बेनी नगरपालिका २ ज्यामरुककोट भकुण्डेमा लोकतान्त्रिक गठबन्धन म्याग्दी क्षेत्र ‘क’ को चुनावी सभा आइतवार सम्पन्न भएको छ । चुनावी सभामा बोल्दै लोकतान्त्रिक गठबन्धन (कांग्रेस÷राप्रपा)का प्रदेश सभा ‘क’ का साझा उम्मेदवार भीमप्रसाद गौचनले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजय भए सबै सेवासुविधालाई जनताको प्रत्यक्ष निगरानीमा हुने गरी कोषको स्थापना गर्ने घोषणा गर्दा विपत्तीको सातो गएको बताएका छन् ।

उनले राज्यको सुविधालाई समेत जनताको आवश्यकतामा प्रयोग गर्ने घोषणालाई लिखित प्रतिबद्धता गर्न समेत लोकतान्त्रिक गठबन्धन तयार रहेको बताउँदै स्वार्थलाई त्यागेर चुनावी मैदानमा उत्रिएको बताए ।‘जनताको भोटको हामीले सम्मान गरेका छौ, चुनाव हामीले जित्यौ, जनताको काम पनि हामीले नै हो गर्ने’ गौचनले भने ।

उनले राष्ट्र र राष्ट्रियता नै संकटमा परेको अवस्थामा लोकतान्त्रिक शक्ति एकतावद्ध भई वामपन्थीहरुसंग चुनावी प्रतिष्पर्धामा उत्रेको बताउँदै राष्टियता,जनजीविका, विकास र समृद्धिका लागि लोकतान्त्रिक समूहलाई मतदिई विजयी बनाउन आग्रह गरे । जिल्लाको विकास र जनताको जीवनस्तर उठाउनु बाहेक आफ्नो अर्को कुनै स्वार्थ नभएको बताउँदै पूर्व राज्यमन्त्री समेत रहेका गौचनले भने–‘मेरो सपना भनेको सम्पन्न र विकसित म्याग्दी हो, मैले विगतमा गर्न वाँकी रहेका विकासका कामहरु गर्नका लागि नै म उम्मेदवार बनेको हुँ, म विजयी भए वाचुन्जेलसम्म जनताको काम र जिल्लाको विकासमा समर्पित रहने छु।’

उनले आफुँहरुले सेवासुविधा समेत जनताको प्रयोगमा ल्याउने घोषणा गर्दा विपक्षीहरुको सातो गएको बताए ।त्यसैगरी नेपाली कांग्रेस म्याग्दीका सचिव क्या.मीनवहादुर कार्कीले कम्युनिष्टहरुको अधिनायकवादका विरुद्धमा लोकतान्त्रिक गठवन्धनको विकल्प नरहेको बताउँदै जिल्लाको विकास र जनताको हितका लागि लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरुलाई मत दिई विजयी बनाउन आग्रह गरे ।

कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले पनि लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आग्रह गरिन् । उनले बेनी नगरपालिकाबाट समेत जनतालाई आवश्यकता परेको क्षेत्रमै बजेट केन्द्रित गरेको बताउँदै नगरक्षेत्रमा समेत लोकतान्त्रिक गठबन्धनबाट विजय भए योजनाहरुलाई भित्राउन सहज हुने बताईन् ।

सोही अवसरमा बेनपा २ तल्लो भेग र उपल्लोभेगमा २५÷२५ सदस्यीय लोकतान्त्रिक गठबन्धन चुनाव प्रचारप्रसार समिति गठन भएको छ । उपल्लो भेगमा म्याग्दी कांग्रेसका वडा सचिव यामवहादुर कार्की संयोजक र राप्रपाका प्रवक्ता हरिप्रसाद शर्मा सहसंयोजक रहेका छन् भने तल्लो भेगमा नेपाली कांग्रेसका प्रताप मल्ल संयोजक र राप्रपाका चन्द्रबहादुर कँुवर सहसंयोजक रहेका छन् ।

कार्यक्रम नेपाली कांग्रेस वडा नं २ का सभापति क्षेत्रवहादुर थापाको अध्यक्षता,राप्रपाका प्रवक्ता हरिप्रसाद शर्माको स्वागत र ज्यामरुककोट कांग्रेसका सचिव यामवहादुर बानियाँको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा ज्यामरुककोट क्षेत्रका सयौं मतदाताहरुको सहभागिता रहेको जनाइएको छ ।ज्यामरुककोटको कार्यक्रम समापन पछि बेनपा १ अर्जममा पनि लोकतान्त्रिक गठवन्धनको कार्यकर्ता भेटघाट एवम् चुनाव प्रचारप्रसार कार्यक्रम सम्पन्न भएको छ ।