‘छोराछोरीले त त्यागे, नेताबाट के आशा गर्ने ? (भिडियो)

0

पर्वत जिल्ला कटुवाचौपारीकी ओमकुमारी लामिछाने दुईबर्ष देखी बेनी नगरपालिका–९ गलेश्वरको बृद्धआश्रममा बस्छिन् ।बुढेसकालका सहरा छोराछोरीबाट त्यागिएकी लामिछानेले अपरिचित ब्यक्तिसंग आफ्नो परिवारको परिचयलाई लुकाउँछिन् ।छोरा,छोरी,नाती नातिनीलाई छोडेरआश्रममा आएकी लामिछानेले दोस्रो संविधानसभाको निर्वाचनसम्म आफ्नो मताअधिकार प्रयोग गरेकी थिईन् ।

घरदैलोमा मत माग्न आउने उम्मेदवारलाई गाउँका समस्याका बारेमा जानकारी गराउने गरेकी लामिछाने जन्मदिन छोरा र छोरीहरूबाटै एक्लिएर बृद्धआश्रममा पुगेपछि स्थानीय तह र आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नो मनपर्ने उम्मेदवारलाई मतदान गर्नबाट बन्चित भएकी छन् ।‘घरपरिवार हुदाँ पनि बृद्धआश्रमका बस्नुपरेको छ, छोराबुहारीबाट त सहयोग भएन्,नेताहरूबाट आश गर्नु बेकार छ’ उनले भनिन् ।सुविधासम्पन्न भवनको भुईतलामा बस्ने गरेकी लामिछानेले चुनावका बारेमा अहिले चासो नभएको बताईन् ।

लामिछाने जस्तै बृद्धआश्रममा रहेकी कैलाली जिल्लाकी कलावती शर्मालाई पनि चुनावको कुनै चासो छैन् ।छोराबुहारीले गलेश्वर र मुक्तिनाथ मन्दिरको दर्शनका लागि श्रीमानसंगै गलेश्वरमा छोडेर भागेपछि अलपत्र आश्रममा बस्दै आएकी शर्माले विगतमा निर्वाचनमा सहभागि भएको सम्झना रहेको बताउँछिन् ।‘जनतालाई सुविधा हुन्छ भनेर धेरै पटक भोट हालियो, जनताभन्दा नेताले धनसम्पत्ती जोड्नलाई हाम्रो मत प्रयोग भए’ शर्माले भनिन् ।उनले आश्रममै श्रीमानलाई गुमाएपछिको जीवन एक्लो भएकाले विगतका गतिविधिहरुलाई विर्सने प्रयास गरेको बताईन् । बृद्धआश्रममा ६५ जना बृद्धबृद्धामा ७ जना बृद्धाको छोराछोरी भएर पनि जन्मदिने आमालाई शाररीक तथा मानसिक यातना दिएपछि बुढेसकालको सहारा बृद्धआश्रम बन्न पुगेको छ।

‘हाम्रो लागि चुनाव कागलाई बेल पाकेजस्तै हो, नेताहरूको बुद्धि नै छैन्’ मंगला गाउँपालिका–२ हिदी स्थायी घर भएका बम बहादुर शेरपुञ्जाले भने ।उनले जेष्ठ नागरिकका समस्यालाई बेवास्ता गर्ने नेताहरुलाई भोट नहाल्ने बताए ।‘मैले राजनीति नजिकबाट चिनेको छु,हाम्रो देशका नेताहरू सत्तामा पुगेर मोजमस्ती गर्ने मात्रै छन्’उनले भने ।हिन्दुराज्यको पुर्नस्थापना, भ्रष्टचारको अन्त्य, बृद्धबृद्धालाई सुविधा, गाउँगाउँमा विकासको लिखित प्रतिबद्धता भए मतदानका लागि गाउँ जाने शेरपुञ्जाको भनाई छ ।

