आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बाम तालमेल स गरेका नेकपा एमाले र माओवादी केन्द्रको रघुगंगा गाउँपालिका–१ बेगमा अगुवा कार्यकर्ता भेला शुक्रवार सम्पन्न भएको छ । बाम गठबन्धनको तर्फबाट प्रदेशसभा क्षेत्रनम्बर १ का साझा उम्मेद्वार विनोद केसीको उपस्थितिमा दुबै पार्टीका अगुवा कार्यकर्ताहरुको भेला गरिएको हो ।

सो भेलालाई सम्बोधन गर्दै प्रदेश क्षेत्र नम्बर १ का उम्मेद्वार केसीले लामो संघर्ष र जनआन्दोलनको जगबाट प्राप्त संघिय गणतन्त्र सहितको नयाँ संविधानको कार्यान्वयन गर्दै जिल्लाको आर्थिक समृद्धि र विकास निर्माणको लागि बाम गठबन्धनको पक्षमा मतदान गर्न आह्वान गर्नुभयो ।

उहाँले लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नम्बर १ मा उम्मेद्वार बनेकाले राजतन्त्र र हिन्दु राष्ट्रको नारा लिएर चुनाबमा आउनुले उनीहरु प्रतिगमनतर्फ उन्मुख भएको उल्लेख गर्दै अग्रगमनको पक्षमा बामगठबन्धनलाई मतदान गर्नुपर्ने धारणा राख्नुभयो । युवा नेता केसीले आफुले म्याग्दीबाट रोजगारिको लागि बैदेशिनुपर्ने बाध्यतालाई हटाउँदै युवाहरुलाई स्वदेशमै आत्मनिर्भरको लागि स्वरोजगारको योजनालाई कार्यान्वनय गर्ने समेत धारणा राख्नुभयो ।

कार्यक्रममा नेकपा एमाले म्याग्दीका सचिबालय सदस्य एवम युवा संघका विदेश विभाग प्रमुख सन्तोष रावलले स्थायी सरकार निर्माण गरि मुलुकलाई विकास र समृद्धिको बाटोबाट विकसित मुलुकमा रुपान्तरणको लागि बामगठबन्धनलाई अत्यधिक बहुमतले बिजयी गराउन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपका माओवादी केन्द्रका युवा नेता सुवास विक, रिम कटुवाल र नेकपा एमालेका युवा नेता दिपक कार्कीले बामपन्थीहरुको दुई तिहाई सहितको सरकार निर्माण गर्ने अभियान अन्र्तगत एमाले र माओवादीबिच पार्टी एकता गर्ने लक्ष्य सहित चुनाबी तालमेल भएको उल्लेख गर्दै स्थायी सरकार निर्माणको लागि बामपन्थीहरुको बिजयी अनिबार्य रहेकोमा जोड दिनुभयो । नेकपा एमालेका वडा अध्यक्षनरसिंह पुनको अध्यक्षता र अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य सुदिन पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।