नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त (लोकतान्त्रिक) गठबन्धनले मालिका गाउँपालिकाको देविस्थान मगरदाङमा चुनावी सभा तथा प्रचारप्रसार कार्यक्रम सम्पन्न भएको छ । लोकतान्त्रिक गठवन्धनको तर्फबाट प्रतिनिधि सभाका लागि संयुक्त उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्वुजा (खमवीर)ले विकास निर्माणमा गरिएको पक्षपातले दुर्गम क्षेत्र उपेक्षामा परेको बताएका छन् ।

देविस्थानमा आयोजित आमसभालाई सम्बोधन गदैं गर्बुजाले पश्चिम म्याग्दीको भविस्यका लागि आफुँहरुसंग प्रष्ट योजना भएको बताए । ‘मैले जनतालाई आश्वासन दिएको छैन, काम गरेर देखाउने छु’ गर्बुजाले भने । उनले म्याग्दी जिल्लाका लागि सरकारी बजेट बाहेक पनि आफुँसंग अन्य क्षेत्रबाट समेत जनताको आवश्यकता अनुसारको योजना ल्याउने भिजन भएको बताउँदै सांसदमा उपस्थितीका लागि मात्रै चुनावी मैदानमा नआएको समेत दावी गरे ।

‘विपक्षीले जनताको अपमान हुने भाषण गदैं हिडेका छन्, पश्चिम म्याग्दीमा आएको बजेट कहाँ र कस्तो ठाउँमा खर्च भएको छ’ उनले भने । इतिहाँसको हरेक कालखण्डमा परिवर्तनको नेतृत्व गरेको नेपाली कांग्रेसलाई संविधान कार्यान्वयन गर्ने र समृद्धिको सपना साकार पार्ने यो अभियानमा पनि साथ दिन अनुरोध गर्दै लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई भोट दिई विजयी बनाउन गरे । आफूले भाषण,तर्क वितर्क,गाली गर्न र झुटा आश्वासन बाढ्न नजान्ने बताउँदै उम्मेदवार गर्वुजाले जनताको विश्वास र काम प्रतिको आफ्नो लगनशीलता नै मेरो सबैभन्दा ठूलो सम्पत्ति भएको बताए ।

जनता लोकतान्त्रिक गठवन्धनको पक्षमा रहेका र प्रतिनिधि सभाका लागि आफूलाई मत दिई विजयी बनाउने कुरामा आफू ढुक्क भएको बताउँदै उम्मेदवार गर्वुजाले आफू विजयी भएमा विकास निर्माण,समृद्धिका साथै गरिब,दलित,जनजाति,पछाडी पारिएका व्यक्तिहरुलाई न्याय दिलाउँदै अशिक्षा र रोगरुपी शत्रुवाट छुटकारा दिलाउन विपन्न वर्गका लागि अक्षयकोषको स्थापना गर्ने समेत दोहोराए ।

सोही कार्यक्रममा लोकतान्त्रिक गठवन्धन प्रदेश सभा (ख)मा उम्मेदवार क्या. अमलाल फगामीले पश्चिम म्याग्दीलाई उज्यालो तर्फ अगाडी बढाउने योजना सहित मैदानमा उत्रिएको बताए । उनले आफुँहरुले भाषण भन्दा पनि काम गरेर देखाउने भन्दै विजयी भएमा आफूले पाउने पारिश्रमिक विद्यालयमा अभाव रहेको दरबन्दी, गरिवीका कारण शिक्षाबाट बन्चित भएका साथै दुर्गम क्षेत्रका जनताको हितमा खर्च गर्ने बताए । उनले मंगला, मालिका र धौलागिरि गाउँपालिकाका जनताले विगतभन्दा धेरै परिवर्तन चाहेकाले आफ्नो जीत सुनिश्चित रहेको बताए ।

नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार विमला गौचन,नेपाली कांग्रेस जिल्ला कार्य समितिका सदस्यहरु केवि भण्डारी,ओम छन्त्याल,अजयमिलन श्रेष्ठ,मनकुमारी विक,राप्रपाका सहसचिव योगेन्द्र शेरचन,महाधिवेशन प्रतिनिधि भरत रकाल,मालिका गाउँपालिकाका प्रमुख श्रीप्रसाद रोका,स्थानीय युवा दुर्गा बूढाथोकी लगाएतले लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन आग्रह गर्नुभएको थियो ।कार्याक्रम नेपाली कांग्रेस देविस्थानका इकाइ उपसभापति भक घर्तीको अध्यक्षता, रेकवहादुर पुनको स्वागत र सन्दिप घर्तीमिरेको संचालनमा सम्पन्न भएको थियो ।