धौलागीरिका गुफामा १३ प्रजातीका चमेरा

0

धौलागिरिमा स्तनधारी पंक्षी चमेराको अध्ययन सुरु गरिएको छ । कालिगण्डकी करिडोर आसपासका क्षेत्रमा रहेका गुफामा नेपाल चमेरा अनुसन्धान तथा संरक्षण संघले चमेराको आश्रयस्थल गुफाबाट अनुसन्धान सुरु गरेको हो ।वन विज्ञान क्याम्पस पोखराका विद्यार्थी र नेपालका चमेरा विशेषज्ञ संलग्न टोलीले पर्वत, म्याग्दी र मुस्ताङमा रहेका गुफाभित्र रहेका चमेराको अवस्था, संख्या लगाएतका विषयमा अध्ययन गरेको टोलीले जनाएको छ ।

पर्वतको कुश्मा स्थित गुप्तेश्वर गुफा, ज्ञादिको अल्पेश्वर गुफा, पर्वत चुवाको लालेश्वर गुफा, पर्वत पाङ्ग खुर्कोट स्थित पार्वर्ती गुफा म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीको रानीपौवा स्थित मालुवा ओडार, मुस्ताङको विभिन्न स्थानमा चमेरा बस्ने ओडारमा अध्ययन गरिएको बन क्याम्पस पोखरामा अध्ययरत म्याग्दीका बसन्त शर्माले बताए ।

‘प्रारम्भीक अनुसन्धानमा १३ प्रजातीका चमेराहरूको रेकर्ड गरिएको छ ।गुफा चमेराका लागि महत्वपूर्ण वासस्थान हुन’ शर्माले भने ।अनुसन्धानको क्रममा एउटै गुफाभित्र ५ देखी ७ प्रकारका चमेराहरू भेटिएको उनले बताए ।ओडार र गुफा आसपासमा मानवबस्ती, सडकको विस्तार, प्राकृतिक रुपमा रहेका गुफाहरु पर्यटकीयस्थल बनाइएकाले पनि चमेराको संरक्षणमा असर गरेको अनुसन्धानकर्ताको भनाई छ ।

प्राचिनकालिन अवस्थाका गुफा, ओडारहरूलाई मानवजातीले संरक्षणभन्दा पनि दुरुपयोग गरेकाले पनि पर्यावरणमा असर गरेको नेपालका चमेरा विशेषज्ञ तथा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका जीव वैज्ञानीक डा. पुष्पराज आचार्यले बताए ।‘जैविक विविधताका हिसावले समेत गुफा क्षेत्रको संरक्षणमा सचेत हुनुपर्छ ।चिसो मौषममा गुफाभित्र अधिक संख्यामा चमेरा हुन्छन्’ आचार्यले भने ।उनले पहाडी तथा हिमाली क्षेत्रमा चिसोको समयमा पर्यटकीय तथा धार्मिक क्षेत्रका रुपमा प्रयोग गरिएका गुफाभित्र धुवाँ लगाएत धार्मिक क्रियाकलापहरुलाई कम गर्नुपर्ने बताए ।

चमेराको महत्वलाई नबुझ्नेहरूबाटै बासस्थानमा पुगेर अनावश्यक गतिविधि गर्ने गरेको बताउँदै अनुसन्धाकर्ताले बासस्थान आसपासका क्षेत्रमा रहेका स्थानीयलाई महत्वका साथै संरक्षणमा आवश्यकता पर्ने गरी जनचेतनामुलक कार्यहरू सञ्चालन गर्नुपर्ने बताएका छन् ।अनुसन्धान टोलीले पर्वतको पाङ खुर्कोटस्थित पार्वती गुफाको संरचानमाथिबाट विस्तार गरिएको मोटरबाटोमा बस, ट्रक, ट्याक्टर नियमित आवतजावत गर्ने गरेकाले गुफा भत्कने अवस्थामा पुगेको नगरपालिका र वडालाई बाटो बन्द गरी बैकल्पिक मार्ग सञ्चालनका लागि समेत सुझाव दिएका छन् ।

त्यस्तै पर्वतकै गुप्तेश्वर गुफाभित्र पुजाआजाको क्रममा धुपको प्रयोगबाट फैलिएको धुवाँले चमेराले बासस्थान नै संकटमा पर्न थालेपछि रोक लगाइएको कार्य अनुकरणीय भएको टोलीका सदस्य संजीव बानियाँले बताए। ‘गुफाभित्रको तापक्रम र आर्दताले चमेराको जीवनपद्धतीमै असर पारेको छ ।अत्याधिक मानव प्रवेशले समेत गुफा पर्यावरण विग्रिएको छ’ उनले भने । अनुसन्धान टोलीले संरक्षणका साथै जनचेतनामुलक कार्यलाई समेत आफ्नो प्राथमिकतामा राखेका छन् । केहीदशक अगाडीको तुलनामा चमेराको संख्या घट्नुमा मावतजातीको गतिविधि समेत प्रमुख कारण भएको अनुसन्धान टोलीको भनाई छ ।

मानवबस्तीको विस्तार संगै गाउँघरमा रहेका तामाखानी लगाएतका प्राचिनकालका मानवजातीकै वासस्थान समेत मानिने गुफाहरूमा चुनढुंगाको मात्रा बढी देखिन्छ । चुनढुंगा र पानी भएको स्थानमा गुफा बन्ने र अहिले विकासको नाममा गरिएका विनासले पुरिने क्रम बढेको अनुसन्धानकर्ताले बताए । अनुसन्धानकर्ताले गरेको पहिलो चरणमा धौलागिरि अञ्चलको तीन जिल्लामा मांसहारी र शाहकारी चमेराहरु फेला परेका छन् । फलफुल, किरापट्याङग्रा खाने चमेरा फेला परेका छन् ।