म्याग्दीको बेनी नगरपालिका–१ अर्जममा मंगलबार लोकतान्त्रिक गठबन्धन विरुद्ध लक्षित गरी जमिनमुनीको बम विष्फोटन सुनियोजित भएको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ। अज्ञात समुहले गरेको घटनाले लोकतन्त्रको रक्षा र संविधान कार्यान्वयनका लागि हुन लागेको शान्तिपूर्ण निर्वाचन विथोल्न गरिएको असफल प्रयासको संज्ञा दिएको छ ।

नेपाली कांग्रेस म्याग्दीका सभापति एवम् प्रतिनिधिसभा सदस्यका उम्मेदवार खम बहादुर गर्बुजा ‘खम्वीर’ले जारी गरेको विज्ञप्तीमा लोकतान्त्रिक गठबन्धनको मनोबल गिराउन गरिएको प्रयास भएको बताएका छन् । ‘जनताको उर्लदो साथ र समर्थनबाट आत्तिएकाहरुको सुनियोजित घटना हो, घटनामा संलग्न भएकाको खोजीमा जोड दिइयोस्’ विज्ञप्तीमा भनिएको छ ।

रत्नेचौरमा चुनावी आमसभा सम्पन्न गरी अर्जममा घरदैलो र ज्यामरुककोटमा चुनावी आमसभाका लागि जाँदै गरेको अवस्थामा नेपाली कांग्रेसका निर्वतमान सांसद रेशम बहादुर बानियाँ, लोकतान्त्रिक मोर्चाबाट प्रदेश ‘क’ का उम्मेदवार भीमप्रसाद गौचन, बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ र उपमेयर सञ्जु बरुवाल लगाएत सवार सवारीसाधनलाई लक्षित गरिएको नेपाली कांग्रेसले जनाएको छ । लोकतान्त्रिक गठबन्धनलाई जिल्लाका अन्य क्षेत्रमा समेत विभिन्न अवरोध, धम्कीपूर्ण पत्र पठाइएको प्रति समेत कांग्रेसले सुरक्षा निकायको ध्यानर्कषण गराएको छ । पश्चिम म्याग्दीमा पार्टीका सक्रिय कार्यकर्ताहरुलाई लक्षित गरी विप्लव माओवादीको नाममा निस्कृय बस्न अनुरोध सहित चेतावनीपूर्वक पत्र पठाइएको छ।