नेकपा माओवादीका दुईजना नेता पक्राउ

आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको खारेजीको अभियानमा संलग्न रहेको आरोपमा नेकपा माओवादीका दुईजना जिल्लास्तरी नेतालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लामा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने बिशेष सुरक्षा योजना लागु भइसकेको अवस्थामा निर्वाचनलाई विथोल्न विभिन्न योजनामा संलग्न रहेको भन्दै प्रहरीले बेनी नगरपालिका–४ तातोपानीका प्रेम श्रीष र मालिका गाउँपालिका रुमका जगत पुनलाई रुमकै अधिभाराबाट नियन्त्रणमा लिइएको हो ।

विभिन्न जिल्लामा उम्मेदवारलाई लक्षित गरी आक्रमण र निर्वाचन सम्बन्धि विभिन्न गतिविधिहरुले मतदाता त्रसित भएको भन्दै पोखरामा सम्पन्न भएको निर्वाचन सुरक्षा सम्बन्धि कार्यक्रम लगत्तै जिल्लामा समेत विप्लवका नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

निर्वाचन खारेजीको अभियान अन्र्तरगत विप्लव माओवादीले पश्चिम म्याग्दीको दरवाङ र बेनी नगरपालिका–३ भकिम्लीको डोलेमा कार्यक्रमपछि थप योजनाहरु बनाएको जानकारी पाएपछि नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले बताईन् ।‘दरवाङको कार्यक्रममा हामीले कुनैपनि हस्तक्षेप गरेनौ, उहाँहरुलाई निर्वाचन विरोधी नगर्न पटकपटक सचेत समेत बनाएका थियौ’खड्काले बेनीअनलाइनलाई भनिन् ।निर्वाचन विरोधी गतिविधिलाई निस्तेज बनाउने योजना जिल्लामा लागु भएकाले विप्लव माओवादीका नेताकार्यकर्तालाई निगरानीमा राखिएको बताईन् ।

उनले नियन्त्रणमा रहेका नेताहरुबाट थप अनुसन्धान भइरहेको बताउँदै निर्वाचन विरोधी गतिविधि नगर्न अनुरोध समेत गरिन् । धौलागिरि अञ्चलका अन्य जिल्लाको तुलनामा म्याग्दीमा नेपाल कम्युनिष्ट पार्टी ‐विप्लव) को गतिविधि हुने जिल्लाको रुपमा चिनिन्छ । विप्लव माओवादीको धौलागिरि इन्र्चाज धुव्र घिमिरे समेत म्याग्दीकै हुन् ।

यता नेकपा माओवादीले शान्तिपूर्ण तरिकाले आयोजित कार्यक्रममा संलग्न नेताहरुलाई पक्राउ गरिएको विरोध जनाएको छ । निर्वाचनको शान्तिपूर्ण रुपमा विरोध जनाएको माओवादीले साामाजिक सञ्जालमा उल्लेख गरेको छ । यसैविच आइतबार जिल्लाका राजनीतिक दललाई समेत निर्वाचन सम्बन्धि सुरक्षा योजनाका बारेमा जानकारी गराइएको छ । जिल्लालाई जोड्ने सम्पूर्ण नाकामा निगरानीका साथै साधा पोशाकमा समेत प्रहरी परिचालन गरिएको छ ।

म्याग्दीका २२ मतदानस्थल अति संवेदनशिल रहेका छन् । विगतका दुई संविधान सभा र स्थानीय तहको निर्वाचनमा देखिएका सुरक्षा चुनौती, भौगोलिक बिकटता, यातायात, सञ्चार, मतपेटिका ढुवानी, मौसम परिवर्तन,राजनीतिक दल विचको झडप लगाएत विभिन्न आधारमा अति, संवेदनशिल र समान्य अवस्थाको मतदान केन्द्रको पहिचान गरिएको छ । अति संवेदनशिल बाहेक ३८ संवेदनशिल र १२ समान्य मतदानस्थल रहेको सुरक्षा समितिले जनाएको छ ।सदरमुकाम बेनीबजारमा रहेको मतदान केन्द्रलाई समान्यमा राखिएको छ भने नेपाल कम्युनिष्ट ‐विप्लव) पार्टीको प्रभावित क्षेत्रलाई सुरक्षा थ्रेटको रुपमा उल्लेख गरिएको छ ।

 

 

 

Leave a Reply