आश्रममा रहेका अधिकांसले नेताहरूले निर्वाचनमा विजय भएपछि धनसम्पत्ती जोड्ने गरेको आरोप समेत लगाएका छन् ।गलेश्वर शिवालय क्षेत्र विकास कोषको ब्यवस्थापनमा सञ्चालित बृद्धआश्रममा संस्थागत तथा ब्यक्तिगत रुपमा गरिने सहयोग,आश्रमभित्र निशुल्क भोजनबाटजीवन निर्वाह गरिरहेका बृद्धबृद्धाले त्यहाँ आयोजित कार्यक्रममा आफ्ना समस्या समाधानको माग गर्ने गरेका छन् ।दशैंतिहार, मातातीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिनमा समेत नसम्झने छोराछोरी जस्तै दलका नेताहरू भएको उनीहरूको आरोप छ ।‘छोराछोरीले हामीलाई बेवास्ता गरे, नेताहरूलाई देशको वास्ता छैन्’ याम बहादुर खड्काले भने । बृद्धआश्रममा रहेका बृद्धबृद्धामा बृद्धहरूले देशमा भइरहेको राजनीतिक परिवर्तन, दलको गतिविधि लगाएतका विषयमा नियमित समाचार सुन्ने, छलफल तथा बहस गर्ने गरेका छन् ।

निशुल्क स्वास्थ्य र यातायातको सुविधा माग
बृद्धआश्रममा रहेका बृद्धबद्धाले परिचयपत्रको ब्यवस्था, निशुल्क स्वास्थ्य र यातायातको सुविधाको मिलाउन माग गरेका छन् । राज्यले जेष्ठ नागरिकलाई दोस्रो दर्जाको नागरिकको रुपमा लिने गरेको बताउँदै पटकपटक माग गर्दा पनि सुनुवाई नभएको गुनासो गरे ।‘हामीलाई कुनैपनि सुविधा छैन, यातायातका निकै सकस हुन्छ’ रुपा गिरीले भनिन् ।

उनले जिल्लाभित्र र बाहिर सार्वजनिक बसमा यात्रा गर्दा जेष्ठ नागरिकलाई छुट्टै सिटको ब्यवस्था, यातायात शुल्क निशुल्क, नीजि अस्पतालमा उपचारमा समेत निशुल्क, खाना, बस्नका लागि समेत सहज ब्यवस्थापन हुनुपर्नेमा जोड दिईन् ।बृद्धआश्रममा रहेका बृद्धबृद्धाले परिचयपत्रको कार्यान्वयनमा समेत जोड दिएका छन् । देशभरका बृद्धआश्रममा परिवारबाट हेपिएका र परिवारविहिन बृद्धबृद्धालाई समान सेवासुविधाको समेत माग गरेका छन् ।

‘आश्रमभित्र कुनैपनि समस्या छैन, उहाँहरुलाई सबै सुविधा छ’ गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष एवम् पन्डित भिमनाथ पराजुलीले भने ।उनले जिल्लाबाहिर उपचारका लागि अस्पताल, यातायात, सरकारी सुविधासहितको परिचयपत्र लगाएतका अति आवश्यक सुविधाहरूको माग गरेको बताए ।

‘परिवार नभएकाको परिवार नै राज्य हो, उहाँहरूले सरकारी सुविधा सहजै पाउने अवस्था छैन’ उनले भने । हरेकबर्ष जेष्ठ नागरिक दिवसको अवसरमा समस्याका बारेमा जानकारी गराउने गरिएपनि दिवसकै रुपमा सिमित हुने गरेकाले पनि समस्या भएको बताए । केही बृद्धबृद्धालाई मन्त्रालयबाट दिइएको परिचयपत्रलाई यातायात ब्यवसायीले फालिदिएको समेत बताएका छन् । जेष्ठ नागरिक संग आवद्ध संघसंस्थाले समेत प्रमुख जिल्ला अधिकारी लगाएत सरोकारवाला निकायलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।