लोकतान्त्रिक गठवन्धनको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार एवम् नेपाली कांग्रेस म्याग्दीका सभापति खमवीर गर्वुजाले आगामी मंसिर १० गते हुने प्रतिनिधि÷प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई मत दिई विजयी बनाउन आग्रह गर्दै पाँच वर्षमा म्याग्दीको कायापलट गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

लोकतान्त्रिक गठबन्धनले मंगला गाउँपालिकाको बाबियाचौरमा आयोजना गरेको चुनावि सभामा बोल्दै लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार गर्वुजाले कम्युनिष्टहरुले देशलाई उत्तरकोरिया बनाउन खोजेको आरोप लगाउँदै नेपाली कांग्रेसले बेलायत जस्तै समृद्ध र समुन्नत राष्ट्र बनाई पाँच वर्ष भित्रमा म्याग्दीलाई नेपालकै नमूना र सम्पन्न जिल्ला बनाउने उद्घोष गर्नुभयो ।

‘म बेलायत छोडेर आएको होइन,बेलायतबाट धेरै चिज लिएर आएको छु’ उम्मेदवार गर्वुजाले भन्नुभयो ‘विकास र समृद्धिका लागि चाहिने योजनाहरु लिएर आएको छु, ती योजनाहरु निर्वाचित भएर आफ्नो जिल्लाको विकास र समृद्धिमा लगाउन चाहन्छु ।’ सडक,शिक्षा,स्वास्थ्य जस्ता विकासका आधारभूत पूर्वाधारहरु विना रुमानी कल्पनाहरुले जिल्लाकोे विकास नहुने बताउँदै गर्वुजाले आँफू निर्वाचित भए जिल्लाको विकासका लागि यिनै पूर्वाधारहरुलाई प्राथमिकतामा राखेर काम गर्ने मतदाताहरुसंग प्रतिवद्धता जनाउनुभयो ।

जनताको जीवनस्तर उकास्नका लागि जलविद्युत,पर्यटन,उद्योग कलकारखाना,खानी उत्खनन् जस्ता दीर्घकालिन विकासका योजनाहरु संचालन गर्नुका साथै कृषि,पशुपालन,साना तथा कुटिर उद्योग संचालन,वनपैदावर जस्ता उत्पादनशील क्षेत्रमा काम गर्न प्रोत्साहित गर्ने र उनीहरुलाई आवश्यक लगानी र प्राविधिक ज्ञानका लागि विभिन्न किसिमका तालिमहरु संचालन गर्ने बताउनुभयो ।

सभामा प्रदेश सभा ‘ख’का उम्मेदवार अमलाल फगामीले जिल्लाको अति विकट गुर्जाका जनताको भावना र आवश्यकता बुझेर फर्किएको बताउनुभयो । ‘हाम्रो क्षेत्रमा राज्यको लगानी बाहेक पनि हामीले धेरै विकासका योजनाहरु ल्याउन सक्छौ, एकपटक काम गर्ने अवसर दिनुहोस्, सधै सम्झने बनाउने छु’ फगामीले भन्नुभयो ।

उहाँले विपक्षीले पैसामा जनताको मत विक्री भइरहेको भन्दै मतदाताको अपमान गरेको बताउँदै भोटका लागि विकासे योजना अवरुद्ध गर्ने धम्की समेत दिइएको बताउनुभयो । कार्यक्रममा निवर्तमान सांसद रेशमवहादुर बानियाँले केपी शर्मा ओली प्रधानमन्त्री हुदाँ म्याग्दीमा पाँचवटा स्थानीय तह तोकिएर हालको मंगला गाउँपालिकालाई लथालिङ बनाउने प्रयास भइरहेको अवस्थामा आफुँले जनताको माझै आएर सर्वसम्मतिले गाउँपालिका थप गरी केन्द्र बावियाचौर बनाउन प्रयास गरेको दावी गर्नुभयो ।

लोकतान्त्रिक गठवन्धनको तर्फबाट प्रदेश सभा ‘क’का उम्मेदवार भीमप्रसाद गौचन समानुपातिक तर्फका उम्मेदवार विमला गौचनले कम्युनिष्टहरुका आश्वासन र चिप्ला कुराहरुले विकास होइन अधिनायकवाद निम्तिनेहुँदा सजग रहदै लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गर्नुभयो ।कार्यक्रममा त्रिलोकचन्द्र विश्वास,मुकुन छन्त्याल,केवि भण्डारी,जितेन्द्र पुन लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम नेपाली कांग्रेस मंगला गाउँपालिकाका सभापति नरशिंहबहादुर खत्र्रीको अध्यक्षता,श्रीराम पौडेलको स्वागत र विक्रम बोगटीको संचालनमा सम्पन्न भएको थियो ।