म्याग्दीको मालीका गाउँपालीका २ रुममा बुधबार नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त चुनावी प्रचार सभा गरेका छन्। मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका क्रममा चुनावी तालमेल र पार्टी एकताको सहमती गरेका एमाले र माओवादीले संयुक्त रुपमा आम सभा गरेका हुन् ।

आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य तथा प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्रबहादुर थापाले नेपालको आवश्यकता र जनताको चाहना अनुसार बाम गठबन्धन बनेको बताउनुभयो ।

नेपालको सम्बृद्धी, राष्ट्रियताको रक्षा, जनजिविका, विकासको सवालमा यसअघिका बामपन्थी सरकारले गरेका कामहरुलाई निरन्तरता र थप जनपक्षिय काम गर्नका लागि बाम गठबन्धनलाई जिताउन थापाले आग्रह गर्नुभयो । बाम एकताबाट आत्तिएकाहरुले फिजाँएको भ्रममा नपर्ने थापाले आग्रह गर्नुभयो ।

प्रदेशसभा क्षेत्र ख मा एमालेकी उमेद्वार नरदेवी पुन र पुर्व सभाषद् नवराज शर्माले म्याग्दीको सडक, शिक्षा, खानेपानी, स्वास्थ्य क्षेत्रको विकासका लागि बाम गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो । उहाँहरुले पूर्वाधार विकाससंगै जलविद्युत, कृषि, पर्यटन, खनीज सम्पदाको परिचालन गरेर जनताको जिवनस्तर उकास्ने योजनालाई प्राथमिकता दिने बताउनुभयो ।

माओवादी केन्द्रका प्रतिनिधिसभाका समानुपातीक उमेद्वार टेकबहादुर विश्वकर्मा (सुवास) र देवराज सुवेदीले माओवादी र एमालेको पहलमा जारी भएको प्रगतिशिल संबिधानमा उल्लेखीत जनताको अधिकार कार्यान्यनका लागि बामपन्थीको सरकार आवश्यक पर्ने र त्यसका लागि बाम गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभयो । वडा अध्यक्ष नरबहादुर पुनको अध्यक्षता, भिम घर्तीको सञ्चालन र अमरबहादुर बिकको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा एमालेका स्थानीय नेता थामबहादुर पुन र माओवादीका गोविन सिउथानीले बाम गठबन्धनले कम्प्युनिष्ट कार्यकर्ता उत्साहीत भएकाले जित सुनिश्चित भएको बताउनुभयो । कार्यक्रममा कलाकारहरुले जनजादी गित र नृत्य प्रस्तुत गरेका थिए ।