धौलागिरि गाउँपालिका–४ मुदीको विकटबस्ती चेचुङका नरबहादु घर्तीले उम्मेदवारको मुख देखेका छैनन् ।जिल्लाको अति विकटबस्ती भित्र पर्ने गाउँमा पञ्चायतकाल देखी अहिलेसम्म कुनैपनि उम्मेदवारले पाइला टेकेका छैनन् ।

छिमेकी खिवाङ गाउँबाट करिव डेढघण्टामा पुगिने गाउँका बृद्धबृद्धाले समेत अहिलेसम्म निर्वाचनमा भोट हालेपनि उम्मेदवार कस्ता हुन्छन् भन्ने देखेका छैनन् ।‘एउटा उम्मेदवार पनि आएका छैनन्,यूवाहरूले उम्मेदवारको अनुहार देखिने पोष्टर ल्याएर आउँछन’घर्तीले भने । बहुदल आएपछिका निर्वाचनमा विभिन्न माध्यमबाट भोट माग्न आश्वासन दिएपछि गाउँसम्म आउने गोरेटो बाटो समेत छैन् ।

‘खच्चड समेत हिड्न नमिल्ने बाटो भएकाले पनि उम्मेदवारहरूलाई समस्या भएको हुनसक्छ’उनले भने ।गोरेटोबाटो, शिक्षा, स्वास्थ्य, खानेपानी लगाएतका समस्या झेल्दै आएका चेतुङका जनताले उम्मेदवारलाई घरआगनमै आफ्नो समस्या राख्ने चारदशक यता गरेका प्रयास सफल हुन सकेको छैन् ।मुदीकै नेरवाङका मतदाताले समेत अहिलेसम्म उम्मेदवारलाई गाउँमा देखेका छैनन् ।

विभिन्न पार्टीको नाममा भोट माग्दै आउनेहरूलाई उम्मेदवारका बारेमा जिज्ञासा राख्दा समय अभाव लगाएतका कारण देखाउने गरेको स्थानीयको भनाई छ ।‘गाउँको समस्या समाधान भएका छैनन्, उम्मेदवार पनि देख्न पाएको छैन’ दले जुग्जालीले भने ।

गाउँलेको सल्लाह अनुसार मतदान गर्ने गरेका स्थानीयबासीले चुनावको मुखमा दलका सर्मथकहरूले विभिन्न प्रलोभन देखाउने गरेपनि अर्को चुनावमा गाउँमा टेक्ने गरेको गुनासो गरे । मुदीकै अर्चे,बगरा,सिमकोश लगाएतका बस्तीमा उम्मेदवारका प्रतिनिधिहरु समेत भेट्न मुस्किल हुन्छ । गाउँमा आवश्यक पर्ने झेलुङे पुलको अभावमा स्थानीयले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको गाउँलेको गुनासो छ ।धौलागिरि गाउँपालिकाको मुदी जस्तै मल्कवाङको भेडीखाल्टा, मलम्पार,मराङ, लुलाङका विभिन्न बस्तीमा समेत उम्मेदवार पुगेका छैनन् ।

‘पञ्चायतको अन्त्यपछिका सबै चुनावमा मतदान गरेको छु ।हाम्रो गाउँमा उम्मेदवार आएर मत मागेको देखेको छैन’मल्कवाङ भेडिखाल्टाकी पार्वती पुर्जाले बताईन् ।स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित पुर्जाले मतदाताले उम्मेदवारलाई भेटेर आफ्नो भनाई राख्न खोजेको बताउँछिन्।‘चुनावमा हामीले भन्दा पनि उम्मेदवारको मुखबाट उहाँहरूको प्रतिबद्धता सुन्न चाहनुहुन्छ’ उनले भनिन् । धेरैपटक एउटै गाउँमा जाने उम्मेदवार आएमा जनताले विकासका योजनाहरु आएको महसुस हुने स्थानीयको भनाई छ ।

शिक्षा, स्वास्थ्य, विद्युत, मोटरबाटो, खानेपानी लगाएतमा अति आवश्यकता समेत पुरा नभएका बस्तीहरू उम्मेदवारको प्राथमिकतामा नपरेको भन्दै मतदाताले आक्रोश समेत पोख्ने गरेका छन् ।‘उम्मेदवारलाई भोट हाल्न पनि हामीले जोखिमपूर्ण यात्रा गर्नुपर्छ, उनीहरूले जित्छन्, हाम्रो समस्या जस्ताको त्यस्तै छ’ एक मतदाताले भने । पश्चिम म्याग्दीमा पर्ने मालिका, मंगला गाउँपालिकाका दुर्गमबस्तीमा उम्मेदवारहरू पुगेका छैनन् ।

उत्तरी क्षेत्रमा अवस्थित रघुगंगा गाउँपालिकाको कुईनेमंगलेस्थित मंगलेखानी, चौरखानी, दुधेखर्क लगाएतका बस्तीमा उम्मेदवार पुग्दैनन्। त्यस्तै अन्नपूर्ण गाउँपालिकाको दोवाको सुनारी, नारच्याङ, दानाको विकट बस्तीमा कार्यकर्ताको प्रचारप्रसारको भरमा मतदान गर्ने गरिएको छ ।यता निर्वाचनको प्रचारप्रसारमा सक्रिय रहेका उम्मेदवारले समय अभावका दुर्गमबस्तीमा पुग्न नसकेको बताएका छन् ।

चुनावी अभियानमा गाउँमा पुग्न नसकेपनि समस्याका बारेमा जानकारी भएको बताउँदै विजय भए समस्या समाधानका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए । सडक सञ्जालले छोएका बस्तीमा ३–४ पटक पुग्ने उम्मेदवारहरूको प्राथमिकतामा दुर्गम क्षेत्र नपरेपछि मतदाताले पार्टीका स्थानीय नेता मार्फत समस्या पोख्ने गरेका छन् ।

उम्मेदवार पुगेर प्रतिबद्धता जनाएका क्षेत्रमा बिकासे गतिविधिहरूले प्राथमिकता पाएपनि नपुगेका गाउँहरूमा राज्यले उपलब्ध गराएका न्यूनतम पूर्वाधारहरू समेत पुगेका छैनन् । जिल्लामा कुल ७५ हजार ५ सय ३८ जना मतदाताहरु रहेका छन् । कुल मतदातामध्ये ३९ हजार ४ सय ३५ महिला, ३६ हजार १ सय २ जना पुरुष र एकजना तेस्रोलिङ्गी छन् ।
मुदीको चेचुङबस्तीका स्थानीय ।