मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको घयासीखर्कमा मंगलबार चुनाबी आमसभा सम्पन्न गरेका छन् । आमसभालाई सम्बोधन गर्दै गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका उमेद्वार एमालेका भुपेन्द्रबहादुर थापाले दुर्गम क्षेत्रको विकासका लागि आफ्नो प्राथमिकता रहेको बताए ।

उनले नेपाली जनताको भावना र आवश्यकता अनुसार एमाले माओवादीबीच चुनावी तालमेल र लगत्तै पार्टी एकिकरण गर्ने सहमती भएको बताउँदै जिल्लासंगै मुलुकको विकासलाई सहि मार्गमा डोहो¥याउनका बाम गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरे ।म्याग्दीलाई ५ बर्षमा विकास मार्फत कस्तो बनाउने भन्ने योजना बाम गठबन्धनका उम्मेद्वारहरुले तयार गरिसकेको उल्लेख गर्दै कम्युनिष्टहरुको नेतृत्वविना मुलुकमा भष्ट्राचार नियन्त्रण र समृद्धि सम्भव नहुने बताए ।

कार्यक्रममा गठबन्धनबाट प्रदेशसभा क्षेत्र (क)का उमेद्वार माओवादी केन्द्रका बिनोद केसीले नेकपा म्याग्दीका बासिन्दाको राज्यले प्रदान गर्ने सेवा सुबिधामा पहुँच बढाउने, निती निर्माण तहमा युवाको प्रतिनिधत्वका साथै म्याग्दीमा रहेका प्राकृतिक स्रोत साधनलाई परिचालन गरि रोजगारी सिर्जना गर्न बाम गठबन्धनलाई जिताउनुपर्ने बताए ।

उनले रघुगंगा गाउँपालिकाको प्राथमिकताको आधारमा बजेट विनियोजन गरिने बताए । चन्द्रमान छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । यसैविच मंगलबार साँझ चिमखोलामा आमसभाको आयोजना गरिएको छ ।

कार्यक्रममा नेकपा एमालेका पोलीट ब्युरो सदस्य तथा समानुपातीक उमेद्वार थममाया थापा, राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठ, नेकपा एमालेका यूवा नेता सन्तोष रावल लगाएतको उपस्थिती रहेको नेकपा एमाले म्याग्दीका सचिव बालकृष्ण सुबेदीले जानकारी दिए । यसैविच नेकपा एमाले प्रदेश नम्बर २ ले समेत घरदैलो अभियानलाई तिब्रता दिएको छ ।