दृष्टिविहिन धनमायाँ विक भन्छिन्,‘दृष्टि भएकाहरूको गुरू बन्न चाहन्छु’ (भिडियो)

0

म्याग्दीकी एक दृष्टिविहिन विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने धोको पुरा भएको छ । आर्थिक अवस्था कमजोर र परिवारको असहयोगका कारण उच्च शिक्षा अध्ययनबाट बन्चित भएकी दृष्टिविहिन धनमायाँ विकलाई सहयोग जुटेपछि उच्च शिक्षा हासिल गर्न सहज भएको हो ।

जिल्लाको रघुगंगा गाउँपालिका ‐साविकको झिँ गाविस–८) स्थायी घर भई हाल बेनपा–४ राक्सेमा आफन्तको घरमा बस्दै आएकी विकको अवस्थाका बारेमा बेनीअनलाइनले समाचार सार्वजनिक गरेपछि सुरु भएको आर्थिक सहयोग अभियान अन्र्तरगत स्नातक तहसम्मको अध्ययनका लागि बेनी नगरपालिका–७ न्यूरोड निवासी समाजसेवी लिला बहादुर बानियाँले सहयोग गरेका थिए ।

उनले चारबर्षे स्नातक तहको पढाईसम्मको अध्ययनका लागी दुई लाख ४० हजार, म्याग्दी बहुमुखी क्याम्पसले पूर्ण छात्रबृत्ती, आवास सुविधा निशुल्क र बेनपा–५ पुलाचौर भिरमुनी स्थायी घर भई हाल भैरहवा बुद्धचोक बस्ने प्रेम विश्वकर्मा ५ हजार सहयोग गरेका थिए । बिहिबार म्याग्दी बहुमुखी क्याम्पसमा एक कार्यक्रमका विच विकलाई क्याम्पस प्रमुख टिकाराम सापकोटा,सहायक क्याम्पस प्रमुख श्रीधर सुबेदी र विद्यार्थीले स्वागत गरेका थिए ।

कार्यक्रममा दृष्टिविहिन विकले आफ्नो उच्च शिक्षा हासिल गर्न प्रत्यक्ष रुपमा सहयोग गर्ने दाताहरुको सहयोग सदुपयोग हुने गरी अध्ययन गर्ने प्रतिबद्धता जनाईन् । जन्मदिने आमाको दुईबर्षको उमेरमै मृत्यु भएपछि दोस्रो आमाको यातनाले घरमा फर्कने अवस्था नभएको बताईन् ।

उनले बे्रल लिपी, स्टेशनरी, अडियो पुस्तकहरू, ब्रेल पेन सहित पाठ्यक्रम खरिदमा आर्थिक सहयोगलाई प्रयोग गर्ने बताईन् । ‘मेरो दृष्टि छैन्, तर पनि सबैको सहयोगबाट संसारलाई चिन्नेछु’ उनले भनिन् ।

उनले स्नातकतहको शिक्षा सकेर आफुँ दृष्टि भएकाहरुको गुरु बन्ने आफ्नो लक्ष्य रहेको बताईन्।  सोही अवसरमा पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माले आर्थिक अवस्था कमजोर भएकै कारण म्याग्दीमा कसैले पनि समस्या खेप्नुनपरेको बताउँदै यस्तो अभियानले मानवीय सहकार्यलाई थप बलियो बनाउने बताए । त्यस्तै क्याम्पस प्रमुख टिकाराम सापकोटाले उच्च शिक्षा र आवासमा कुनै समस्या नहुने बताए ।

कार्यक्रममा दृष्टिविहिन विकको समस्या उजागर गरी आर्थिक सहयोग जुटाएका पत्रकार हरिकृष्ण गौतमले आर्थिक अभाव र निरन्तर परिवारको अवरोध भएपनि परोपकारी ब्यक्तिको आर्थिक सहयोगले म्याग्दी बहुमुखी क्याम्पससम्म आउन सफल भएको बताए । ‘मनको दृष्टिले धनमायाँको भविस्य उज्यालो हुन्छ, विद्यार्थीहरुको सहयोग पनि आवश्यकता छ’ अभियान्ता गौतमले भने ।

घरपरिवारबाट दिईने यातना सहन नसकेपछि आफन्तको खोजीमा मंगला गाउँपालिका–२ बावियाचौरमा पुगेपनि त्यहाँ समेत असहयोग भएपछि मंगला माध्यामिक विद्यालयमा कक्षा ११ र १२ पढ्न समेत आर्थिक संकट भएको अवस्थामा बेनीकै लिला बहादुर बानियाँले ६० हजार आर्थिक सहयोग गरेका थिए । जिल्लाको ग्रामिण क्षेत्रमा आर्थिक अवस्था कमजोर भएकै कारण उपचार र शिक्षाबाट बन्चित भएका अपाङ्गता भएका बालबालिका भेटिएपनि सम्बन्धित निकायको नजर पुग्न सकेको छैन् ।