लोकतान्त्रिक गठबन्धनको चिमखोलामा आमसभा

काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले आइतबार रघुगंगा–७ चिमखोलामा आमसभा सम्पन्न गरेको छ । मंसिर १० मा हुने प्रतिनिधी तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोजित आमसभालाई सम्बोधन गर्दै प्रतिनिधीसभा सदस्य एवँ काँग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजाले समग्र जिल्लाको विकासका लागि आफ्नो विजय आवश्यक रहेको बताए ।

विगतमा कम्प्युनिष्ट पार्टीले विजय हासिल भएपनि जिल्लाको विकास हुन नसकेको भन्दै उनले शिक्षा, स्वास्थ्य र यातायातको क्षेत्रमा आमुल परिर्वतन आवश्यक रहेको जनाए । काँग्रेसले जनतासँग गरिएको बाचा सधै पूरा गर्दै आएको बताउँदै उम्मेदवार गर्बुजाले भने, ‘वाम गठबन्धनको नाममा लोकतन्त्र मास्ने खेल भइरहेको छ । प्रजातन्त्रको रक्षा र समृद्धिका लागि हाम्रो जित आवश्यक छ ।’

उनले जिल्लाको विकासमा रघुगंगा क्षेत्र पछाडी परेको बताउँदै प्राथमिकताका क्षेत्रहरु पहिचान गरिएको बताउँदै जनताले विकासको अनुभुती हुने गरी काम गर्ने बताए । नेपाली काँग्रेसका लक्ष्मण पुनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रदेश क का उम्मेदवार भीमप्रसाद गौचनले रघुगंगा क्षेत्रमा जलविद्युतसँगै पर्यटनको प्रचुर संभावना भएकाले त्यसको लागि विशेष योजना बनाएर अघि बढ्ने बताए । रघुगंगा क्षेत्रमा सडक सञ्जालको विस्तारका लागि आफुले पहल गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा रघुगंगा गाउँपालिका प्रमुख भबबहादुर भण्डारी, नेपाली काँग्रेसका युवा नेता एवँ जिल्ला सदस्य केवी भण्डारी, ओम छन्त्याल, राप्रपाका जिल्ला अध्यक्ष बीरबहादुर थापा, उपाध्यक्ष जगनारायण गौचन, अमर मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्र बुढा लगायतले मन्तव्य व्यक्त गरेका थिए । स्थानीय खुममायाँ पाइजाले स्वागत गरेको कार्यक्रमको सञ्चालन नेविसंघका आकाश खाती वि.कले गरेका थिए ।

 

Leave a Reply