म्याग्दीका गाउँगाउँमा चुनावी सभा : आश्वासन बाँढ्दै उम्मेदवारहरु

0
260

नेपालको इतिहाँसमा नै पहिलो पटक हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनको माहोलले गाउँवस्तीहरुमा नयाँ रौनक थपिएको छ । नेपालका ३२ जिल्लाहरुमा पहिलो चरणमा आगामी मंसिर १० गते हुने निर्वाचन नजिकिदै गर्दा म्याग्दीका उम्मेदवार र राजनीतिक दलका नेता÷कार्यकर्ताहरु पनि चुनावी प्रचारका लागि गाउँगाउँमा पसेका छन् ।

वर्खेवाली थन्काउने र हिउँदे वाली लगाउने चटारोले वेफुर्सदिला बनेका ग्रामिण भेगका जनता उम्मेदवारहरुका कुरा सुन्न चुनावी सभाहरुमा आउन नभ्याएपछि कतिपय उम्मेदवारहरु जनताका खेत खेतमा समेत पुगेर आश्वासन बाँढीरहेका छन् । आँफू विजयी भएपछि गर्ने कामहरुका वारेमा योजनाहरु सुनाउँदै मत मागिरहेका छन् । प्रतिनिधि र प्रदेश सभामा गरी १३ जना उम्मेदवारहरु म्याग्दीको चुनावी मैदानमा उत्रिएका भएपनि वाम र लोकतान्त्रिक गरी दुई गठवन्धनका ६ जना उम्मेदवारहरुको बिचमा नै कडा प्रतिष्पर्धा हुने भएको छ ।

नेकपा एमाले र माओवादी (केन्द्र) संलग्न वाम गठवन्धनको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार वनेका नेकपा एमालेका वैकल्पिक पोलिटव्यूरो सदस्य भुपेन्द्रवहादुर थापा र नेपाली कांग्रेस,राप्रपाको लोकतान्त्रिक गठवन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेस म्याग्दीका सभापति खमवीर गर्वुजाको विचमा कडा प्रतिष्पर्धा हुने निश्चित भएको छ ।

त्यसैगरी प्रदेश सभा (क)मा वाम गठवन्धनको तर्फबाट उम्मेदवार बनेका विनोद केसी र प्रजातान्त्रिक गठवन्धनको तर्फबाट उम्मेदवार बनेका भीमप्रसाद गौचन विचको चुनावी प्रतिष्पर्धा पनि अत्यन्त रोचक हुने देखिएको छ । नाति र हजुरबुवा पुस्ताका यी दुई उम्मेदवाहरुको प्रतिष्पर्धालाई म्याग्देलीहरुले निकै कौतुहलताका साथ प्रतिक्षा गरिरहेका छन् । उता क्षेत्र (ख)मा वाम गठवन्धनको तर्फबाट चर्चित नेतृ नरदेवि पुन र लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका क्या. अमलाल फगामीको बिचमा पनि राम्रै प्रतिष्पर्धा हुने संकेत देखिएको छ ।

चुनावी प्रचारप्रसारमा व्यस्त दुई गठवन्धनका उम्मेदवार र तिनका नेताहरुले जिल्लाका विभिन्न गाउँहरुमा प्रचारप्रसार कार्यक्रम सम्पन्न गरिसकेका छन् । सुरुसुरुमा एकापसमा आरोप प्रत्यारोपबाट सुरु भएका चुनावि सभाहरु पछिल्लो समयमा आश्वासन र योजना बाढ्न र निर्वाचित भएपछि आफूले गर्ने कामहरुको बारेमा जनतालाई जानकारी दिँदै भोट माग्नमा केन्द्रित भएका छन् । पार्टी परित्याग र नयाँ पार्टीमा प्रवेश गर्ने÷गराउने कार्यले पनि तीब्रता पाएको छ । केही गाउँपालिकाहरुमा ६ महिना अघि निर्वाचित भएका जनप्रतिनिधिहरु आफ्नो पुरानो पार्टी परित्याग गरी नयाँ पार्टीमा प्रवेश गरेका छन् । जसले गर्दा म्याग्दीको चुनावी प्रतिष्पर्धा रोचक र पेचिलो बन्दै गएको छ ।– धु्रबसागर शर्मा