म्याग्दीमा आचारसंहिता पालना र सुरक्षाको अवस्थाका बारेमा छलफल (भिडियो)

म्याग्दीका राजनीतिक दलले आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा लागु भएको आचारसंहिता पालनामा प्रतिबद्ध रहेको बताएका छन् । चुनावको प्रचारप्रसारको क्रममा निर्वाचन आयोगले जारी गरेको आचारसंहितको पूर्णरुपमा पालना गरेको बताएका थिए ।

जिल्लामा निर्वाचनको आचारसंहितको पालना र सुरक्षाको अवस्थाको विषयमा आइतबार जिल्ला प्रशासन कार्यालयमा आयोजित राजनीतिक दल सहितका सरोकारवालाहरू बीचको छलफलमा निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न लोकतान्त्रिक र बामपन्थी गठबन्धन बिच आपसी सहकार्यबाटै अगाडी बढ्ने बताएका थिए ।

नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य माधवप्रसाद रेग्मी, नेकपा एमालेका सचिवालय सदस्य राजकुमार थापा, नेकपा माओवादी केन्द्रका चन्द्र बहादुर घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका पहल बहादुर खत्रीले घरदैलो,आमसभा लगाएतका निर्वाचन केन्द्रित अभियानमा आफ्नो तर्फबाट कुनैपनि उल्लंघन नभएको बताउँदै आगामी दिनमा पनि सहकार्य गरी अगाडी बढ्ने बताए ।

निर्वाचनको मुखमा विप्लव माओवादीका जिल्लास्तरका नेताहरू पक्राउ परेपछि देखिएको समस्यका बारेमा समेत छलफल भएको थियो । छलफलमा जिल्लाको निर्वाचनको तयारी, आचारसंहितको पालना लगाएतका विषयमा अवलोकनका लागि खटिएका स्थानीय तथा संघिय मन्त्रालयका सहसचिव डा.हरि पौडेलले राजनीतिक दलबीचको सहकार्य आवश्यकता रहेको बताएका थिए ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले विगतमा निर्वाचन पनि भयरहित वातावरणमा सम्पन्न भएको उदाहरण जिल्लाका राजनीतिक दलले प्रस्तुत गरेको बताउँदै यसपटकको निर्वाचनमा समेत सोही अपेक्षा गरेका बताए । निर्वाचन बहिस्कारको अभियान सञ्चालन गरिरहेको नेकपा माओवादीका जिल्लास्तरका नेताकार्यकर्ताको खोजीकार्य जारी रहेको बताउँदै पक्राउ परेका दुईजनाबाट समेत निर्वाचन विरोधी गतिविधिका बारेमा बुझ्ने प्रयास भइरहेको बताए ।

उनले प्रचारप्रसारका क्रममा एकले अर्कोलाई उत्तेजित बनाउने काम नगर्र्न दलहरुलाई आग्रह समेत गरे । छलफलमा मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृतद्धय राजु ढुंगाना, खेमराज पाठक,प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्का, श्रीबक्स गुल्मपति अनिल बुढाथोकी, चन्डिका गढको म्याग्दीस्थति अस्थायी क्याम्पका प्रहरी नायव उपरिक्षक शुशिल सुबेदी लगाएतको उपस्थिती रहेको थियो । निर्वाचनको आचारसंहिता पालना उल्लंघन गरेको आरोपमा दुईजना शिक्षकलाई समेत सचेत बनाइएको छ ।

 

 

Leave a Reply