आउँदो मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदाता शिक्षा सञ्चालन नहुँदा मतदाता अन्यौलमा परेका छन् । मतदानको दिन आउन दुई साता मात्रै बाँकी रहँदा पनि अझै मतदाता शिक्षा सञ्चालन हुन नसक्दा म्याग्दी जिल्लामा मतदाताहरुमा अन्यौलता छाएको छ ।

निर्वाचन आयोगबाट मतदाता शिक्षाका लागि आवश्यक सामाग्रीहरु जिल्लामा नआउँदा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न ढिलाई भएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमका लागि आवश्यक तयारी र सामाग्रीहरु समयमा उपलब्ध गराउन नसक्दा पहिलो चरणमा निर्वाचन हुने अधिकांश जिल्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको छैन ।

आयोगले समानुपातिकतर्फको मतपत्र छपाई सकेर प्रत्यक्षतर्फको पनि एउटै पानामा छाप्ने तयारी गरिरहेको अवस्थामा सर्वोच्च अदालतले छुट्टाछुट्टै मतपत्र छपाउनुपर्ने आदेश दिएपछि मतदाता शिक्षामा ढिलाई भएको हो । मतदाता शिक्षाका लागि आवश्यक पर्चा पम्पलेट, निर्देशिका, हाते पुस्तिका लगायतका विभिन्न सामाग्रीहरु तयार गरिसकेको अवस्थामा सर्वोच्चको आदेशले नयाँ सामाग्री पुनः तयार गर्नुपर्ने भएपछि मतदाता शिक्षा सञ्चालनमा ढिलाई भएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताए ।

उनका अनुसार जिल्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि आवश्यक सबै तयारी पुरा गरिएको थियो । तर, सर्वोच्च अदालतको आदेशले पुनः सबै तयारी र सामाग्री बनाउनुपर्ने भएपछि मतदाता शिक्षा सञ्चालनमा ढिलाई भएको छ । विगतमा चुनाव आउनुभन्दा एक महिना पहिलेदेखि गाउँगाउँमा पुगेर स्वयंसेवकहरुले मतदातालाई भोट हाल्ने तरिका सिकाए पनि अहिले छोटो अवधिका कारण बदर मत बढ्ने सम्भावना देखिएको छ । भोट हाल्ने तरिका सिकाउनका लागि अहिलेसम्म गाउँमा कोही पनि नआएको बेनपा–५ पुलाचौरका मतदाता मिनबहादुर खत्रीले बताए ।

संविधान जारी भएपछि पहिलो चरणमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ छुट्टाछुट्टै मतदान गर्नुपर्ने व्यवस्था रहेको छ । प्रतिनिधिसभा र प्रदेशसभातर्फ प्रत्यक्ष, समानुपातिकमा मत दिनुपर्ने भए पनि मतदाता शिक्षा ढिलाई हुँदा नागरिकहरुमा कसरी भोट हाल्ने भन्ने तरिकाका बारेमा अझै सिकाइएको छैन । नमुना मतपत्र समेत नहुँदा राजनीतिक दल र उम्मेदवारले पनि आफ्ना मतदाताहरुलाई भोट हाल्ने तरिकाका बारेमा सिकाउन सकेका छैनन् ।

यसपटकको निर्वाचनमा समानुपातिकतर्फ सेतो कागजमा हल्का रातो रङ र प्रतिनिधिसभाका लागि सेतो पृष्ठभूमीमा हल्का हरियो रङको मत्रपत्र हुने जिल्ला निर्वाचन अधिकारी पौडेलको भनाई छ । यसैगरी प्रदेशसभाको प्रत्यक्षतर्फ सेतो पृष्ठभूमीमा हल्का कालो रङ र समानुपातिकतर्फ एउटै पानामा माथिल्लोमा प्रतिनिधिसभा र तल्लोमा प्रदेशसभाको चिह्न हुने उहाँले बताउनुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म्याग्दीमा कुल ७२ मतदानस्थल र १०६ ओटा मतदान केन्द्र तोकिएको छ । यसैगरी मतदाता शिक्षा कार्यक्रमका लागि सामाजिक परिचालक, महिला स्वास्थ्य स्वयंसेविका र बाल शिक्षाका सहयोगी कार्यकर्तासहित १०६ जना स्वयंसेवकहरु परिचालन गरिने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बलबहादुर खत्रीले बताए । आउँदो शुक्रबार र शनिबार दुई दिनसम्म स्वयंसेवकलाई तालिम दिएर गाउँ पठाइने तयारीमा रहेको उनले जानकारी दिएका छन् । File photo