विरेन्द्रचोकबासीले विदाई गरे लोकप्रिय डा. मल्ललाई (फोटो फिचर)

0

बेनी नगरपालिका–७ विरेन्द्रचोकी रुपदेवी खत्री बेनी अस्पतालमै उपचार गराउँछिन् । दुईबर्ष अगाडीसम्म पोखरा र काठमाण्डौमा उपचारको खोजीमा जाने खत्रीले जिल्लामै अनुभवी डाक्टर आएको जानकारी पाएपछि बेनीमै उपचार गर्ने गरेको बताईन् ।

तीनबर्ष अगाडी म्याग्दीमा आएका डा. धिरेन्द्रकुमार मल्ल विदाई भएर जान लागेको जानकारी पाएपछि आइतबार विरेन्द्रचोक टोल सुधार समितिले आयोजना गरेको सम्मान तथा विदाई कार्यक्रममा खत्रीले पुनः जिल्लामै आउन अनुरोध गदैं समितिको लगानीमा निर्मित खानेपानीको धाराबाट पानी समेत खुवाईन् ।

‘अव पनि उहाँ जस्तै डाक्टर चाहिन्छ, म जस्ता धेरैले सहज उपचार पाए’ खत्रीले भनिन् । सम्मान तथा विदाई कार्यक्रममा टोल सुधार समितिका अध्यक्ष दलप्रसाद श्रेष्ठले समेत आफुँले पोखरामा उपचार गर्ने गरेको भएपनि डा. मल्ल आएको जानकारी पाएपछि उहाँबाटै नियमित उपचार गर्ने गरेको बताए ।‘उहाँले सल्लाह दिए पोखरा गएको छु, नत्र दुईबर्ष देखी पोखरामा हुने उपचार बेनीमै पाए’ श्रेष्ठले भने । टोलसुधार समितिमा आवद्ध धेरैले डा. मल्लको सेवाभावबाट प्रभावित भएको बताएका थिए ।

अस्पतालमा आफ्नो डिउटी बाहेक पनि नियमित उपचारमा सक्रियता देखाउने, टेलिफोनबाट समेत सल्लाह दिने गरेको बताउँदै विरामीमैत्री डाक्टर जिल्लाबाट जाँदा दुख लागेको बताए । सम्मान कार्यक्रममा अबिर, माला र खादा र मायाँको चिनो दिएर विदाई गरिएको थियो । सोही अवसरमा डा. मल्लले आफुँले भौतिक रुपमा जिल्ला छोडेर बाहिर जान लागेपनि हरेक समय विरामीको सेवामा सर्मपित हुने बताए । ‘केही समस्या भएमा खवर गर्नुहोला, सकेको फोनबाटै सेवा दिनेछु’ उनले भने ।

जिल्लाका दुर्गम क्षेत्रबाट समेत विरामीले फोन गरेपछि समय समयमा फोन गर्न अनुरोध गरेको बताउँदै अहिलेसम्म कार्यरत जिल्लाहरुमा म्याग्दी जिल्लाबाट धेरै सिक्ने अवसर पाएको बताए । उनले स्वास्थ्य क्षेत्रमा ब्यक्तिगत तथा संस्थागत सहयोग लगाएत समुदायको सक्रियताबाट उत्साहित भएको बतायउँदै आगामी दिनमा पनि जिल्लामा हुने शिविर लगाएतका स्वास्थ्य सम्बन्धि कार्यक्रममा आउने प्रतिबद्धता जनाए । निक साईमन्स ईन्स्टिच्युट संगको सम्झौता सकिएपछि जिल्लाबाट बाहिरिएका डा. मल्लले आफ्नो स्थानमा आएका नवराज वस्ताकोटी समेत आफुँजस्तै अनुभवी भएको बताए ।

अस्पतालबाट विदाई भएलगत्तै एकजना महिलाको शल्यक्रिया गरेका थिए । डा. मल्लले पाठेघर बाहिर जन्मिएको बच्चा,चक्कु प्रहारबाट फोक्सोमा रगत र हावा जमेर गम्भीर घाईते, एपेन्डिस फुटेको, पाठेघरको टुयूमर, फोक्सोमा समस्या, पिसालको थैलीमा ढुंगा,हड्डी, नसा चुडिएका, हर्निया, हाईड्रोसिल लगाएतका बिरामीको जिल्लामै निशुल्क उपचार गरेका थिए । जिल्ला बाहिर करिव १ लाखसम्म खर्च हुने रोगको उपचार जिल्ला अस्पतालमै गरेपछि लोकप्रियता कमाएका थिए । उनले तीनबर्षमा १ सय ७९ अप्रेसनको माध्यमबाट बच्चा निकालेका छन् भने करिव ७ वटा चिकित्सा क्षेत्रमै दुर्लभ मानिएका अप्रेसन र धेरै माईनर अप्रेसनहरु गरेका थिए ।