आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन मिति नजिकिँदै जाँदा उम्मेदवारले आचारसंहिता विपरीत विभिन्न योजना तथा रकमसमेत बाँड्न खोजेका छन् ।
संगठित समूहका मतदाताहरूले पनि उनीहरूसँग माग्ने गरेका छन् । सडक, खानेपानी, विद्यालयका समिति, आमा समूह, युवा क्लबको नाममा संगठित मतदाताहरू योजनामा पैसा हाल्न सक्ने उम्मेदवार खोज्न थालेका हुन् । उनीहरूले चुनावी प्रचारमा हिँडेका उम्मेदवार तथा दलका नेतालाई टोलैपिच्छे विभिन्न योजनाको फेहरिस्त पेस गर्दै मत बार्गेनिङ गर्छन् ।
मतदाताहरूले नै प्रदेश तथा संघीय कानुनबाट मुलुकको विकास गर्न सक्ने दूरदृष्टि र योजना भएको नेतालाई भन्दा बढी आर्थिक लोभमा फँस्ने गरेका छन् । कार्यकर्ता पनि मोटरसाइकल, गाडीमा तेल र बेलुका–बिहान खानानास्ता नदिने दल तथा उम्मेदवारलाई नपत्याउने अवस्था आउन थालेको छ । युवा क्लब, आमा समूहका हिसाबकिताब पारदर्शी बन्न र नियमनको दायरामा आउन नसक्दा नियोजित रूपमा दललाई बार्गेनिङ गर्न थालेका हुन् ।