गाउँ बस्तीमा चुनाबको रौनक बढेको छ । उम्मेदवारहरु घरदैलोमा पुग्दा मतदाता पनि उत्साहित बनेका छन् । तर, कसरी मतदान गर्ने ? मतपत्र कस्तो हुने ? पहिलो हुने र समानुपातिक निर्वाचनमा कसरी मत दिने ? जस्ता प्राविधिक कुराका विषयमा पर्याप्त जानकारी नहुँदा मतदाताहरुमा उत्साहसँगै अन्र्योलता पनि देखिएको छ ।

मंसिर १० हुने पहिलो चरणको प्रतिनिधीसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएपनि म्याग्दीका गाउँमा मतदाता शिक्षा पुग्न नसकेपछि मतदाताहरुमा अन्र्योलता सिर्जना भएको हो । मतदाता शिक्षाको अभावमा कसरी मतदान गर्ने भन्नेमा उनीहरु अन्र्योलमा परेका छन् ।

म्याग्दीको दुर्गम मराङकी ७६ बर्षीय मिनकुमारी गर्बुजालाई दिनहुँ नेताहरु भोट माग्न आएपनि कसरी मतदान गर्ने भन्ने विषयमा आफुलाई थाहा नभएको बताइन् । ‘केहि पनि थाहा छैन । दुईवटा मतपत्र हुन्छ भन्छन्’, उनले भनिन्, ‘कसैले पनि सिकाउन आएका छैनन् ।’ गुर्बजामात्र होइन मतदानबारे अधिकाँश मतदाता यस्तै द्धिविधामा छन् । मराङकै छिमा पुनले गाउँमा निर्वाचनको चर्चा सुरुभएपनि मतदानबारे कुनै जानकारी नभएको बताइन् ।

‘यसभन्दा अघि स्थानीय तहको निर्वाचनमा पनि मत हालेकै हो’, उनले भनिन्, ‘त्यसैको आधारमा हाल्न त खाशै समस्या हुदैन होला ।’ गाउँकै अगुवा मतदाता बालकृष्ण सुवेदीले गाउँमा थुप्रै निरक्षर मतदाता रहेकाले मत बदर हुने संभावना बढी रहेका कारण मतदानबारे मतदाता शिक्षा आवश्यक भएपनि अझैसम्म मतदाता स्वयमसेवक गाउँमा नआएको बताए । ‘अहिलेसम्म मतदाता शिक्षा स्यमसेवक आउनुभएको छैन ।

यो स्थितिले धेरै मत बदर हुने डर भयो’, उनले भने । जिल्ला निर्वाचन कार्यालय म्याग्दीका अनुसार, प्रतिनिधीसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा ७५ हजार ५३८ जना मतदाता रहेका छन् । वैशाख ३१ गते सम्पन्न निर्वाचनमा पूर्णतर्फ २० प्रतिशतसम्म मत बदर भएको थियो भने आंशिकतर्फ २ हजारसम्म मत बदर भएको तथ्यांक छ । जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले मतपत्रकै अन्र्योलताका कारण केन्द्रबाटै कार्यक्रम आउन ढिला भएको बताए। उनले छोटो समयभित्र कार्यालयले जिल्लाभर मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाइने जानकारी दिए ।

‘मतदाता शिक्षाबारे हामी पूर्ण रुपमा सचेत छौँ । मतपत्रबारे अदालतमै विभिन्न किसिमले मुद्दा परेपछि यसको कार्यक्रम सञ्चालन गर्न ढिला भएको हो’, उनले भने, ‘अब एउटा किसिमको निर्णय भइसकेको छ, छिट्टै यो कार्यक्रमलाई प्रभावकारी ढँगले अघि बढाउनेछौँ ।’७२ मतदानस्थल र १०६ मतदान केन्द्र रहने जिल्लामा सामाजिक परिचालक, महिला स्वास्थ्य स्वयमसेवक र सामुदायिक विद्यालयका शिक्षकहरुलाई मतदाता स्वयमसेवकको रुपमा परिचालन गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।गोपाल छन्त्याल