दुर्गम क्षेत्रका विरामीलाई सम्झिएर रोए लोकप्रिय डा. मल्ल (भिडियो)

0

शुक्रबार दिउँसोको ४ बजेको समय । म्याग्दीको बेनी अस्पतालको प्राङ्गणमा डा. धिरेन्द्रकुमार मल्लको विदाइको तयारी हुँदै थियो ।

दिउँसो २ बजे कार्यक्रम गर्ने भनिए पनि झण्डै दुई घण्टापछि कार्यक्रम सुरु भयो । कार्यक्रमको सुरुवाती चरणमा अस्पतालमा सेवा प्रदान गर्न आएका नवआगन्तुक डाक्टरहरुलाई स्वागत गरियो ।अनि त्यसपछि अस्पतालको कार्यालय सहयोगी पदमा कार्यरत भीमकुमारी थापालाई पनि विदाइको अबिर, माला र खादा लगाइयो ।

अब पालो आयो डा. धिरेन्द्र मल्लको सम्मान र विदाई थाप्ने । उहाँलाई सुरुमा अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मी, जिल्ला स्वास्थ्य प्रमुख डा. रोशन न्यौपाने र निवर्तमान अध्यक्ष चन्द्रकुमार केसीले अस्पतालको तर्फदेखि सम्मानपत्र, धौलागिरि हिमालको फोटो अङ्कित म्याग्दीको चिनो, अस्पतालका अध्यक्ष माधवप्रसाद रेग्मीले कोट तथा टोपी, निवर्तमान अध्यक्ष चन्द्रकुमार केसीले उपहारलगायत प्रदान गर्नुभयो । 

यसैगरी उहाँलाई अस्पतालको इन्डोर र इमरजेन्सीमा कार्यरत स्वास्थ्यकर्मीले पनि मायाको चिनो प्रदान गरी विदाई गरे । त्यस्तै सेवाग्राही यामबहादुर कार्कीले समेत आफ्नो परिवारको उपचारमा महत्वपूर्ण सहयोग पु¥याएको भन्दै केक ल्याएर खुवाउनुभयो । त्यसपछि कार्यक्रममा सहभागी अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मी र कर्मचारीहरुको डा. मल्ललाई विदाई गर्न लर्को सुरु भयो । 

अभिनन्दन कार्यक्रम केहीबेरमा सकियो र त्यसपछि कार्यक्रम सञ्चालक भीम आचार्यले मन्तव्य राख्न डा. मल्ललाई बोलाएर माइक्रोफोन दिनुभयो । सुरुमा अलिकति सम्बोधन गर्नुभएका डा. मल्लले सम्बोधन सक्दा नसक्दै उहाँको गला अवरुद्ध भयो र बोल्नै सक्नुभएन । त्यसपछि उहाँले बोली नआएपछि छेउमा बस्नुभएको अर्को एक जनालाई माइक्रोफोन दिनुभयो ।

एकैछिन उँभिएपछि डा. मल्ल नजिकै कुर्सीमा बसेर बोल्न थाल्नुभयो तर बोली भने अन्य दिनको तुलनामा प्रष्ट बाहिर आउन सकेन । उहाँ विस्तारै रुँदै मसिनो स्वरमा बोल्न थाल्नुभयो यतिबेरसम्म सहभागी सबैका आँखा रसाइसकेका थिए ।
उहाँले विदाई मन्तव्यका क्रममा म्याग्दी जिल्लाको दुर्गम मल्कबाङ, लुलाङ जस्ता गाउँगाउँबाट बिरामीहरुले आफूलाई म गाई, गोरु र भैंसी बेचेर उपचार गर्न आउँछु भनेर भनेको सम्झनुभयो ।

तर आफूले बिरामीहरुलाई घरको केही पनि बेच्नुपर्दैन आउनुस, म निःशुल्क उपचार गरिदिन्छु भनेको बताउनुभयो । डा. मल्लले आफू म्याग्दी आउने भएपछि सुरुमा म्याग्दी कस्तो होला भनेर युट्युवमा सर्च गरेर हेरेको जानकारी समेत दिनुभयो । २०७१ साल फागुन महिनामा म्याग्दी आएपछि आफूले सबै परिस्थिति बुझेर उपचार सुरु गरेको उहाँले बताउनुभयो । त्यसक्रममा अस्पतालमा कार्यरत डा. हेमा जोसी, डा. सुधा त्रिपाठीलगायतलाई पनि सम्झिन चाहन्छु भन्नुभयो ।

उहाँ विदाई कार्यक्रममा त्यति धेरै बोल्न सक्नुभएन । लामो समय जिल्लामा बसेर सेवा गरेको हुँदा सबैको नजिक भएकाले छुट्टिएर जाँदा उहाँलाई गाह्रो भएको छ । यसरी म्याग्दीजस्तो दुर्गम क्षेत्रमा आएर पनि उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरी म्याग्देली जनताको तर्फदेखि नागरिक अभिनन्दनसहित सम्मानित भएर विदाई हुने डाक्टरहरुमध्ये डा. मल्ल पहिलो हुनुहुन्छ ।

उहाँ विदाई हुने क्रममा निकै भावुक बन्नुभयो भने अरुलाई पनि भावुक बनाइदिनुभयो । उहाँ बोल्ने क्रममा जब गला अवरुद्ध भयो त्यो यहाँ बसिन्जेल गरेको सेवाको उपलब्धि र आम म्याग्दीवासी जनताको अघाध माया हो भन्ने उहाँको मुहारमा झल्किन्थ्यो । डा. मल्ल जहाँ भए पनि म्याग्दीवासीले सँधै सम्झनेछन् र उहाँको अभाव महशुस गर्नेछन् । डा. मल्ललाई आगामी दिनमा पनि निरन्तर सफलताको शुभकामना ।