रुममा पुगेर खम्बीर गर्बुजाले भने,‘दुर्गम क्षेत्रका जनताको आवश्यकता पुरा गर्नेछु’

0

नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त (लोकतान्त्रिक) गठबन्धनले मालिका गाउँपालिका वडा नं २ रुममा सोमवार चुनावी सभा तथा प्रचारप्रसार कार्यक्रम सम्पन्न गरेको छ । लोकतान्त्रिक गठवन्धनको तर्फबाट प्रतिनिधि सभाका लागि संयुक्त उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्वुजा (खमवीर)ले आफूलाई विदेशी सुखसयल र सम्पत्ति भन्दा आफू जन्मे हुर्केको माटो नै प्यारो भएकोले जिल्लामा फर्किएर राजनीतिमा लागेको बताउँदै जिल्लाको विकास र जनताको अनुहारमा खुसी ल्याउने खालका काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कसैको विरोध गरेर अरुलाई नराम्रो भन्नुभन्दा पनि आफ्नै इमानलाई साक्षी राखेर जनहित र विकासका कामहरु गरेर मन जित्नुपर्छ भन्दै उम्मेदवार गर्वुजाले म्याग्देली जनताले देखाएको सदाशयता र अपनत्वको क्रृण तिर्न आफू निर्वाचित भएपछि विकास र समृद्धिका योजनाहरु दुर्गम गाउँका विकट वस्तीवस्तीमा पुराउने बताउनुभयो ।

लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई भोट दिई विजयी बनाउन आग्रह गर्दै उम्मेदवार गर्वुजाले भन्नुभयो ‘म भाषण गरेर तालि खाने मान्छे होइन,भाषण गर्न जान्दिन,काम गर्न जानेको छु,जिल्ला र जनताका लागि काम गरेर देखाउँछु ।’

‘पटकपटक कम्युनिष्टका प्रतिनिधिहरुले जितेको जिल्लामा विकास निर्माण र जनताको अवस्था कस्तो भयो आँफै मूल्याङ्कन गर्नुहोस् र आफू र आफ्ना सन्ततीको सुखद भविष्यको लागि पनि एक पटक नेपाली कांग्रेस सहितको लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई भोट दिई जिताउनुहोस् ’ उम्मेदवार गर्वुजाले भन्नुभयो जनता लोकतान्त्रिक गठवन्धनको पक्षमा रहेका र प्रतिनिधि सभाका लागि आफूलाई मत दिई विजयी बनाउने कुरामा आफू ढुक्क भएको बताउँदै उम्मेदवार गर्वुजाले आफू विजयी भएमा रुम गाउँको विकासमा बाधक वनेको सडक,विद्युत र विद्यालयहरुमा दरवन्दी अभावको समस्यालाई समाधान गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।

सोही कार्यक्रममा लोकतान्त्रिक गठवन्धन प्रदेश सभा (ख)मा उम्मेदवार क्या. अमलाल फगामी, नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार विमला गौचन,नेपाली कांग्रेस जिल्ला कार्य समितिका सदस्यहरु अजयमिलन श्रेष्ठ, मालिका गाउँपालिकाका प्रमुख श्रीप्रसाद रोका,रेकवहादुर पुन,चमु पुन लगाएतले लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन आग्रह गर्नुभएको थियो ।नेपाली कांग्रेस रुमका गाउँ इकाइ सभापति भीमवहादुर पुनको अध्यक्षता, सपना रोकाको स्वागत र तारावहादुर रोकाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।