नेपाल मगर संघ बेनी सामुदायिक मावि इकाई कमिटीले शुक्रबार बेनी नगरपालिका–६ बगुवाखोलास्थित बालजागृति आधारभुत विद्यालयमा अध्ययरत विद्यार्थीलाई पोशाक र शैक्षिक साम्रागी वितरण गरेको छ ।धौलागिरि मगर संघका सचिव देबेन्द्र फगामीको प्रमुखआतिथ्यतामा विद्यालयमा अध्ययरत २२ जना बौद्धिक अपाङ्ता र ६३ जना अन्य कक्षाका विद्यार्थीलाई आवश्यक शैक्षिक पोशाक र स्टेशनरी सहयोग गरिएको इकाई सचिव लिला पुनले जानकारी दिईन् ।

मगर विद्यार्थीको हकहित तथा सामाजिक कार्यमा सक्रिय रहेको इकाईको सहयोगले विद्यालयका विद्यार्थीलाई राहत मिलेको विद्यालयका प्रअ भक्त बहादुर कार्कीले बताए ।‘सहयोगबाट विद्यार्थीलाई धेरै राहत मिलेको छ, बौद्धिक अपाङ्ता भएका विद्यार्थीलाई कुनैपनि अभाव हुन दिएका छैनौ’ प्रअ कार्कीले भने । उनले जिल्लाका विभिन्न गाउँका साथै छिमेकी जिल्लाबाट समेत अध्ययनका लागि आउने विद्यार्थीलाई ब्यक्तिगत तथा संस्थागत सहयोगले धेरै राहत मिलेको बताए ।

कार्यक्रममा बेनी सामुदायिक विद्यालयका प्रअ दिपक श्रेष्ठले विद्यार्थीले शैक्षिक संगै सामाजिक गतिवधिमा समेत देखाइरहेको सक्रियताबाट उत्साहित भएको बताए । उनले विद्यार्थीको समस्या विद्यार्थीले नजिकबाट बुझ्ने भएकाले पनि सहयोगले राहत मिलेको बताए । सोही अवसरमा विमल पुनले समेत मगर विद्यार्थीले म्याग्दीका विद्यालयमा गरिरहेको गतिविधिका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रमको अध्यक्षता इकाई सभापति सोनिया पुन, स्वागत गिता बुढा र सञ्चालन लिला पुनले गरेकी थिईन् । म्याग्दीमा मगर विद्यार्थी संघले विद्यालयस्तरमा समेत ईकाईको स्थापना गरी विभिन्न रचनात्मक कार्य गदैं आइरहेको छ । जिल्लामा धौलागिरि मावि सिंगामा बहिरा र रगुगंगा गाउँपालिकाको ज्ञानोदय माविमा दृष्टिविहिन विद्यार्थी अध्ययरत छन् । तीनवटै श्रोत विद्यालयमा आर्थिक संकटका कारण ब्यक्तिगत तथा संस्थागत सहयोग हुने गरेको छ ।