मराङमा माओबादीका गाउँ इञ्चार्ज सहित अगुवा कार्यकर्ता कांग्रेस प्रवेश

0

पश्चिम म्याग्दीमा नेपाली काँग्रेसको चुनाबी अभियान आक्रामक बनेको छ । प्रदेशसभाको निर्वाचन क्षेत्र ‘ख’ पर्ने मँगला, मालिका र धवलागिरि गाउँपालिकाका अधिकाँश वडामा काँग्रेसले आमसभा, मतदाता भेटघाट र घरदैलोलाई तीब्र बनाएको हो । शुक्रबार मराङमा आयोजित आमसभामा माओबादी केन्द्रका साविक गाविस इञ्चार्ज कृष्ण केसी सहित पुराना कम्प्युनिष्ट नेता एवँ स्थानीय तह निर्वाचनमा माओबादी केन्द्र बाट वडा अध्यक्षका उम्मेदवार बालकृष्ण सुवेदी सहित ५० भन्दा माओबादी–एमाले कार्यकर्ता काँग्रेस प्रवेश गरेका छन् ।

स्थानीय तह निर्वाचनमा सुवेदी झिनो मतान्तरले वडाअध्यक्षमा पराजित भएका थिए । केसी र सुवेदीको नेतृत्वमा काँग्रेस प्रवेश गरेका कार्यकर्ताहरुलाई प्रतिनिधीसभा सदस्यका उम्मेदवार एवं काँग्रेस सभापति खम्बीर गर्बुजा, निवर्तमान सांसद रेशम बानियाँ, प्रदेशसभा सदस्यका उम्मेदवार अमलाल फगामी, जिल्ला सदस्य केवी भण्डारी लगायतका नेताहरुले स्वागत गरेका थिए । बालकृष्ण सुवेदी मराङमा एमाले र माओबादीलाई स्थापित गर्नेहरुमा पर्छन् ।

उनको काँग्रेस प्रवेशलाई महत्वका साथ हेरिएको छ । मराङमा तुलनात्मक रुपमा कमजोर रहेको काँग्रेसमा सुवेदी र केसीको प्रवेशले उत्साह थपिएको छ । ‘म दाबाका साथ भन्छु, मराङमा सुरुमा एमाले र पछि माओबादी जन्माउने मैं हुँ’, बालकृष्ण सुवेदीले भने, ‘तर, दुबै पार्टीले देश र जनताप्रति केहि गर्न सकेनन्, अन्तिम उनीहरु चरित्र बुझे र म काँग्रेस बन्न बाध्य भएँ ।’ सुवेदी जनविकास मावि मराङको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत हुन् । चुनावी अभियानलाई आफ्नो क्षेत्र अन्र्तगतका सबै टोल र गाउँहरुमा केन्द्रित गरिएको उम्मेदवार फगामीले बताए ।

‘पश्चिम म्याग्दीका जनतालाई लिखित रुपमै प्रतिबद्धता ब्यक्त गर्न चाहन्छु । एकपटक अवसर दिनुहोस्, काम गर्न नसके मैले जनताकै माझमा माफी माग्नेछु’ फगामीले भने। उनले आफ्नो ब्यक्तिगत सम्पत्ती वा कुनै धनआर्जनका लागि नभई सिंगो पश्चिम म्याग्दीको विकासमा भूमिका खेल्ने बताए । उनले विगतमा यस क्षेत्रमा भित्रिएका बजेटहरुलाई दुरुपयोग गरिएको बताउँदै जनताको आवश्यकता भन्दा पनि ब्यक्तिको फाइदामा बजेट खर्च गरिएको आरोप समेत लगाए । आमसभामा प्रतिनिधिसभाका उम्मेदवार गर्बुजाले आफ्नो उम्मेदवारी समृद्ध म्याग्दीका लागि भएको बताए ।

उनले जिल्लाबासीको हितमा आवश्यकता अनुसारका योजनाहरु ल्याउने बताउँदै एकपटक जनताको सेवा गर्ने अवसर दिन मराङबासीलाई अनुरोध गरेका थिए । ‘तपाईहरु गाउँमा आउने बाटोको अवस्था हेर्नुहोस्, हामीले जनप्रतिनिधिको हैसियतबाट प्राप्त हुने सेवालाई जनताको हितमै खर्च गर्ने प्रतिबद्धता जनाइरहेका छौ, त्यसलाई कोष स्थापना गरी स्वदेश तथा विदेशमा रहेका म्याग्देलीहरुबाट समेत आर्थिक जुटाएर खर्च गर्नेछौ’ उनले भने । आमसभामा आसपकास क्षेत्रका शुभचिन्तक सहितको उपस्थिती रहेको थियो ।