आगामी मंसिर १० गते हुन गैरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीमा नेकपा एमाले र माओवादी केन्द्रले चुनाबी अभियानलाई तिब्रता दिएका छन् । यसैक्रममा बिहीबार पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा चुनावी सभा सम्पन्न भएको छ ।

सभालाई सम्बोधन गर्दै नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य तथा प्रतिनिधिसभाका उम्मेद्वार भूपेन्द्रबहादुर थापाले देशको समृद्धि, राष्ट्रियताको रक्षा र आर्थिक विकासका लागि वाम गठबन्धनलाई जिताउनुपर्ने बताए । उनले नेपाली जनताको चाहना र देशको आवश्यकता अनुसार वाम गठबन्धन भएको बताउँदै यसअघिका बामपन्थी सरकारले गरेका कामहरुलाई निरन्तरता र नयाँ कामका लागि आफूहरुलाई जिताउन आग्रह गरेका छन् ।

प्रदेश २ का उम्मेद्वार नरदेवी पुनले यसअघि सांसद र राज्यमन्त्री हुँदा आफूले सुरु गरेका विकासका कामलाई पूर्णता दिन आफूलाई जिताउन अनुरोध गरेकी छिन् । उनले जिल्लाको सडक, शिक्षा, खानेपानी, स्वास्थ्य क्षेत्रको विकासका लागि वाम गठबन्धनलाई जिताउनुपर्नेमा जोड दिइन् । माओवादी केन्द्रको प्रतिनिधिसभाका समानुपातिक उम्मेद्वार टेकबहादुर विश्वकर्माले माओवादी र एमालेको पहलमा जारी भएको संविधान कार्यान्वयनका लागि बामपन्थीको सरकार आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले देशको आर्थिक विकास र जनतालाई राहत दिन वाम तालमेल गरिएको बताउँदै जित सुनिश्चित भएको हुँदा ढुक्क भएर सुर्य र गोलाकारभित्रको हँसिया हथौडा चिह्नमा मतदान गर्न मतदातालाई आग्रह गरेका छन् । कार्यक्रम मालिका गाउँपालिका उपाध्यक्ष खरमाया बिटालुको अध्यक्षता र वडाध्यक्ष कुलबहादुर घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैगरी वाम गठबन्धको तर्फदेखि बिहीबारै रघुगंगा गााउपालिका २ र ३ नम्बर वडा राखुभगवती र पिप्लेमा पनि चुनाबी प्रचार अभियान सम्पन्न भएको छ ।

अभियानलाइ सम्बोधन गर्दै प्रदेशसभा १ का उम्मेदवार बिनोद केसीले जिल्लाको समग्र विकासका लागि वाम गठबन्धनलाई जिताउनुपर्ने आवश्यकता रहेको बताउँदै जनतालाई ढुक्कसँग वाम गठबन्धनको पक्षमा भोट हाल्न आग्रह गरेका छन् । सोही कार्यक्रममा एमाले म्याग्दीका उपाध्यक्ष देवेन्द्र केसी, सचिव बालकृष्ण सुवेदी, सचिवालय सदस्य सन्तोष रावल, दिपक बिखर्ची, एमाले नेता खिमबहादुर शाही, अर्जुन सुवेदी, माओवादी केन्द्रका नेताहरु सुवास विक, रिम कटुवाल, रविन्द्र भण्डारी लगायतले देशैभर वाम गठबन्धनको पक्षमा लहर आएको हुँदा आउँदो निर्वाचनबाट पहिलो शक्ति हुने बताएका थिए ।