्चा,चक्कु प्रहारबाट फोक्सोमा रगत र हावा जमेर गम्भीर घाईते, एपेन्डिस फुटेको, पाठेघरको टुयूमर, फोक्सोमा समस्या, पिसालको थैलीमा ढुंगा,हड्डी, नसा चुडिएका, हर्निया, हाईड्रोसिल लगाएतका बिरामीको जिल्लामै निशुल्क उपचार गरेको बताए । उनले जिल्लाबासीको सहयोगले आफुँलाई काम गर्न सहज भएको बताए । ‘जटिल अवस्थामा आउनुभएका विरामीले उपचारपछि पनि भेट्न समेत आउने गरेका छन् । उहाँहरुलाई आवश्यकता अनुसार बाहिरबाट पनि सेवा दिनेछु’ मल्लले भने ।

उनले जिल्ला अस्पतालमा हाल रहेका सेवालाई निरन्तरता दिन जिल्लाबाहिर भएपनि समय समयमा प्राविधिक सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । हाल रहेको सेवालाई थप प्रभावकारी बनाउन निक साईमनबाट अनुभवी चिकित्सक जिल्लामा आएको बताउँदै डा.मल्लले विगतमा कार्यरत जिल्लाको तुलनामा म्याग्दीमा सहज भएको बताए ।

सम्मान कार्यक्रममा डा. मल्लले आर्थिक अवस्था कमजोर भएका म्याग्देलीको उपचारमा सक्रिय कोषमार्फत सिफारिस भएका विरामीलाई काठमाण्डौमा सहज उपचारका साथै आर्थिक सहयोगमा समेत सहयोगी भूमिका खेल्ने प्रतिबद्धता समेत जनाए । उनले कोषलाई ११ हजार १११ सहयोग गरेका थिए । कार्यक्रमको स्वागत उपाध्यक्ष हरिकृष्ण गौतम र सञ्चालन सहसचिव विनय श्रेष्ठले गरेका थिए ।