लोकतान्त्रिक गठबन्धनको रत्नेचौरको लामगरामा चुनावी सभा

0

बेनी नगरपालिका १ रत्नेचौरको लामगरामा लोकतान्त्रिक गठबन्धन म्याग्दी क्षेत्र ‘क’ को चुनावी सभा सोमवार सम्पन्न भएको छ । चुनावी सभामा बोल्दै लोकतान्त्रिक गठबन्धन (कांग्रेस÷राप्रपा)का प्रदेश सभा ‘क’ का साझा उम्मेदवार भीमप्रसाद गौचनले आर्थिक समृद्धि र विकासका साथै मुलुकमा अहिले संविधानको पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता पनि रहेको र लोकतान्त्रिक शक्तिहरुको वहुमत आएमा मात्र मुलुकले निकास पाउने भएकाले लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरुलाई भोट दिई विजयी बनाउन आग्रह गर्नुभयो ।

राष्ट्र र राष्ट्रियता नै संकटमा परेको अवस्थामा लोकतान्त्रिक शक्ति एकतावद्ध भई वामपन्थीहरुसंग चुनावी प्रतिष्पर्धामा उत्रेको बताउँदै उम्मेदवार गौचनले ७७ वर्षको उमेर भएपनि आफू राजनीतिबाट नथाकेको र अझै जिल्लाको विकासका लागि मरिमेट्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

जिल्लाको विकास र जनताको जीवनस्तर उठाउनु बाहेक आफ्नो अर्को कुनै स्वार्थ नभएको दोहोराउँदै पूर्व राज्यमन्त्री समेत रहेका गौचनले भन्नुभयो–‘इतिहाँसको एक कालखण्डमा तत्कालिन अवस्था अनुसार गरिएका राम्रा÷नराम्रा कामहरुलाई विर्सिदिनुहोस्,म्याग्दी जिल्लाको विकासको मार्गचित्र कोर्ने व्यक्ति कोहो ? सम्झनुहोस् र त्यो मार्गचित्र कोर्ने व्यक्ति र उसको गठवन्धनका उम्मेदवारलाई मतदान गरी समृद्ध म्याग्दी र सम्पन्न म्याग्देली बनाउने अभियानमा सघाउनुहोस् ।’

त्यसैगरी नेपाली कांग्रेस म्याग्दीका सचिव क्या.मीनवहादुर कार्कीले लोकतान्त्रिक गठबन्धनको आवश्यकता र औचित्यवारे बोल्दै कम्युनिष्टहरुको अधिनायकवादका विरुद्धमा लोकतान्त्रिक गठवन्धन आवश्यक परेको बताउनुभयो । राजनीतिक परिवर्तन पछि अव आर्थिक विकासको पालो आएको बताउँदै सचिव कार्कीले राणाशासनदेखि गणतन्त्र र संविधान निर्माणजस्ता युगीन महत्वका परिवर्तनहरु कांग्रेसको नेतृत्वमा प्राप्त भएकाहुन् भन्नुभयो ।

मुलुकलाई कम्युनिष्टहरुको अधिनायकबादबाट मुक्त गर्न लोकतान्त्रिक शक्तिहरुको विजय आवश्यक भएकोले लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरुलाई मत दिई विजयी बनाउन आग्रह गर्नुभयो ।  कार्यक्रममा राप्रपाका पूर्व जिल्ला अध्यक्ष एकेन्द्रवहादुर रावल र नेपाली कांग्रेसकी महिला नेतृ मनकुमारी विश्वकर्माले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रम नेपाली कांग्रेस वडा नं १ का गाउँ कार्यसमितिका सचिव कमल थापाको अध्यक्षता,जागृति आमासमूह लामागराकी सल्लाहाकार पार्वती शर्माको स्वागत र तरुण दल म्याग्दीका सदस्य महेन्द्र बोगटीको संचालनमा सम्पन्न भएको थियो ।