मंसिर १० मा हुने निर्वाचनको प्रदेशसभा सदस्य क्षेत्र नम्बर १ का उम्मेदवार भिमप्रसाद गौचनले रावणको जन्मभूमि पुलाआश्रम सहितको धार्मिक क्षेत्रका विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।

विश्वका ठुला र महत्वपूर्ण धार्मिकस्थलको रुपमा चिनिएको पुलाआश्रमलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा प्रचारप्रसारका साथै आश्रम आसपासका क्षेत्रमै पूर्वाधार विस्तार गरिने पुलाचौरबासीलाई प्रतिबद्धता जनाएका छन् । ‘हाम्रो पार्टीले हिन्दुराज्यको स्थापनालाई मुद्धा बनाएका छौ, हिन्दु धर्मालम्बीहरुको एउटा पवित्र गन्तब्य पनि पुलाचौर नै हो’ गौचनले भने ।

बुधबार पुलाचौरमा आयोजित लोकतान्त्रिक गठबन्धनको चुनाबीसभालाई सम्बोधन गर्दै गौचनले लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा, प्रदेशसभाका दुवै उम्मेदवारले राज्यले उपलब्ध गराउने तलबभत्तालाई समेत म्याग्देलीको हितमा अक्षय कोषको स्थापना गर्ने घोषणा गरिसकेको बताउँदै शिक्षा, स्वास्थ्य कोष संगै धार्मिक क्षेत्रको विकास र पूर्वाधार विस्तारका लागि समेत कोषको स्थापना गरी जिल्लाभर रहेका साना र ठुला मन्दिरहरुको पुननिर्माण सहितको अभियान सञ्चालन गरिने बताए ।

‘हामीले जनताको माझमा परेको प्रतिबद्धता पुरा गर्नेछौ, पुलाआश्रमको प्रचारप्रसारले पनि म्याग्दीको पर्यटनका कोशेढुंगा सावित हुनेछ’ गौचनले भने । मन्तब्यको क्रममा गौचनले आफुले राज्यमन्त्री हुँदा काकाकुल पुलाचौर, डडुवा र घतानबासीले खानेपानी योजना ल्याएको दाबी गर्दै पुल पुलेसा, गोरेटो बाटो लगायतका क्षेत्रमा आफुले महत्वपूर्ण काम गरेको बताए ।

उनले प्रतिनिधिसभा सदस्य उम्मेदवार खम्वीर गर्बुजाको प्राथमिकतामा परेजस्तै पुलाआश्रम,जगन्नाथ मन्दिर लगाएत जिल्लाका सबैजसो धार्मिकस्थलहरुको योजनालाई समेत केन्द्रित गरिने बताए । लंकाको राजा रावणको जन्मस्थानको बारेमा मात्रै प्रचारप्रसार गर्न सकेमा नेपालमै धेरै धार्मिक पर्यटन भित्राउने जिल्लामा पर्ने बताउँदै दक्षिण भारत र श्रीलकामा रहेका हिन्दु धर्मालम्बीहरुलाई यहाँ ल्याउन राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा समेत विभिन्न कार्यक्रम गरिने उम्मेदवारले प्रतिबद्धता जनाएका थिए । पौलस्त्य आश्रम क्षेत्रको वर्णन श्रीमद्भागवत,मत्स्य पुराण लगाएतका ग्रन्थहरुमा समेत उल्लेख छ ।

आश्रम आसपासका क्षेत्रमा सर्यौबर्ष पुराना तपस्यास्थल, रावणाको नावी गाडिएको र पौलस्य ऋषिको तपस्यास्थल लगाएतका स्थानहरूका बारेमा स्थानीय मतदाताले देखाएको चासोलाई सम्बोधन गरिने बताउँदै समृद्ध जिल्ला बनाउने अभियानलाई कसैले रोक्न नसक्ने उम्मेदवारको भनाई थियो । आमसभामा बेनी नगरपालिकाले प्रस्ताव गरेको रामायण पार्क बनाउने क्रममा पुलाआश्रमलाई ओझेलमा पर्न नदिने प्रतिबद्धता प्रतिनिधिसभा सदस्यका उम्मेदवार गर्बुजाले गरेका थिए । उनले पुलाचौरका मतदाताले दिएको ज्ञापन पत्र बुझ्दै निर्वाचन लगत्तै योजनालाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।