म्याग्दीका सरोकारवाला निकायले भने,‘चुनावी गतिविधिमा बालबालिका प्रयोग नगर्नु’ (भिडियो)

0
228

आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बालबालिकाको प्रयोग पूर्णरुपमा निषेध गरिनुपर्ने माग गरिएको छ ।बुधबार जिल्ला प्रशासन कार्यालयमा आयोजित सरोकारावाला निकायको छलफलमा बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्था, जिल्ला बाल सञ्जालको संयुक्त छलफलमा बालबालिकाको प्रयोगले नकारात्मक असर गरेको बताउँदै निर्वाचन सम्बन्धि कुनैपनि गतिविधिमा बालबालिकाको प्रयोग नगर्न जिल्लाका सबै राजनीतिक दललाई सचेत बनाउने निर्णय गरिएको हो।

छलफलमा शान्ति क्षेत्रको रुपमा घोषणा गरिएको विद्यालयमा समेत निर्वाचन सम्बन्धि गतिविधि भइरहेको बताउँदै यस्ता कार्यलाई समेत रोक्न अनुरोध गरिएको थियो । निर्वाचन पूर्व, निर्वाचन अवधिभर र निर्वाचन पश्चात निर्वाचनको गतिविधिमा बालबालिका प्रयोग नगर्ने सम्बन्धित निकायालाई ध्यानर्कषण गराउने अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताउनुभयो ।

जिल्लामा निर्वाचन सम्बन्धि विभिन्न कार्यक्रमहरु, दलिय छलफल, बैठक लगाएतका कार्यक्रमहरूमा समेतआचारसंहितको पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता आएकाले पनि जिल्लामा क्रियाशिल राजनीतिक दलबाट बालबालिकाको प्रयोग नहुने विश्वास ब्यक्त गर्नुभयो । छलफलमा स्थानीय तहको निर्वाचनमा बालबालिकालाई आफ्ना पार्टीको पोष्टर टाँस्न लगाउने, झन्डा समाएर अभियानमा सहभागि गराउने, सवारीसाधनमा समेत प्रयोग गर्ने गरिएको भन्दै यसपटक सदरमुकाम बेनी देखी ग्रामिण क्षेत्रसम्म नियमित निगरानी राख्नुपर्नेमा जोड दिएका थिए ।

निर्वाचनको मिति नजिकदै गइरहेको अवस्थामा निर्वाचन आयोगले जारी गरेको आचारसंहितमा समेत बालबालिकाको प्रयोगका बारेमा उल्लेख रहेको बताउँदै प्रयोग भएमा प्रमाणसहित उजुरी दिने समेत जिल्ला बाल सञ्जाल म्याग्दीले चेतावनी दिएको छ । गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेल र पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्माले बालबालिकाको प्रयोगका बारेमा ग्रामिण क्षेत्रमा समेत संयन्त्र बनाउनुपर्नेमा बताउनुभयो ।

छलफलमा विद्यालय परिसरभित्र कुनै पनि राजनीतिक सभा, सम्मेलन, बैठक, माईकिङ, जुलुस, नगर्न, बालबालिकालाई निर्वाचनका प्रचारप्रसारमा प्रयोग नगर्न, विद्यालय र शैक्षिक संस्था बन्द नगर्न लगाएतका बारे लिखित प्रतिबद्धता गराउनुपने बताइएको थियो । छलफलमा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक विश्वप्रकाश रेग्मी, महिला तथा बालबालिका कार्यालयकी लक्ष्मी केसी, जिल्ला बालकल्याण समितिकी दमसरा पुन, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्मचार्य, अपाङ संघ म्याग्दीका अध्यक्ष गोपाल केसी लगाएतको उपस्थिती रहेको थियो ।