व्यक्तिगत सुरक्षाका लागि राखिएको हतियार बुझाउन सुरक्षा निकायले गरेको आग्रह गरेपनि अहिलेसम्म अधिकाँशले हतियार बुझाएका छैनन् । निर्वाचनमा सुरक्षा थ्रेट हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय म्याग्दीले कात्तिक ८ गते सार्वजनीक सूचना जारी गर्दै हतियार बुझाउन सर्वसाधारणमा अनुरोध गरेको थियो । प्रशासनले कात्तिक १५ गतेभित्र नजिकको प्रहरी ईकाई मार्फत हतियार बुझाउन आग्रह गरेपनी अहिलेसम्म १२ जनाले १३ थान मात्रै हतियार बुझाएको प्रहरी नायब उपरिक्षक बसुन्धरा खड्काले बताइन् ।

प्रशासनबाट कानुन बमोजिम अनुमती लिएर म्याग्दीका ८६ जनाले व्यक्तिगत सुरक्षाका लागि हतियार राखेका छन् । अधिकांशसंग टुभेल्वर बन्दुक छ । ‘हामीले तोकेको समयभित्र एकदमै कम हतियार आएको छ । हामीले हतियारधनीलाई यसबारे सचेत गराएका छौँ’, उनले भनिन् । हतियारधनीको ठेगाना र सम्पर्क नम्बर अध्यावधिक नहुँदा समन्वयमा समस्या भइरहेको प्रहरीले जनाएको छ । ‘निर्वाचनपछि त्यो हतियार सम्बन्धित धनीलाई नै दिने हो ।

जिल्लामा दर्ता भएका हतियारका धनी जिल्ला बाहिर भए सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा बुझाए पनि हुन्छ, तर त्यसको प्रमाण हामीलाई चाहिन्छ’ प्रनाउ खड्काले भनिन् । विप्लब नेतृत्व माओबादीको प्रभावक्षेत्र मानिने म्याग्दीमा प्रहरीले निर्वाचनमा यस्ता हतियार प्रयोग हुनसक्ने आंकलन गरेको छ । ७२ मतदानकेन्द्र मध्ये २२ केन्द्र अतिसंवेदनशील रहेको जिल्लामा प्रत्येक स्थानीय तहमा दुईवटा अस्थायी क्याम्प राख्ने तयारी भएको छ ।

६ स्थानीय तहका लागि १२ अस्थायी क्याम्पका लागि सुरक्षा निकायले गृहकार्य गरिरहेको छ । क्याम्पमा सशस्त्र प्रहरीसँगै म्यादी प्रहरी खटिनेछन् । ‘३८ मतदानकेन्द्र संवेदनशील र १२ केन्द्रलाई सुरक्षाको दृष्टिकोणले सामान्य भनेका छौँ । हामीले त्यही अनुसार सुरक्षाकर्मी परिचालन गर्नेछौँ’, प्रनाउ खड्काले भनिन् । प्रशासनले निर्वाचन अवधिभर कुनै पनि प्रकारको हात हतियार, बिस्फोटक पदार्थ वा बिषालु पदार्थ, लाठी भाला, खुकुरी जस्ता हात हतियार लिएर हिडडुल गर्न गराउन वा प्रर्दशन गर्न निषेध गरेको जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधीसभा सदस्यतर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा ७५ हजार ५३८ मतदाता छन् ।