अगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको चहलपहल बढेको छ । साना बालबालिका देखी बृद्धबृद्धासम्म दलका नेताहरु, उम्मेदपारको भाषन सुन्न ब्यस्त छन् । उम्मेदवारले आफ्नो योजनाहरू सुनाउँदै मतदाताको मत आर्कषित गरेका दृष्य जिल्लाका सबैजसो बस्तीहरुमा देख्न सकिन्छ ।

गाउँ देखी सहरसम्म चुनावी चहलपहलका विच म्याग्दीका केही यूवाहरु एक बालकको जीवन रक्षाको अभियानमा जुटेका छन्।बेनी नगरपालिका–९ घतानमा सामाजिक तथा खेलकुद कार्यमा लोकप्रियता कमाएको काउलेगौडा यूवा क्लवले ८ बर्षिय बालक क्रिस चोखाललाई ब्रेन ट्यूमर भएपछि उपचारमा देखिएको आर्थिक समस्यालाई समाधान गर्न घरदैलो अभियान मार्फत उपचारमा सहयोग जुटाइरहेका छन् ।

घतानका कृष्ण बहादुर चोखालका छोरा कक्षा एकमा अध्ययरत क्रिसको उपचारमा आर्थिक समस्या देखिएपछि दलगत चुनावी अभियान र ब्यक्तिगत काम समेत छोडेर आर्थिक सहयोग अभियानमा जुटेका छन्। ‘सहयोगका लागि घरदैलोमै पुगेका छौ, सानो सहयोगले पनि उनको जीवन रक्षा हुन्छ’ केवाईसीका संस्थापक अध्यक्ष तेजेन्द्र बानियाँले भने ।

उनले गलेश्वरबाट घतान गाउँसम्म ८७ हजार नौ सय २५ रुपैयाँ आर्थिक संकलन भएको बताए । पीडित बालकको काठमाण्डौ क्यान्सर सेन्टरमा मेजर अप्रेसन भइसकेको छ । करिव पाँच महिना उपचारमा आवश्यक पर्ने आर्थिक समस्या भएपछि अभियानको सुरुवात गरिएको थियो । अभियानमा आर्थिक सहयोग गर्ने सबैलाई आयोजकले धन्यवाद दिएको छ । विगतमा पनि क्लव मार्फत खेलकुद बाहेक धेरै सामाजिक कार्यहरु भएका छन् । अभियानमा जुटेका यूवाहरुले आफ्नो पहिलो प्राथमिकता क्रिसको जीवन रक्षा भएको बताउँदै स्वदेश तथा विदेशमा रहेका म्याग्देलीलाई सहयोगको अपिल समेत गरेका छन् ।